शैक्षिक गतिविधि शुरु, शिक्षाविद् भन्छन्–‘शिक्षामन्त्रीले बोली फेरिरहँदा समस्या भयो’

  • सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । तीन दिनअघि मात्रै एउटा अन्तर्वार्तामा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भनेका थिए– ‘कोभिड–१९ ले ल्याएको संकट सबैका लागि नयाँ हो । कुनै पुस्तक वा फलानो सिद्धान्त अनुसार समाधान गर्ने भन्ने उपाय छैन । यसले दिएको एउटा प्रष्ट सन्देश हो–विद्यालय र कलेजमा ‘फेस टु फेस’ पढाइ सम्भव छैन ।’

ठ्याक्कै उनको भनाई विपरित सञ्चालकहरुले आफुखुशी विद्यालय खोल्न थालेका छन् । बन्द रहेको करिब ६ महिना पुग्दासम्म पनि नेपाल सरकारले विद्यालय सञ्चालनको कुनै गुरुयोजना ल्याउन सकेको छैन । विद्यार्थीको पढाइ त बिग्रिएको छ नै, शिक्षकहरुलाई तलब खुवाउन समेत सकस परेपछि ग्रामीण भेगदेखि राजधानीसम्मका केही विद्यालयहरुले कक्षाकोठामै पठनपाठन सुरु गरेका हुन् ।

शैक्षिक सत्र खेर जाने, विद्यार्थीको भविष्यमा क्षति पुग्ने सम्भावना देखिएपछि कतिपय गाउँपालिका, नगरपालिकाहरुले पनि विद्यालय सञ्चालनको अनुमति दिएका छन् ।

काठमाडौंमा दिनहुँ संक्रमण बढिरहेको अवस्थामा चन्द्रागिरी नगरपालिका–७ महादेवस्थान थानकोटको प्रभात माविले पनि असोज १ गतेदेखि विद्यालय सञ्चालन गरिसकेको छ । विद्यार्थी सातामा एक दिन मात्रै विद्यालय उपस्थित हुनुपर्ने गरी बिहान र बेलुकिको सिफ्टमा कक्षाकोठामै पठनपाठन सुरु गरिएको विद्यालयले जनाएको छ ।

यस्तै हुम्लाका तीन वटा गाउँपालिकाका–उत्तरी नाम्खा तथा दक्षिणतिरका खार्पुनाथ र ताँजाकोटका ५१ वटा विद्यालयहरुले दुई महिना अघि अर्थात् साउनदेखि नै कक्षाकोठामै पठनपाठन सुरु गरिसकेका छन् । कोरोना संक्रमणमा कमी आएको भन्दै गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

उता सुर्खेत वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले पनि पढाइ सुरु गरेको छ । यस्तै मोरङको केराबारी गाउँपालिकामा रहेको बुद्ध मावि, गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ६ काशी गाउँको मन्जुश्री माविले पनि कक्षाकोठामै पठनपाठन सुरु गरिसकेको छ ।

काठमाडौंको चन्द्रागिरी, गोकर्णेश्वर, काभ्रेको पनौती लगायत पालिकाले पनि विद्यालय खोल्ने निर्णय गरिसकेका छन् ।

कोभिड महामारीकै बिच सञ्चालनमा आएका यी सबै विद्यालयहरुको एउटै भनाइ छ–‘भर्चुअल माध्यमबाट सबै विद्यार्थीलाई समेट्न सकिने सम्भावना नदेखिएपछि स्वास्थ्य मापदण्ड पालना गरेर कक्षाकोठामै पढाई गर्नुपर्ने निष्कर्षमा पुगेका हौँ ।’

शिक्षा मन्त्रालयका प्रवक्ता भन्छन्–मापदण्ड पुर्याएर विद्यालय खोल्दा हुन्छ

शिक्षा मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७’ स्वीकृत गरेसँगै स्वास्थ्य मापदण्ड पुरा गरेर विद्यालय खोल्ने बाटो खुलिसकेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन् ।

उनी भन्छन्–‘विद्यालय त खोल्नु नै पर्यो नि– विद्यार्थी भर्ना गर्नुपर्यो । पुस्तक दिनुपर्यो । सिकाई सहजीकरण गर्नका लागि थोरैथोरै विद्यार्थी जम्मा गरेर सहजीकरण गर्नुपर्यो । विद्यालय बन्द गरेर त कसरी सहजीकरण हुन्छ र ?’

