‘एक लाखे सल्लाहकार चाहिँदैन’ भन्दै वीपी प्रतिष्ठानका भिसीका सल्लाहकार विरुद्ध लाग्यो नारा

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका स्वकीय सल्लाहकार दिलिप भट्टराईको ज्यादती विरुद्ध प्रतिष्ठानका ज्यालादारी कर्मचारीहरु समेत विरोधमा उत्रिएका छन् । आज प्रतिष्ठानका दैनिक ज्यालादारी कर्मचारीहरुले प्रतिष्ठान प्रशासनमै ‘एक लाखे सल्लाहकार चाहिँदैन’ भन्दै चर्को नाराबाजी गरेका छन् ।

दैनिक ज्यालादारी कर्मचारीहरुलाई तत्काल करार गर्न माग गर्दै आन्दोलित भएका उनीहरुले उपकुलपतिका प्रशासनिक सल्लाहकारले गेष्ट हाउस दुरुपयोग गरेको भन्दै नाराबाजी गरेका छन् ।

प्रतिष्ठानको गेस्ट हाउसमा ‘महाराज’ शैलीमा बसेको भन्दै एक कर्मचारीले उपकुलपतिका सल्लाहकारले प्रतिष्ठानलाई तहसनहस बनाएको समेत बताए । ‘प्रतिष्ठानको भौतिक सम्पत्ति मात्र हैन, यहाँको नीति र व्यवस्थालाई समेत कुल्चने काम गरेका छन्, यस्ता सल्लाहकार रहेसम्म प्रतिष्ठान सुध्रदैन ।’ प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीलाई मागपत्र बुझाउने जाने क्रममा एक कर्मचारीले भने ।

 

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले एक लाख तलब भत्ता, गाडी तथा भिआइपी सुविधा दिएर राखेको सल्लाहकारले प्रतिष्ठान विगारेको उनीहरुको आरोप छ ।

त्यसो त सल्लाहकार भट्टराईमाथि कोरोना अस्पताल निर्माण गर्न डोर क्लोजर लगाउँदा व्यापारीबाट खाली विल लिएर सामानको भन्दा तेब्बर मुल्यमा विल बनाएर घोटाला गरेको आरोप छ । उनलाई कर्मचारी सरुवामा हस्तक्षेप गरेको, कोरोना सामग्री खरिदमा धरानका ब्यापारी चेतन अग्रवालसँगको मिलेमतोमा करोडौंको सामान कोटेसनमा खरिद गरेको समेत आरोप छ । 

कर्मचारीहरुले प्रतिष्ठानको रजिष्ट्रार कार्यालयअघि नाराबाजी पछि रजिष्ट्रार डा. रेग्मीलाई माग पत्रसमेत बुझाएका छन् । २ वर्ष पुगेका कर्मचारीहरुलाई तत्काल करार गर्न, जोखिम भत्ता उपलब्ध गराउन, करारलाई परर्फमेन्स करार गर्न, कर्मचारी समाजको निर्वाचन गराउन, ठेकेदारलाई दिएको कोठा खाली गर्न, आन्तरिक बढुवा चाडो गर्न ज्यालादारी कर्मचारीहरुले माग गरेका छन् ।

साथै कर्मचारी, नर्सिङ, प्राविधिकहरुलाई कोठा उपलब्ध गराउन, मनपरि सरुवा बन्द गर्न, प्रतिष्ठानको सम्पत्ति दुरुपयोग बन्द गर्न पनि भनेका छन् । प्रतिष्ठानका जुनियर फोरम्यान किरण भट्टराईले एक साताको अल्टिमेटम दिदै माग पुरा हुने ग्यारेण्टी नभए अनसन बस्ने चेतावनी दिएका छन् ।

भट्टराईले सल्लाहकारलाई गेष्ट हाउसमा राखेर खर्च गर्ने, गाडी दुरुपयोग गर्ने काम भइरहेको रजिष्ट्रारसँग भने । ‘भिसिको सल्लाहकारलाई महिनौं दिनसम्म भिआइपी गेष्ट हाउसमा राखेर खुवाउन मिल्दैन । मोवाइल पनि १ लाख २७ हजारको आइफोन किनेर चलाउन पाइदैन । हाकिमहरु प्रतिष्ठानको सवारी साधन प्रयोग गरे सब्जी किन्न, माछा किन्न कोशीसम्म जाने गरेका छन्, त्यो रोकिनुपर्छ । ’उनले भने ।

रजिष्ट्रार डा.रेग्मीले ज्यालादारी कर्मचारीहरुका कतिपय माग पदाधिकारीहरु बसेर समाधान गर्न सकिने बताएका छन् । उनले कार्यकक्षमा आएका दैनिक ज्यालादारी कर्मचारीहरुलाई कोरोना विमा भइसकेको बताउँदै प्रतिष्ठानको आर्थिक अवस्था कमजोर भए पनि दशैं पेस्की र असोजको तलब समयमा नै खुवाउने प्रयास भइरहेको बताएका थिए । भने, कर्मचारीहरुका जायज माग संवोधन गर्न प्रतिष्ठानका पदाधिकारीहरुसँग आवश्यक सल्लाह सुझाव लिएर काम गर्ने बताएका छन् ।

तस्विरहरूः भरतराज शर्मा (गाेपाल)

प्रतिक्रिया