चीन दावी गर्छ–‘कोरोना भाइरस वुहानमा उत्पन्न भएको होइन’

एजेन्सी । चीनले कोरोना भाइरसबाट हुने कोभिड १९ आफ्नो देशको वुहान प्रान्तबाट शुरु भएको कुरा पहिलो पटक अस्वीकार गरेको छ । उसले बरु यो भाइरसबारे पहिलोपटक दुनियाँलाई जानकारी दिएर सचेत हुन सघाएको बताएको छ ।

गत शुक्रबार उसले भनेको थियो–‘पछिल्ला वर्ष यो भाइरस संसारका धेरै भागमा फैलिइसकेको थियो । तर चीन नै त्यस्तो देश हो, जसले यसबारे विश्वलाई पहिलो पटक जानकारी दियो र यसबाट बच्न तत्काल उपयुक्त कदम चाल्यो ।’

यसैबीच चीनले वुहानको मासु बजारबाट कोरोना महामारी शुरु भएको भन्ने रिपोर्ट र अमेरिकाको आरोपको खण्डनसमेत गरेको छ ।

निचियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले गत शुक्रबार सरकारको तर्फबाट हुने नियमित पत्रकार सम्मेलनमा भनेकी छिन्–‘कोरोना नयाँ प्रकारको भाइरस हो, यो भाइरसबारे अझै विभिन्न तथ्य आउने क्रम जारी छ ।’ उनको भनाइअनुसार कोरोना भाइरस चीनमा उत्पन्न भयो भन्ने निश्चित गरिहाल्ने आधार अझैसम्म नभएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आफ्नोविरुद्ध अमेरिकाले कडा आलोचना गरेको समयमा चीनले दिएको यो प्रतिक्रियालाई चासोको रुपमा हेरिएको छ ।

केही दिनअघि जापानमा आयोजित क्वाड सम्मेलनमा अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले चिनियाँ कम्युनिष्ट पार्टी र नेताले कोरोनासम्बन्धी जानकारी लुकाएको आरोप लगाएका थिए ।

 

प्रतिक्रिया