डा. केसीको समर्थनमा वीपीका चिकित्सकले २ घन्टा ओपिडी बहिस्कार गरे

धरान । चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनरत सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा उनको जीवन रक्षाको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले आज २ घण्टा ओपिडी बहिष्कार गर्दै धर्ना दिएका छन् ।
नेपाल मेडिकल एशोसिएशसन (एनएमए)को निर्णय अनुसार प्रतिष्ठानका चिकित्सकहरुले डा. केसीको आन्दोलन प्रति ऐक्यवद्धता जनाउदै आन्दोलनमा उत्रिएका हुन् ।

एशोसिएनको आह्वानमा प्रतिष्ठानका चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाज र जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीमा आबद्ध चिकित्सकहरुले ओपिडी भवन अगाडी धर्नामा बसे भने डाक्टरहरुले आज २ घण्टा ओपिडी समेत बहिष्कार गरेका थिए । विहान ९ बजेदेखि ११ बजेसम्म प्रतिष्ठानको अोपिडी बहिस्कार गर्दा उपचारार्थ आएका विरामीलाई असर परेको थियो ।

चिकित्सकहरुले भोली शुक्रबारदेखि प्रतिष्ठानको ओपिडी पुरै बन्द गरिने बताएका छन् । आज २ घण्टा ओपिडी बहिष्कार भएको र भोलीदेखि पुरै ओपिडी नगर्ने घोषणा गरिएको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा.विष्णु पोखरेलले बताएका छन् । धर्ना कार्यक्रममा प्रतिष्ठानका चिकित्सकहरू डा. राजु रिजाल लगायतले बाेलेका थिए ।
तस्वीर साैजन्यः पदम नेपालीबाट