विद्यालय नजिक नभएको खण्डमा विद्यालयले नै विद्यार्थीको टोलमा समूह–समूह बनाएर सिकाई सहजीकरण गर्नुपर्ने प्रवक्ता शर्माले बताए । संक्रमणको जोखिम भएपनि विद्यार्थीको पढाई रोकिन नहुने उनको तर्क छ । ‘अहिले घरदेखि कार्यालयसम्म, सबै ठाउँमा जोखिम छ । पहिले जस्तैगरी घण्टी लगाएर पढाउने भनिएको होइन, सानो–सानो समूहमा सहजीकरण गर्न पाइन्छ । पहिलेको जस्तै गरी नियमित रुपमा पठनपाठन हुन त अझै समय लाग्छ’, उनले भने ।

‘शिक्षक, विद्यार्थी र अभिभावक डराएका छैनन् भने विद्यालय सञ्चालन गर्न सकिन्छ’

कोरोना महामारीका बिच विद्यालय खुल्नुलाई दुई वटा कोणबाट हेर्नुपर्ने शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् । ‘यदि विद्यार्थी, शिक्षक र अभिभावक तीनै जना डराएका छन् भने अनलाइन कक्षा नै ठिक हुन्छ । तर, तीनै जना डराएका छैनन् भने स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर कक्षाहरु सञ्चालन गर्न सकिन्छ ।’

महामारीका बिच शैक्षिक क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ ?

शिक्षाविद् कोइराला भन्छन्–‘हाम्रा मालिकहरु धेरै भए । शिक्षा मन्त्रालय, सिडिओ, पालिका, प्रधानमन्त्री, राजनीतिज्ञ सबैले थरीथरीका आदेश पठाउँछन् । यी धेरै मालिकहरु सबैले एकै किसिमको चिन्तन गरी निर्णयको जिम्मा एउटैलाई दिने हो भने शिक्षामा कुनै क्षति पुग्दैन ।’

शिक्षा मन्त्रालय र शिक्षामन्त्रीले कुरा फेरिरहँदा पनि समस्या आएको उनको तर्क छ । सबैको फरक–फरक हावादारी बोली बन्द गराउनु पर्ने कोइराला भन्छन् । ‘शिक्षा मन्त्रालयले बेलाबेलामा कुरा फेरिरहन्छ–कहिले खोल भन्छ, कहिले नखोल भन्छ । कहिले शिक्षकलाई जा भन्छ, कहिले नजा भन्छ । यो किसिमको बोली फेरिरहने काम ठाडै बन्द गर्नुपर्छ’, उनले भने ।

त्यस्तै शिक्षकहरुलाई ‘तपाईँको विद्यार्थीले जसरी पनि पढ्न पाउनुपर्छ । काम नगरी तलब पाउनुहुन्न । कसरी पढाउने त्यसको उपाय तपाईँ नै निकाल्नुहोस्’ भनेर पढाइमा जोड दिन लगाउनुपर्ने उनको तर्क छ ।

यसैगरी पालिकाहरुले अध्ययन/अध्यापनमा शिक्षकहरुलाई सहयोग गर्नुपर्ने उनले बताए । विद्यार्थी, शिक्षक र पालिकाबीच समन्वय भएमा शैक्षिक सत्र खेर नजाने कोइरालाको भनाई छ ।

थोत्राथाम्रा राजनीतिज्ञका कारण पनि अहिले विद्यार्थीहरु पढाइबाट बञ्चित हुनु परेको समेत उनले टिप्पणी गरे । ‘हाम्रा राजनीतिज्ञहरु थोत्राथाम्रा छन् । किनभने शिक्षक, विद्यार्थी, अभिभावक सबै आफ्नै पार्टीको हुनुपर्ने सोच छ उनीहरुको । यी सबै दलहरु आपसमा मिलेर आ–आफ्ना कार्यकर्ताहरुलाई जसरी पनि पढाउनै पर्यो भनेर आदेश दिनुपर्यो । पढाइ बन्द गर्नु भनेको देशलाई पछाडि धकेल्नु हो’, उनको सुझाव छ ।

सबै दलहरु एकापसमा मिलेर एउटै योजना बनाउने, शिक्षकहरुले छोटो अवधिमा कोर्स पुरा गर्नेगरी शैक्षिक सामग्री बनाएर पठनपाठन गरेमा विद्यार्थीले पढ्न पाउने र यो वर्षको शैक्षिक सत्र पनि खेर नजाने उनको भनाई छ । ‘यी कार्यहरु गरेमा विद्यार्थीको भविष्य सुरक्षित रहन सक्छ । यदि अहिलेकै ढंगले यो जात्रा गरिराख्ने हो भने शैक्षिक सत्र खेर जान्छ । हामी सबै रमिते बन्छौँ । देशलाई ठुलो घाटा हुन्छ ।’

विद्यालय खुल्दा बालबालिकामा संक्रमणको जोखिम कति हुन्छ ?
–डा. शेरबहादुर पुन/सरुवा रोग विशेषज्ञ

विद्यालय सञ्चालन गर्नै नहुने भन्ने हुँदैन । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पुरा गरेर पठनपाठन सुचारु गर्न सकिन्छ । मापदण्ड पालना गरिएन भने संक्रमण फैलन डर हुन्छ । अर्को कुरा विद्यालय खोल्ने भनेर मात्रै हुँदैन । त्यसको व्यवस्थापनमा कस्तो छ, विद्यार्थी र अभिभावकलाई कसरी कन्भेन्स गरेको छ, त्यसमा पनि निर्भर गर्छ ।

