रामायण सर्किट कार्यान्वयनमा ल्याउन नेपाल–भारत सकारात्मक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्य मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशवीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भयो ।

भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच हवाई क्षेत्रका सम्बन्धमा भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउनेबारे छलफल भएको थियो ।

कोभिड–१९ का कारण बन्द रहेको काठमाडौं र भारतका विभिन्न शहरहरुवीचको उडान चाँडै सुचारु गर्ने बारेमा पनि कुराकानी भएको थियो । त्यस्तै, संस्कृतिका क्षेत्रमा पशुपति, लुम्विनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको थियो । भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।

भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथ नागरिक उडड्यनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिए । राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारात्मक रहेको जनाउँदै कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

प्रतिक्रिया