वीपी प्रतिष्ठानका सुरक्षा गार्ड चोरीमा संलग्न, विरामीको ५० हजार चोरेको आरोपमा गार्ड पक्राउ

धरान । वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सुरक्षा गार्ड आफैं चोरीमा संलग्न भएको पाइएको छ ।

प्रतिष्ठानमा उपचारार्थ आउने बिरामी र तिनका आफन्तहरुले मोवाइल, पर्स, सुनचाँदी जस्ता महत्वपूर्ण सरसामान हराउने गरेको गुनासो पहिले देखिनै थियो । प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको भिआइपी सेक्यूरिटी सर्भिसेजले समेत पीडितहरुको समस्या समाधान गर्न चासो दिएको थिएन ।

तर, सर्जरी युनिट ३ की एक महिला बिरामीको कुरुवाको नगद ५० हजार प्रतिष्ठानकै सुरक्षामा खटिएका सुरक्षागार्डले चोरी गरेको खुलेपछि प्रतिष्ठानको सुरक्षा सिष्टममै प्रश्न चिन्ह उठेको छ । सर्जरी विभागमा उपचाररत बिरामीका कुरुवाको साथमा रहेको नगद ५० हजार रुपैया चोरी गरेको अभियोगमा धरान ११ शिबजी चौकका ३६ वर्षीय सुरज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

श्रेष्ठले गएराती एक बजेतिर प्रतिष्ठानको सर्जरी युनिट ३ की दिलकुमारी राईको पर्सबाट नगद ५० हजार चोरी गरेका हुन् । बिरामी तथा तिनका कुरुवाहरु निदाइरहेको बेला पर्स चोरी गरेको विरामीका कुरुवाले बताएका छन् । ‘१ बजेतिर चोरी भएको हो, हाम्रो क्याविन भन्दा पल्लो पट्टीको दाईले पर्स निकालेर ट्वाइलेटमा गएर पैसा निकालेर पर्स स्टोरमा फ्यालेको देख्नु भएको रहेछ, पछि त्यहि दाईले डाक्टररुलाई भनेपछि मात्र थाहा भयो ।’ दिलकुमारी राईले भनिन् ।

पछि हल्लाखल्ला गर्दै सोधखोज गर्ने क्रममा ती सुरक्षा गार्डले पर्स चोरेको स्वीकार गरेका थिए । श्रेष्ठको साथबाट नगद १० हजार बरामद भएको इलाका प्रहरी कार्यालयका हेमराज ओलीले जानकारीले दिएका छन् । प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको भिआइपी सेक्यूरिटी सर्भिसको सेवा प्रति चर्को असन्तुष्टि छ । ठेक्कामार्फत वीपी प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको कम्पनीले गतिला गार्डहरु नराखेको आरोप छ ।

यसअघि पनि पटकपटक विवादमा आइरहेको सुरक्षाको विषयमा प्रतिष्ठान समेत गम्भिर नभएको देखिएको छ । भिआइपी सेक्यूरिटीका कतिपय सुरक्षा गार्डहरु दिउसै मादक पदार्थ सेवन गरेर आउने, समयमै डिउटी नगर्ने तथा प्रतिष्ठानमा उपचारार्थ आउने विरामी र तिनका आफन्तलाई दुव्र्यहार गर्ने गुनासो छ । प्रतिष्ठानका तत्कालिन कार्यवाहक उपकुलपति डा. गुरु खनालले भिआइपी सेक्यूरिटीलाई प्रतिष्ठानको सुरक्षाको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया