वीपीमा आइसियू र भेन्टिलेटर नहुँदा संक्रमितको बेहाल, भर्ना भएका बिरामीलाई अन्यत्र लैजान दवाव

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितलाई राख्ने आइसियू तथा भेन्टिलेटर नहुँदा सास्ती भएको छ । प्रतिष्ठानमा कोभिड–१९ लेवल ३ अस्पताल निर्माण गरेपनि भेन्टिलेटर सहितको आइसियू नहुँदा कोरोना संक्रमित बिरामीको बेहाल भएको हो ।

अस्पतालमा वेड तथा भेन्टिलेटर अभाव भएपछि प्रतिष्ठानले धमाधम बिरामीलाई फर्काउन थालेको छ । हिजो राती धरान–२ का ९० वर्षिय राम कृष्ण अग्रवाल (नाम परिवर्तन) लाई स्वासप्रस्वासको समस्याले इमरजेन्सीमा ल्याइएको थियो । तर, इमरजेन्सीका डाक्टर तथा नर्सहरुले कोरोना भएका हुन सक्ने भन्दै शुरुमै उपचार गर्न नमानेको बिरामी  अग्रवालका छोरा मनोज अग्रवालले बताए ।

इमरजेन्सीमा रहेका स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमण भएको हुन सक्ने बताउँदै तर्किएपछि उनले धरान–२ का वडा सदस्य मुकेश अग्रवाललाई बुबालाई प्रतिष्ठानले उपचार गर्न नमानेको भन्दै हारगुहार गरे । त्यसपछि मुकेश अग्रवालले प्रतिष्ठानका सिनियर चिकित्सकहरुलाई भनेपछि बल्लबल्ल भोली विहानै अस्पताल छाड्नु पर्ने भन्दै इमरजेन्सीमा भर्ना लिएका थिए ।
विहान अग्रवालको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि भने अस्पतालमा आइसियू, भेन्टिलेटर तथा वेड समेत नभएकोले अन्यत्र लैजान चिकित्सक, नर्सहरुले दवाव दिएको उनको भनाई छ ।

तस्वीरः अग्रवालकाे परिवार ।

‘बुबालाई स्वासप्रस्वासको समस्या भयो, तीन चारदिन देखि खाना समेत खानु भएको थिएन । बेलुका नै यहाँ नराख्नु भन्दैथिए, आज बिहान स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि झनै कराउन थाले, अहिले तुरुन्तै अन्त लैजानु पर्यो भनेर दवाव दिइरहेका छन् ।’ छोरा मनोज अग्रवालले भने ।

उनले बुबालाई घरमा राख्न नसक्ने अवस्था भएपछि प्रतिष्ठान ल्याएको बताउँदै प्रतिष्ठानले भने यहाँ राख्न सकिँदैन भन्दै दवाव दिइरहेको जनाएका छन् । प्रतिष्ठानकै डाक्टर अजय अग्रवालसँग भनेर कोरोना अस्पतालमा आइसियू मिलाउने तयारी गरेपनि इमरजेन्सीका नर्स तथा स्टोरकिपरहरुले वेड खाली गराउन चर्को दवाव दिइरहेको उनको भनाई छ ।

प्रतिष्ठानले कमसल र गुणस्तरहिन भेन्टिलेटर जडान गरेकाले कोरोना संक्रमित बिरामीको स्वास्थ्यमा असर परेको छ । प्रदेश १ कै लेवल ३ कोभिड अस्पतालमा बिरामीले उपचार नपाएपछि कोरोनाका बिरामीको स्वास्थ्य जोखिममा परेको छ । पूर्वका विराटनगरका अस्पतालहरुमा समेत वेड अभाव भइसकेको छ ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले प्रतिष्ठानमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढेकाले व्यवस्थापनमा असहजता आएको बताए । उनले सकेसम्म कुनैपनि विरामीलाई उपचारै नगरी फर्काउने उद्देश्य प्रतिष्ठानको नरहेको जिकिर गर्दै प्रतिष्ठानको साधन स्रोतले भ्याईसम्म सेवा दिने तर्क गरे । ‘हामीसँग भएका सबै भेन्टिलेटरहरु प्रयोगमा छन्, विरामीको चाप अत्याधिक बढेको छ । सकेसम्म व्यवस्थापन गर्ने कोशिषमा छौं ।’

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भने यतिबेला प्रतिष्ठान हेर्न छाडेर राजधानीमा छन् । आफ्ना स्वकीय सचिब दिलिप भट्टराई सहित स्वास्थ्यमन्त्री र सत्तारुढ दलका नेताहरुलाई भेटघाट गर्न आएका उनले आफुले काम गर्ने वातावरण नपाएको भन्दै हारगुहार गरेका छन् ।

उपकुलपति र उनका स्वकीय सचिबका कारण प्रतिष्ठानको कार्य सञ्चालन अस्तब्यस्त भएको आरोप छ । धरानका मेडिकल सप्लायर्स चेतन अग्रवालसँगको साँठगाँठमा प्रक्रिया विपरित कमसल कोरोना सामग्री गरिद गरेकाले भेन्टिलेटर विग्रँदा विरामीले उपचार पाउन नसकेको भन्दै आलोचना भइरहेको छ ।

पुनः सम्पादीतः २२ः३१ बजे

प्रतिक्रिया