मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

भालुवाङमा राजधानी सार्दैमा वुटवललाई के असर पर्ला ?

  • भगवती चौधरी

संघियता कार्यान्वयनको तीन वर्ष लाग्दै गर्दा प्रदेश ५ ले स्थायी राजधानी र स्थायी नाम पायो । गएको साता प्रदेश सरकारको संसदको दुई तिहाई मतले दाङको भालुवाङ राप्ती उपत्यकालाई प्रदेशको राजधानी बनाउने निर्णय गर्यो । भने, प्रदेशको नाम लुम्विनी कायम भयो ।

प्रदेशका १२ वटै जिल्लालाई पायक पर्ने गरी विचमा प्रदेशको राजधानी राख्ने निर्णय गर्ने संसद र सत्तारुढ नेकपाको समुचित निर्णय भएपनि वुटवलबाट राजधानी सार्ने विषयले प्रदेशको संसददेखि केन्द्र सरकार र स्वयं वुटवलमा देखिएका दृश्यले भने सान्दर्भिक देखिएन ।

भौगोलिक अवस्थामा लुम्विनी प्रदेशका १२ वटै जिल्लाका जनताका लागि सुगम हुने तवरले राजधानी राखिनुपर्छ । वुटवल सबै क्षेत्रका जनताका लागि सहजता थिएन । प्रदेश ५ मा १२ जिल्ला छन् । ती जिल्लाहरुमा नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, प्युठान, रोल्पा, रुकुम (पूर्व) बाँके र बर्दिया पर्छन् ।

रुपन्देही र नवलपरासीलाई मात्र केन्द्रमा राखेर राजधानी कायम गर्दा बाँकी क्षेत्रका जनतालाई प्रादेशिक सेवा सुविधाहरु लिन अनुकल हुने थिएन । भौगोलिक वनावट अनुसार वुटवल कुनैपनि दृष्टिकोणले समग्र जिल्लाका लागि सुगम थिएन । तर, आर्थिक र विकासको दृष्टिकोणले मात्रै प्रदेशको राजधानी वुटवल हुनुपर्छ भन्ने मानसिकताबाट माथि उठ्न नसक्नेहरुले नवलपरासी, रुपन्देही वाहेक बाँके, बर्दिया, रुकुम, रोल्पा जस्ता वुटवलबाट टाढा रहेका भौगोलिक विकटता भएका जिल्लाका जनताले पनि राज्यानुभूती गर्न पाउनु पर्छ भन्ने सोच्न सकेनन् । वुटवल नै प्रदेशको राजधानी हुनुपर्छ भनेर संसददेखि सडकसम्म वितण्डा मच्चाए ।

वुटवलबाट राजधानी दाङ सार्ने वित्तिकै वुटवललाई संकट आइलागेको, वुटवलको नामोनिसान हराएको जस्तो कोकोहोलो गर्नु भनेको संघियता र स्थानीयता विरुद्धको अभ्यास हो । सबैकुरा आफ्नै घर आँगनमै हुनुपर्छ भन्ने मानसिकताले पनि संघियता कमजोर भइरहेको छ ।

दाङमा राजधानी हुँदा वुटवललाई के वेफाइदा ?

लुम्विनी प्रदेशको मुकाम दाङको भालुवाङ राख्दा वुटवललाई के वेफाइदा भो ? यसबारेमा चर्चा गर्न जरुरी छ । प्रदेशकै सुगम र विकसित शहर हो वुटवल । शिक्षा, स्वास्थ्य, सञ्चार यातायात, विद्युत, खानेपानी लगायत सबै विकासका पूर्वाधार युक्त शहर हो । आर्थिक, राजनीतिक रुपमा अन्य क्षेत्रको तुलनामा बलियो छ वुटवल । वुटवलबाट केन्द्रमा राजनीति गर्ने शक्तिशाली नेताहरु पनि धेरै छन् । नेपालको पूर्वपञ्चिम राजमार्ग हुँदै सिद्धार्थ राजमार्गको संगम स्थल वुटवललाई आर्थिक नगरी पनि भन्ने गरिन्छ । वुटवल पश्चिम नेपालको व्यापारिक नाका समेत भएकोले यहाँ विकासको क्रम सक्रिय छ ।

