मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

५० वर्षदेखि पान खुवाउने शेखरको कथा : जो ७० वर्षमा दैनिक १८ घण्टा खट्छन्

भरतराज शर्मा (गोपाल)
धरान । धरान छाता चोकमा पान पसल गर्ने ७० बर्षिय बृद्धको कथा हो यो । ५० बर्षअघि भारतको दरभंगाबाट धरान आएका हुन् शेखरसिंह राजपुत । पुरानो बजारमा एक साहुकोमा १० रुपैयाँमा पान बेच्ने काम पाए ५० वर्षअघि । उनी अहिले साहुकोमा त छैनन् तर, काम भने पान बेच्ने नै गरीरहेका छन् ।

शुरुवाती संघर्षमा उनको रोचक कथा रहेछ, उनले छाताचौकमा एउटा ब्रिफकेस भरी सुनचाँदी र पैसा भेटेछन्, तर त्यसले उनलाई कुनै आकर्षण गरेन रे । ‘सुनचाँदी सहित एक बक्सा पैसा भेटेको थिँए तर, मनले लिन मानेन । त्यत्तिकै छोडिदिँए ।’ हसन पनि ५० वर्षअघि धरानमा इमान्दारिता भन्ने यतिधेरै थियो कि, कसैको बाटोमा जती सुकै सुनचाँदी हिरामोती हराएको भएपनि लिने आँट गर्दनथे । ‘अहिले कहाँ ५० वर्ष अघिको जस्तो दिन रह्यो र, दिउँसै चोर्न आउँछन् ।’ शेखर सिंह भन्छन् ।

उनी धरान कत्ति वर्ष हुँदा आएका थिए उनलाई भेउ त छैन तर, सानैबाट धरान आएको बताउँछन् । ‘म सानैदेखी यहाँ पानको ब्यापार गर्दैछु म आउँदा चतरालाईनमा जंगल थियो ।’ उनी विगतको इतिहास सम्झन्छन् ।

उमेरले पाका देखिएपनि राजपुतको काम गर्ने जोस र जाँगर भने उस्तै छ । उनी छाताचौक चतरालाईनको कर्नरमा रहेको पान पसलमा बिहानै ५ बजे देखी राती १० बजेसम्म खटिन्छन् ।

उनी बिहानै घरबाट खाना समेत लिएर पान पसल खोल्छन् । उनको पान पसलमा पान, सुपारी, मधु गुटका, चुरोट, चकलेट, बिस्कुट लगायत छन् । उनी निरन्तर ५० वर्षदेखि पान बेचेर गुजारा गर्दैछन् । पान पसलको मासिक भाडा १७ हजार बुझाउँछन् । पसल उपलब्ध गराउने रुद्र झाले पनि अतिरिक्त ५ हजार पसल भाडा बापत लिन्छन् ।

‘सबै रकम जोड्ने होभने मासिक २२ हजार जति साहुलाई तिर्नुपर्छ बिहान ५ बजेदेखि राती १० बजेसम्म नखटिए गाह्रो छ ।’ उनी भन्छन् । उनी दैनिक ३ हजार सम्मको पान बेच्ने गरेको बताउँछन् । साधारणतया दैनिक ५ सय बढी पान बिक्री गर्छन् । धरानमा मीठा र बंगला पान बढि मात्रामा बिक्री हुने गर्दछ ।

उनका सात जना छोराछोरी छन् । कोही पढ्दैछन् । कसैको बिहे भएर नातिनातिना पनि भईसक्यो । उनी धरानमा एक छोराका साथ बसिरहेका छन् । उनका छोरा परिवारहरु विभिन्न पसल व्यवसायमा छन् ।

शेखर सिंह उमेरले ७० कटेपनि उनी कसैसँग आजसम्म रिसाएर बोलेका छैनन् । कम बोल्छन्, बोल्नै परे नम्रता देखाउँछन् । सायद व्यापार व्यवसायमा कसैसँग पनि दुस्मनी चाहँदैनन् । उनी धरानमा ‘पान बाजे’को नामले परिचित छन् । उनको पसलमा नियमित पान खान आउनेहरुको ठूलो लिष्ट छ ।

पान धार्मिक तथा स्वास्थ्यका दृष्टिकोणले उत्तम मानिन्छ । पानको पातलाई पवित्र मानिने भएकाले धार्मिक कार्यमा समेत प्रयोग गरिन्छ । बहुउपयोगी भएकाले पानको ब्यापार बढ्दो क्रममा रहेको शेखर सिंहको भनाई छ ।

उनलाई पनि लकडाउनले असर गरेको छ । ‘लकडाउनले पसल खोल्न पाइन, भाडा तिर्न धौधौ छ ।’ उनी भन्छन् । उनी निक्कै ईमान्दार छन् भन्ने कुरा उनको काम गराईले प्रस्ट हुन्छ । लकडाउनमा गुजारा चलाउन र पसलको भाडा तिर्न उनले छेउछाउका मेडिकल पसलहरु गुहारे, सबैले सहयोग गरे ।

तराईका बजारमा छ्याप–छ्याप्ती पाइने पान पसल पछिल्लो समय पहाडी जिल्लामा पनि विस्तार भएको छ । पानको पात पवित्र र विभिन्न रोग बिरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने भएकाले सबै भूगोलका व्यक्तिको रोजाई बनिरहेको छ । शेखरले नेपालमा निकै कम मात्र पान उत्पादन हुने भएकाले धेरैजसो पानको पात भारतबाट आयात गर्छन् ।

नेपालमा उपलब्ध हुने पात सानो हुने उनको तर्क छ । पानको उद्गम थलोको रुपमा भारतको बनारसलाई लिने गरिन्छ । एउटा पातको मुल्य ७ देखि ८ रुपैयासम्म पर्ने भएकाले उनको पसलमा न्यूनतम ३० रुपैयाबाट मुल्य शुरु हुन्छ । एक खिल्ली स्पेशल पानको ५० रुपैयासम्म पर्छ । कलकतिया, बनारसी, देशी, मगही, हरियरपात एवम् मीठा पातको अधिक प्रचलन छ ।

ग्राहकसँग पैसा छैन भनेपनि उनी पान खुवाउन भने छोड्दैन । त्यसैले होला हरेक दिन शेखरको पान पसलमा पान खानकै लागि झुम्मिनेहरु हुन्छन् । उनकोमा सरकारी कार्यालयका हाकिमदेखि उद्योगी, व्यापारी तथा घरपरिवारहरु पान खान आउँछन् । ‘पानका सौखिन एसपी डिएसपी, बडा हाकीम सबै आईपुग्नुहुन्छ ।’ उनी भन्छन् ।

लगानी कम मुनाफा बढी
शेखरका अनुसार कम पूँजीमा बढी मुनाफा दिने व्यापार हो पानको । पान पसल खोल्न ठूलो ठाउँ चाहिँदैन । सानो ठाउँ भए पुग्छ । पानका सामग्रीका लागि बढीमा पाँच हजारको लगानीमा यसको व्यापार गर्न सकिन्छ । देशका मुख्य बजार, चोक चौराहामा पानको व्यापार अत्याधिक फस्टाएको छ ।

पान बहूपयोगी लहरेदार वनस्पति
शेखर सिंहको अनुभवले पान बहुपयोगी लहरेदार वनस्पति हो । पान नेपाल, भारत लगायत दक्षिण पूर्व एसियाको परम्परा जस्तै हो । पानको पातमा चूना, कत्था, सुपारीको टुकडा, सौंफ एवं विभिन्न प्रकारका मसला सुगन्धित आदि हालेर खाने चलन छ ।
पातका ६४ जात भारतमा पाइन्छन् । ती मध्ये प्रमुख जातहरू देशी काली, रायटेक आदि महाराष्ट्रमा । साँची, मिठु (मिठा पत्ता), जहाजी र बंगला पान आसाम र पश्चिम बंगलामा पाइन्छन्, देशी देशावरी, कपुरी, मधही, वनारसी, कलकतीया बंगलापान उत्तर प्रदेशमा लगाइन्छ । नेपालमा उत्पादन गरिएका जातहरूमा देशी, बंगला, संचारी र मिठापत्ता हो ।

नेपालमा झापाको शनिश्चरे, मोरङको लेटाङ, मधुमल्ला, सुनसरीको पञ्चकन्या, श्रीपुर तथा सप्तरीमा परीक्षणको रुपमा पान खेती गर्न थालिएको छ ।

वार्षिक १५ करोड रुपैयाँ बराबरको पान बिक्री
एक तथ्यांकअनुसार जनकपुरधाममा एक सातामा पाँच लाख बराबरको पानको पात बिक्री हुन्छ । नेपालमा वार्षिक १५ करोेड रुपैयाँ बराबरको पानको बिक्री हुने गरेको अनुमान छ । शेखर सिंह भारतको कोलकाता र जयनगरबाट पानको पात ल्याउने गर्छन् ।

सादा पानलाई औषधिका रुपमा प्रयोग गरिन्छ तर सादा पान खाने कमै हुन्छन् । जर्दा पानमा सुर्ति धेरै हुने भएकोले स्वास्थ्यका लागि हानिकारक हुन्छ । ‘तर अम्मलीहरु जर्दा पान नै रुचाउने गर्छन् ।’ शेखर भन्छन् ।

मिथिलाको शान पान
माछा, पान र मखानका लागि चर्चित मानिन्छ मिथिला नगरी जनकपुरधाम । मिथिलाञ्चलवासीले पानलाई आफनो जीवनको अति आवश्यक सामग्रीको सूचीमा समावेश गरेका पाइएको छ । मिथिलामा आउने पाहुना, साथी सङगीलाई चिया र पानले स्वागत गरिन्छ ।

पान मिथिला क्षेत्रमा अति पवित्र मानिएको पाइन्छ । यस क्षेत्रमा प्रत्येक पूजा–प्रतिष्ठा, यज्ञ–अनुष्ठान, व्रत, पर्व, सांस्कारिक एवं देव–पितृ कार्य इत्यादिका अवसरमा पानको पात आवश्यक पर्छ ।

मैथिली संस्कृतिको एउटा प्रमुख अङ्ग होे पान । पान, मखान र मिठाई खाने तथा एक अर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने मैथिली संस्कृतिमा पर्दछ ।

मिथिला क्षेत्रमा मंसिर, माघ, फागुन, जेठ र असार महिना सम्ममा विवाह भएका वरलाई कोजागरामा तीनै पानले चुमाउने अर्थात मैथिली भाषामा शरीरका दोष निकाल्ने गरिन्छ । वधु पक्षद्वारा वर पक्षलाई पठाइएको सामग्रीले यो पर्वमा रमाइलो गरी पान सुपारी राखी पासा र पचिसी खेल्ने परम्परा छ ।

पानको सांस्कृतिक महत्व
पानको धार्मिक महत्वसँगै सांस्कृतिक महत्व पनि उत्तिकै छ । कुनै कन्याको सौन्दर्यको वर्णन गरिँदा उनको पातलो ओठलाई ‘पानको पात जस्तो पातलो ओठ’ भनेर तारिफ गरिन्छ ।

वात्स्यायनको कामसूत्रमा पान खाने सन्दर्भलाई सोह्र शृङ्गारमध्ये एक मानिएको छ । परापूर्वकालमा महिलाले मात्र पान खाने गरेको प्रसङ्ग समेत त्यसमा उल्लेख भएको पाइन्छ । अचेल स्त्री लिपिस्टिकको प्रयोग गरेर ओठ रातो बनाउने गर्दछन् तर, पहिलेका स्त्रीहरू पान खाएर ओठको लाली बढाउने गर्दथे ।

पानका १०५ गुण
आयुर्वेद चिकित्साका पिता धन्वन्तरीले पानमा १०५ गुण हुने बताएका छन् । खानपान पछिको पान अम्मल मात्र नभई पाचन क्रियाको सहयोगी हुन्छ । रुघाखोकी, सर्दी र रक्त विकारमा पानलाई उत्तम मानिन्छ । आयुर्वेदमा पानको गुण रक्तवद्र्धक, कफनाशक, बलवद्र्धक र रुचिकारक बताइएको छ ।

शरीरको खोट हटाउनु अर्थात स्थानीय मैथिली भाषामा (चुमाओन) विधिमा शरीरका शिरदेखि पाउका पाँच प्रमुख स्थानलाई शरीरको खोट हटाउनु अर्थात (चुमाउने) गरिन्छ । हातका पाँच औंला पञ्च महाभूतका प्रतीक मानिन्छ । पाँच स्थानको स्पर्शले शरीर उर्जावान हुने विश्वास मिथिला क्षेत्रमा पाइन्छ ।

जुन घरमा कोजगरा हुने गर्दछ त्यहाँ विशेष भोजको पनि व्यवस्था गरिन्छ । कोजगरा दिनको भोजको सम्पूर्ण व्यवस्था केटीपक्षले गर्ने चलन छ । भोजपछि विशेष रुपले पान र मखान खाने चलन छ ।

प्रतिकृयाहरु
Loading...