सामुदायिक भवनमा आइशोलेसन सेन्टर

विराटनगर । विराटनगरमा संस्थागत रुपमा निर्माण भएको आइशोलेसन सेन्टर सञ्चालनमा आएको छ ।
लायन्स क्लबले विराटनगर–१२ स्थित विराट सामुदायिक भवनमा निर्माण गरेको ३० शैयाको आइशोलेसन आजदेखि सञ्चालनमा आएको हो ।
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार आईशोलेसन सेन्टरको उद्घाटन गरेका हुन् । होटलमा पैसा तिरेर आइशोलेसन बस्न नसक्ने, घर वा डेरामा बस्दा समस्या हुने तथा निजी अस्पतालमा खर्च गरेर आइशोलेसन सेवा लिन नसक्ने मानिसहरुलाई सहयोग गर्ने उद्देश्यका साथ लायन्सले प्रदेश सरकारसँग समन्वय गरेर उक्त आइशोलेसन सेन्टर निर्माण गरेको हो ।
आइशोलेसन उद्घाटन गर्दै मुख्यमन्त्री राईले संस्थागत रुपमा निर्माण भएको आइशोलेसनलाई सरकारले केवल आइशोलेसनको रुपमा मात्र नभई अक्सिजन प्लान्ट र आइसियू सेवा सहित विस्तार गर्न चाहेको बताए ।

प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक महिना अघि नै उद्घाटनको तयारी गरेको आइशोलेसन सेन्टर आफु संक्रमित हुनपुग्दा ढिलो हुन गएको बताए । उनले भने,‘प्रदेश सरकारका तर्फबाट आईशोलेसनका लागि आवश्यक सबै सहयोग उपलव्ध गराउने छौं ।’
यता कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका संयोजक डा. दिपक सिग्देलले अबका दिनहरुमा बिना अक्सिजन र बिना भेन्टिलेटरका आईशोलेसन सेन्टरहरुको अर्थ नरहने जिकिर गरे । उनले भने,‘विराट सामुदायिक भवनमा सञ्चालनमा आएको सामुदायिक भवनमा कम्तीमा पनि २० वटा बेडलाई पुग्ने अक्सिजन जरुरी रहन्छ ।’
उक्त आईशोलेसन सेन्टरमा टिभी, निःशुल्क ईन्टरनेट, २४ सै घण्टा बिजुली, पङ्खा र शुद्ध खानेपानी लगायतका सेवाहरु उपलब्ध गराईएको छ ।