जब वुटवललाई तत्कालिन काम चलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले अस्थायी राजधानी बनाउने निर्णय गर्यो त्यत्तिबेला बढि खुसीयाली त्यहाँका विचौलिया अर्थात जग्गा दलालहरु भए । पछिल्लो समय वुटवलमा जनघनत्व बढ्दो थियो, शिक्षा स्वास्थ्य, सञ्चारका सबै पूर्वाधार भएकाले प्रदेशभरीकै मानिसहरुलाई एकत्रित गर्ने सामथ्र्य प्रदेशको राजधानीले गर्छ भन्ने सोच उनीहरुमा थियो र त्यसकै फाइदा उठाउँदै राजधानी हुने वित्तिकै सर्वसम्पन्न होइन्छ, आर्थिक, सामाजिक, प्रशासनिक तथा राजनीतिक रुपमा बलियो होइन्छ भन्ने भ्रम सृजना गरियो । र, त्यसकै आधारमा दिन दुगुना रात चौगुना कामभन्दा गफ बढि गर्नेहरुले राजधानीको विषयलाई अतिरञ्जित गर्ने काम गरे ।

वास्तवमा वुटवलबाट प्रदेशको राजधानी दाङ सर्दा वुटवललाई कुनै असर गर्दैन, कुनै वेफाइदा छैन । वुटवल प्रदेशको अस्थायी राजधानी हुनु अगाडी नै विकासको पथमा लम्किइसकेको थियो । विकासका सबै पूर्वाधारयुक्त भइसकेको थियो । अस्थायी राजधानी कायम भएपछि दुई चार जनाको आर्थिक गतिविधिको ग्राफ उकालो लाग्यो होला तर, समग्र वुटवलको विकासको ग्राफमा भिन्नता देखिएको छैन ।

वुटवलबाट राजधानी दाङ सार्ने वित्तिकै वुटवललाई संकट आइलागेको, वुटवलको नामोनिसान हराएको जस्तो कोकोहोलो गर्नु भनेको संघियता र स्थानीयता विरुद्धको अभ्यास हो । सबैकुरा आफ्नै घर आँगनमै हुनुपर्छ भन्ने मानसिकताले पनि संघियता कमजोर भइरहेको छ । देशको समग्र विकास हुन सकिरहेको छैन । हिजो सिंहदरबारमा केन्द्रीत अधिकारले व्यक्ति विशेषको आधारमा राज्यको विकास भयो, जसले दुरदराजमा रहेका जनताको जीवनस्तर उकास्न केही गर्न सकेन । सबै वर्ग, क्षेत्र, समुदाय र भुगोलको समान विकास गर्नकै लागि संघियता अपनाइएको हो भने, वुटवलबाट दाङ राजधानी सार्दैमा वुटवलवासीले राँको बाल्नु आवश्यक छैन ।

भालुवाङलाई के फाइदा होला ?

दाङ प्रदेश ५ को ऐतिहासिक क्षेत्र हो । त्यसमाथि दाङको भालुवाङ, राप्ती उपत्यका भौगोतिक धरातलले विकास गर्न सकिने क्षेत्र हो । चार दशकदेखि बसोबास हुँदै आएको यो उपत्यका विकासका दृष्टिकोणले पछि परेको क्षेत्र हो ।

भालुवाङ अझैपनि ऐलानी जग्गामा छ । प्रदेशकै मध्यभागमा अवस्थित यो क्षेत्रलाई ‘भर्जिन ल्याण्ड’ भन्ने गरिन्छ ।

चुरे पहाडको फेद र राप्ती नदी किनारमा पर्ने भालुवाङ अर्घाखाँची र प्यूठानसँग जोडिएको क्षेत्र हो । पूर्व–पश्चिम राजमार्गमा पर्ने भालुवाङ पूर्वी दाङको अहिलेको मुख्य बजार हो । प्यूठान हुँदै रोल्पा जाने राजमार्ग यहीँबाट छुट्टिन्छ । प्यूठान र रोल्पा जाने नाकासमेत हो भालुवाङ । यस हिसावले हेर्दा भालुवाङले प्रदेशका १२ वटै जिल्लालाई एकापसमा कनेक्ट गर्छ ।

भालुवाङमा प्रदेशको राजधानी बनाउन आर्थिक चूनौति आफ्नो ठाउँमा होला तर, समग्र प्रदेशको विकास गर्न, विकासका दृष्टिकोणले राज्यका नजरमा नपरेका क्षेत्रहरुको बृहत्तर विकास गर्नका लागि यो अनिवार्य छ ।