कक्षा सुरु हुनुअघि विद्यार्थीहरुलाई कोरोना भाइरस संक्रमणबारे दिनहुँ जसो नयाँ–नयाँ तरिकाले सम्झाउनुपर्छ, बुझाउनुपर्छ । पढ्दा होस् या खेल्दा विद्यार्थी–विद्यार्थीबीच भौतिक दुरी कायम गराउनुपर्छ, गर्ने बानी लगाउनुपर्छ ।

भीड जम्मा भएर खेलिने खेलहरु बन्द गर्नुपर्छ, एक्लाएक्लै खेल्न सकिने खेललाई प्राथमिकता दिनुपर्छ । कक्षाकोठा पनि भेन्टिलेसन भएको, हावा आवतजावत हुने किसिमको हुनुपर्छ ।

संक्रमण भइहाल्यो भने केटाकेटीलाई त्यस्तो नहोला तर उनीहरु मार्फत् घर पुग्ने हो कि ! यसमा पनि सचेत रहनुपर्छ । सजगता पर्याप्त मात्रामा अपनाउनुपर्छ । एउटा बेन्चमा एक जना मात्रै राख्नुपर्छ । इन्टेरियर डिजाइन पनि परिवर्तन गर्नुपर्ने हुन्छ । मास्क, भौतिक दुरी, सेनिटाइजर त अनिवार्य नै भइहाल्यो ।

सञ्चालन गर्नै नसकिने होइन तर, उच्च सावधानी अपनाउनुपर्छ ।

परीक्षा सञ्चालनको अनुमति

सरकारले आज (बुधबार) मात्रै परीक्षा सञ्चालनको अनुमति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी कोभिड १९ महामारीका कारण रोकिएका विश्वविद्यालय, विद्यालय लगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानका सबै परीक्षाहरु सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

सरकारले नेपालमा पनि कोरोना संक्रमण सुरू भएपछि चैत्र ११ देखि लकडाउन गरेको थियो । त्यसपछि शैक्षिक संस्थाहरू पूर्ण रूपमा बन्द गरिएको थियो । परीक्षाहरू पनि स्थगित भएका थिए ।

शिक्षामन्त्री भने अझै डरमा !

शिक्षामन्त्रीले उचित निर्णय लिन नसक्दा करिब ७० लाख विद्यार्थीको भविष्य अन्यौलमा छ । उनी आफैँ पनि अलमलमा छन्, ठोस निर्णय गर्न सकेका छैनन् ।

मन्त्रालयकै स्वीकृती पाएको विद्यार्थी सिकाई सहजीकरण र उनको मत नै बाँझिएको पछिल्लो समय उनले दिएका अभिव्यक्तिहरुबाटै प्रष्ट हुन्छ । अनलाइन कक्षामा विद्यार्थीहरुको पहुँच नपुगेको भन्दै सञ्चालकहरु विद्यालय खोल्न थालेपनि शिक्षामन्त्री भने अझै पनि अनलाइन कक्षामा ‘फोकस’ हुँदा समस्या तथा अन्यौलता सिर्जना भएको छ ।

कतिपय विद्यालयहरुले मनपरी शुल्क उठाउन थालेका छन् भने अर्कोतर्फ सबै विद्यार्थीको अनलाइन कक्षाका लागि पहुँच नपुग्दा कति विद्यार्थीले अझैपनि पढ्न पाएका छैनन् ।

शिक्षामन्त्री भने,‘शिक्षालयहरू कोरोना संक्रमणको थलो बने भने हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन’ भन्दै तर्किरहेका छन् । अहिले उठेको वैकल्पिक शिक्षा पद्धतीको बहस उचित हो तर यसमा सम्पुर्ण विद्यार्थीको पहुँच नपुग्दा यसैमा मात्रै फोकस हुनु गलत हो ।

विद्यार्थी सिकाई सहजीकरणमा के छ ?

कोभिड १९ महामारीका कारण देशभर नियमित पठनपाठन अवरुद्ध भएको झण्डै पाँच महिनापछि शिक्षा मनत्रालयले भदौ १९ गते विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ स्वीकृत गरेसँगै वैकल्पिक शिक्षाको बाटो खुलिसकेको छ ।

यसअघि विद्यालय नखोल्न, अभिभावकबाट शुल्क नलिन भनेपनि यो निर्देशिका स्वीकृत भएसँगै विद्यालयले शुल्क लिने बाटो पाए । मापदण्ड पुर्याएर विद्यालयहरु समेत खुल्न थालिसकेका छन् ।

मन्त्रालयले जारी गरेको निर्देशिकाको ५ को ‘क’ को ४ मा भनिएको छ,–‘ समुदायमा रहेका वा रहने सिकाइ केन्द्र वा विद्यालयमा एक आपसमा भौतिक दुरी कायम गरी बसाईँ व्यवस्था मिलाई पाठ्यपुस्तक, स्व–अध्ययन, सामग्री वा छपाइका सामग्रीहरु प्रयोग गरी शिक्षक वा स्वयमसेवक मार्फत् सिक्ने, सिकाउने व्यवस्था गर्ने ।’

हेरौँ विस्तृतमा : (विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७)     

[wp-embedder-pack width=”100%” height=”600px” download=”all” download-text=”” attachment_id=”99977032430″ /]

प्रतिक्रिया