सुनसरी ३ का बामपन्थी नेता निरौलाको निधन

दुहवी । सुनसरी क्षेत्र नं. ३ दुहवीका बामपन्थी नेता राम निरौलाको निधन भएको छ । उनको काठमाडौं स्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलमा निधन भएको हो ।
नेकपा सुनसरी जिल्ला कमिटि सदस्य तथा कानुनविद् निरौलाको मंगलबार राती निधन भएको हो । पारिवारिक श्रोतका अनुसार उनलाई शुरुमा निमोनिया देखिएको थियो । उपचार गराउने क्रममा काठमाडौं ल्याइएपछि मात्र कोरोना पोजेटिभ देखिएको थियो ।
गत असोज ३ गते निरौलालाई एकाएक ज्वरो सँगै जिउ दुख्ने समस्या देखा परेको थियो । घरमै सिटामोल खाएर बसेका उनलाई असोज ६ गते विराटनगरको नोवेल शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनलाई निमोनिया भएको देखिएको थियो । सोहि क्रममा कोरोना टेस्ट गराउन भनेपनि विराटनगरमा कोरोनाको रिपोर्ट ढिलो आउने भएपछि दुहवी घर आएर भोलीपल्ट स्वाब परीक्षणका लागि दिएका थिए ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले त्यसको रिपोर्ट १० गते मात्र दियो । तर, उनको शरीरमा अक्सिजनको मात्र कम हुँदै गएकाले उनी सोहि दिन नोवेल अस्पताल भर्ना भएका थिए । अस्पतालमा भर्ना हुँदै गर्दा उनको रिपोर्टमा कोरोना नेगेटिभ आएपनि सँगै रहेकी छोरी आयुष्मामा भने पोजेटिभ आएको थियो ।
छोरीको रिपोर्ट पोजेटिभ आएपछि उनी आइसोलेसनमा बसिन भने बुबालाई झनै गाह्रो हुन थाल्यो । त्यसपछि असोज ११ गते हतारहतार प्लेन चार्टर गरेर निरौलालाई ग्राण्डी ल्याइएको थियो । ग्राण्डीमा उनको पुनः कोरोना टेस्ट गराउँदा पोजेटिभ भएको पाइयो ।
त्यसपछि उनलाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरेपनि उपचार काम लागेन र उनको असोज २० गते निधन भयो । कोरोना पोजेटिभ भएकै कारण उनको मंगलबार राती नै पशुपति स्थित विद्युतिय शवगृहमा दाह संस्कार गरिएको छ ।
नेपाल बार एशोसिएशन मोरङका पूर्व अध्यक्ष समेत रहेका निरौला बाम कम्युनिष्टहरुमा बौद्धिक नेताका रुपमा परिचित थिए । राजनीति र समाज सेवामा सक्रिय निरौला लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्स ३२५ एवानका इस्ट रिजन चेयरपर्सन समेत हुन् ।

५७ वर्षिय निरौलाको निधनले सुनसरी क्षेत्र नं. ३ मा ठूलो क्षति पुगेको नेकपाकी नेतृ भगवती चौधरीले बताएकी छन् । आम निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ बाट बाम गठबन्धनकी उम्मेद्वार भगवती चौधरीलाई जिताउन सक्रियता पूर्वक खटेका निरौलाको चौधरीले चर्चा गरिन् । ‘मलाई बहिनी राजनीतिमा सफलता असफलता आइरहन्छ, हिम्मत हार्नु हुँदैन भन्नु हुन्थ्यो, उहाँको अकल्पनीय निधनले म निःशब्द भएको छु ।’ नेतृ चौधरीले भनिन् ।
निरौला स्थानीय देखि केन्द्रसम्मको राजनीतिमा शालिन व्यक्तित्वका रुपमा परिचित थिए । मृदुभाषी, सबैसँग हासेर बोल्ने स्वभावका उनले राजनीति गर्दा व्यक्तिगत लाभ हानीको राजनीति कहिल्लै नगरेको जानकारहरु बताउँछन् । निराैलाका श्रीमति र २ छाेरी छन् ।









