‘योगदान राष्ट्रका लागि’ सामाजिक संस्थाको घोषणा

काठमाडौं । ‘योगदान राष्ट्रका लागि’ नामक सामाजिक संस्थाको औपचारिक रुपमा शुरुवात गरीएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमका विच संस्थालाई औपचारिक रुपमा घोषणा गरिएको हो । ‘योगदान राष्ट्रका लागि’ लामो समयदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा बस्दै आएका समाजसेवी, युवा अभियान्ता ओम उप्रेतीले ल्याएको अवधारणा हो ।
उप्रेती युएईमा विभिन्न प्रकारका दुर्घटनामा परेकाहरुको प्राथमिक उपचारको क्षेत्रमा सक्रिय छन् । उप्रेतीले आफुले सिकेको ज्ञान र सीपलाई नेपाली माटो र नेपाली युवाहरु माझ प्रयोग गर्ने हेतुले संस्था स्थापना गरेको बताएका छन् ।
विगत दुई वर्षदेखि नेपालका विभिन्न जिल्लाहरुमा प्राथमिक उपचार सम्बद्ध अभियान र कार्यकहरु चलाउँदै आएका अभियान्ता उप्रेतीका अनुसार ‘योगदान राष्ट्रका लागि’ संस्थाले देशका ७७ वटै जिल्लाहरूमा सञ्जाल विस्तार गरीसकेको छ ।

उनको संस्थाले विशेष गरी बेहोस भएका, छारे रोग, दुर्घटनामा अंगभंग भएका, घाँटीमा अड्केका, करेन्ट लागेका, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेका, विष सेवन गरेका, हृदयघात, दम तथा प्राकृतिक विपक्तिमा परेकालाई कसरी प्राथमिक उपचार गरेर तत्काल जोखिम कम गर्न सकिन्छ भनेर तालिम प्रदान गर्ने गर्दछ । यसका अलावा संस्थाले प्राथमिक उपचार स्वास्थ्य सामग्रीहरु वितरण गर्ने गरेको छ ।
समुदाय केन्द्रीय कार्यक्रम गरेर समाज र राष्ट्रको सेवा गर्ने उद्देश्यबाट स्थापना भएको संस्थामा खासगरी युवाहरुको उल्लेख्य सहभागीता रहने बताइएको छ । ‘योगदान राष्ट्रका लागि’ अभियानमा हाल २ हजार बढी युवाहरु जोडिएका छन् । युवा समिति र सञ्जाल मार्फत हरेक नागरिक र सर्वसाधारणमा प्राथमिक उपचार सेवा पुर्याउने लक्ष्य संस्थाको छ ।
विश्व महामारीको रुपमा फैलिरहेको कोभिड १९ संक्रमणको समयमा जन्मिएको ‘योगदान राष्ट्रका लागि’ संस्थाले कोरोनाको कहरमा अझ प्राथमिक उपचारको महत्व र आवश्यकतालाई आम जनता माझ लैजाने अभियान चाल्ने छ ।
कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनमा संस्थाले सचेतना सँगै दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई राहत वितरण तथा कोरोना स्वास्थ्य सामग्री वितरण, रक्तदान तथा फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको योगदानको पनि सम्मान गरेको थियो ।
संस्थाले मुलुक र मुलुक बाहिर रहेका सबै नेपालीहरुसँग सहकार्य गर्ने तथा समाजमा सकारात्मक परिवर्तनका लागि सरकारसँगै पनि सहकार्य गरेर अगाडी बढ्ने ध्येय लिएको संस्थाका संस्थापक ओम उप्रेतीले बताएका छन् ।









