‘सीमामा नेपाली अनुगमन टोलीमाथि भएको आक्रमणबारे आधिकारिक जानकारी सार्वजनिक गर’

काठमाडौं । पूर्व सांसद सरिता गिरीको संयोजकत्वमा रहेको तराई मधेश बृहत् लोकतान्तित्र मोर्चाले सीमा स्तम्भको अनुगमनको लागि नेपाल–चीन सिमाना पुगेका नेपाली टोलीमाथि चिनियाँ सुरक्षाकर्मीद्वारा भएको आक्रमणबारे जनतालाई आधिकारिक जानकारी दिन सरकारसँग माग गरेको छ ।

मोर्चाद्वारा शनिबार (आज) जारी विज्ञप्तिमा सञ्चारमाध्यममा आएको उक्त समाचारबारे बुझेर जनतालाई आधिकारिक जानकारी दिन सरकारसँग माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘सीमा स्तम्भको अनुगमन गर्न गएको नेपाली टोली ५, ६, ७ र ८ को अनुगमन गरी ९ नं.को सीमा स्तम्भ नजिक पुगेपछि चिनियाँ सुरक्षाकर्मीले नेपाली भू–भागमा प्रवेश गरी अनुगमन टोलीमाथि अश्रु ग्यास प्रहार गरेका छन् र उक्त आक्रमणमा नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लाम्बा सामान्य घाइते पनि हुनुभएको छ । चिनियाँ सरकारको यस्तो आक्रमणकारी नीतिको हामी घोर विरोध गर्दछौं । साथै यस घटनाबारे सरकारले तुरन्त जनतालाई आधिकारिक जानकारी गराउन माग गर्दछु ।’

सगरमाथाजस्तो विश्वको गरिमालाई समेत चीनले बेला बेला आफ्नो दावी गरेको घटनाको भर्त्सना गरिएको विज्ञप्तिमा चिनियाँ आक्रमणकारी नीतिको विरोध गरिएको छ ।

यसबारे शुक्रबार (हिजो) सञ्चारमाध्यममा विभिन्न समाचारहरु आएका थिए । यद्यपि पनि उक्त घटनाबारे सरकारी पक्षबाट भने केही धारणा सार्वजनिक भएका छैनन् ।

‘डा. केसीलाई समर्थन’
मोर्चाले अनशनरत डा. गोविन्द केसीलाई समर्थन गरेको छ । ‘सरकारले विगतमा डा. केसीसँग गरेका सम्पूर्ण सहमतिको पालना गर्दै डा. केसीको जीवन र सम्मानको रक्षा गर्नुपर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

गत बिहीबार डा. केसीको अनशनको २५औं दिन पुग्दा वार्ता गर्न सहमत भएको सरकारले अझैसम्म वार्ता प्रक्रिया टुङ्ग्याएको छैन । डा. केसीको तर्फबाट वार्ता गर्न गठित टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलकै कारण वार्ता प्रक्रिया नटुङ्गिएको आरोप लगाएको छ ।

टोलीले केहीबेरअघि विज्ञप्ति नै निकाल्दै सरकारको नियत डा. केसीलाई मार्ने रहेको बताएको छ भने मुलुकभर दबाबमूलक कार्यक्रम जारी राख्नसमेत भनेको छ ।

प्रतिक्रिया