बाँकी रह्यो, पूर्वाधार निर्माणको कुरा । पक्कैपनि ‘भर्जिन ल्याण्ड’मा प्रदेशको राजधानी बनाउनु चूनौतिपूर्ण कार्य हो । भालुवाङमा प्रदेशका पूर्वाधार (मन्त्रालयहरु) तयार गर्न ठूलै धनराशी लाग्छ । तर, त्यसो भन्दैमा प्रदेशकै दुई तिहाई जनतालाई पायक नपर्ने वुटवलमै राजधानी हुनुपर्छ भन्ने सोच सहि हैन । संघियता कार्यान्वयनको सिलसिलामा विकासका दृष्टिले पछि परेका क्षेत्रको विकास गर्नु अपरिहार्य छ ।

सरकारले राजधानी घोषित गर्ने वित्तिकै आजको आजै भालुवाङ सर्ने पनि हैन । भालुवाङमा प्रदेश सरकारका संरचनाहरु तयार नभइन्जेल वुटवलबाटै सबै कामहरु हुनेछन् । कम्तिमा पनि भालुवाङमा प्रादेशिक संरचना बनाउन तीनदेखि पाँच वर्ष लाग्छ । यो अवधिसम्म वुटवललाई आर्थिक क्षेत्रका रुपमा विकास गर्ने भनेर मुख्यमन्त्रीले घोषणा गरेका छन् ।

अब रह्यो, भालुवाङलाई के फाइदा ? प्रादेशिक राजधानी तयार हुँदा त्यहाँ विकासका आधारभूत तत्वहरु तयार हुन्छन् । शिक्षा स्वास्थ्य, सञ्चार, खानेपानी, यातायात जस्ता अनिवार्य आवश्यक्ताका पूर्वाधार बनेपछि त्यहाँका स्थानीय जनताको आर्थिक, सामाजिक, राजनीतिक विकासमा सहयोग पुग्छ ।

भालुवाङको समग्र विकासका लागि यिनै तत्वहरुको आवश्यक छ । अहिलेसम्म वनको ऐलानी क्षेत्रमा बसेको भालुवाङ बजारलाई व्यवस्थित गर्नका लागि पनि प्रादेशिक राजधानी आवश्यक छ । तसर्थ भालुवाङमा प्रदेशको राजधानी बनाउन आर्थिक चूनौति आफ्नो ठाउँमा होला तर, समग्र प्रदेशको विकास गर्न, विकासका दृष्टिकोणले राज्यका नजरमा नपरेका क्षेत्रहरुको बृहत्तर विकास गर्नका लागि यो अनिवार्य छ ।

भालुवाङ राजधानी हुँदा त्यसले समग्र प्रदेशका १२ जिल्लाको प्रतिनिधित्व गर्न सक्छ कि सक्दैन ? रुकुमपूर्ब, बर्दियादेखि नवलपरासी, पाल्पाका जनतालाई पायक पर्छकि पर्दैन भन्ने आधार हेर्न जरुरी छ । प्रदेश ५ को भौगोलिक बनावट हेर्दा १२ वटै जिल्लालाई एउटै क्षेत्रमा सजिलो तवरले कनेक्ट गराउन सक्ने क्षेत्र भनेको भालुवाङ नै हो । तसर्थ, भालुवाङलाई अब हामीले राष्ट्रिय रुपमा परिचित गराउन, समग्र प्रदेशको विकास गराउन सहर्ष स्विकार्नु पर्छ ।

‘ढिलाे हाेस् तर छोरो’ भने जस्तो ढिलै भएपनि प्रदेश ५ (लुम्विनी प्रदेश) ले स्थायी राजधानीका रुपमा ‘भर्जिन ल्याण्ड’ पाएको छ । अब भालुवाङलाई एउटा संमृद्ध राजधानीका रुपमा विकास गर्नुपर्छ यसका लागि समग्र प्रदेशका १२ जिल्लाले नै अपनत्व ग्रहण गरौं । लुम्विनी प्रदेशका जनता र सरकारलाई हार्दिक बधाई तथा शुभकामना ।

चाैधरी नेकपाकी केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री हुन् ।

प्रतिकृयाहरु
Loading...