विश्व हुलाक दिवसका अवसरमा सुनसरी हुलाकका दुई कर्मचारी सम्मानीत

धरान । जिल्ला हुलाक कार्यालय सुनसरीले विश्व हुलाक दिवसको अवसरमा दुई कर्मचारीलाई सम्मान गरेको छ भने, कार्यलयको पहिलो सेवाग्राहीलाई खदा र टीका लगाई दिएको छ । ‘मोर देन मेल अर्थात मेल भन्दा बढी’ भन्ने मूल नारा सहित आज शुक्रबार १४५ औं विश्व हुलाक दिवस मनाइएको हो ।

उक्त अवसरमा सुनसरी जिल्ला हुुलाक कार्यालयमा उत्कृष्ट कार्य गरेको भन्दै २ जना कर्मचारीलाई सम्मानीत गरिएको छ । सम्मानीत हुनेहरुमा जिल्ला हुलाक कार्यालय सुनसरीमा २०४५ सालदेखि कार्यरत रामप्रसाद अधिकारी र ०४२ सालबाट इलाका हुलाक कार्यालय ईनरुवामा हल्कारा पदमा कार्यरत लक्ष्मण मण्डल रहेका छन् ।

उनीहरुलाई कार्यालयका प्रमुुख तथा निमित्त हुलाक अधिकृत राजु कुट्वाल क्षेत्रीले सम्मान पत्र, दोसल्ला र अबिर मालाले सम्मान गरेका छन् । भने, आज बिहान १० बजे सबैभन्दा पहिले हुलाक सेवा लिने धरानका बिशाल माझीलाई पनि खदा र टिका लगाएर स्वागत गरिएको थियो ।

जिल्ला हुलाक कार्यालय प्रमुख क्षेत्रीले आफ्नो कार्यकालमा हरेक कर्मचारीलाई काममा प्रोत्साहन हुने कार्यक्रमहरु गरिरहने बताएका छन् । साथै उनले विश्व इन्टरनेटको युगमा प्रवेश गरेपनि हुलाकको महत्व नघटेको बताए ।

कार्यक्रममा सम्मानीत कर्मचारी रामप्रसाद अधिकारीले आफुलाई गरेको सम्मानको सधैं कदर गर्ने बताए । अर्का सम्मानीत लक्ष्मण मण्डलले आफु कुरा भन्दा कामलाई बढि प्राथमिकतामा राखेर जनतालाई सेवा दिने प्रतिबद्धता जनाए । कार्यक्रममा कार्यलयका नायव सुब्बा, खरिदार, लेखापाल तथा हल्काराहरुको उपस्थिति रहेको थियो ।

हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । सवा दुई सय वर्ष अगाडी सन् १८७४ मा जापानको टोकियोमा अन्तराष्ट्रिय हुलाक सँघको गठन भएको संझनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो ।

सञ्चारको प्रारुपको शुरुवात हुलाकबाट शुरु भएको हो, मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घरकाले उनिहरुसँग कुरा गर्न हुलाकको प्रयोग गर्दथे ।

हुलाकीहरुको सम्मान गाउमा वेग्लै हुन्थ्यो । सञ्चार क्षेत्रमा आएको युगीन परिवर्तनले हालखबर सोधपुछका लागि चिठ्ठीपत्र आदान प्रदान गर्ने कार्यलाई विस्थापित गरेपनि सरकारी, संघसंस्था तथा कार्यालयीय चिठ्ठीहरु आदान प्रदान अझैपनि हुलाक मार्फत हुने गर्दछ । यसका अलावा पार्सल तथा देश विदेशमा महत्वपूर्ण डकुमेन्टहरु पठाउन हुलाकलाई प्रयोग गरिन्छ ।

नेपाल इन्टरनेट र मोवाइलको युगमा प्रदेश गर्नुअघि हुलाकको महत्व अत्यन्त थियो । खासगरी गाउँघरमा हुलाक सेवा लोकप्रिय थियो । गाउँघरमा हुलाकीहरुलाई विशेष ग्राहयता दिइन्थ्यो । उनिहरु त्यतिवेलाको समयका रेडियो, टिभी, इन्टरनेट जस्तै थिए । अझै पनि कतिपय स्थानहरुमा पत्र मञ्जुषा देख्न सकिन्छ ।

तस्विरः भरतराजशर्मा (गाेपाल)

 

प्रतिक्रिया