‘जनताको ट्याक्स, नेतालाई रिल्याक्स’

  • धनबल राई

काठमाडौं । प्रदेश नं. ५ को प्रदेश सभा बैठक चल्दै थियो । प्रमुख प्रतिपक्ष तथा असन्तुष्ट नेपाली कांग्रेसका केही सांसदहरुले कुर्सी उचालेर टेबलमा बजार्न थाले । टेबलमाथि स्ट्याण्डमा अड्याइएका माइकसमेत झर्यामझुरुम पारेका उनीहरु नितान्तः स्वार्थपरायण देखिन्थे ।

जनताको कर (ट्याक्स) मै रजाइँ गरिरहेका उनीहरु जनताकै ट्याक्सबाट खरिद गरिएका सामग्री फुटाल्नमा पनि खुबै माहिर देखिए । के यो एउटा जनप्रतिनिधिसँग हुनैपर्ने गुण हो र ? के यी हर्कतहरुलाई कांग्रेस आफैँले भनेजस्तै रचनात्मक प्रतिपक्ष भन्न मिल्छ ?

बैठकको शुरुमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव पेश गर्न दिएको समयभरि नाराबाजीमा रमाएका उनीहरु त्यसपछि जनताको ट्याक्सबाट खरिद गरिएको सामग्री तोडफोड गर्नमा हौसिए ।

असन्तुष्ट पक्षको बीचमा बल्लतल्ल छिरेर रोष्टमसम्म पुग्न सफल भएका मन्त्री केसीले जब प्रस्ताव पेश गरे, तब देखियो लोकतन्त्रका जनप्रतिनिधिको सच्चा हर्कत । उनीहरुको त्यो हर्कतले सुनाउँदै थियो–‘भो अब नेपालमा संघीयता पुग्यो ।’

प्रदेशको स्थायी राजधानी दाङको भालुभाङ र नाम लुम्बिनी बनाउने प्रस्तावपछि छचल्किएका कांग्रेस सांसदहरुको राजनीतिक आक्रोश अरुको लागि मात्रै नभएर उनीहरु आफ्नै लागि पनि घातक देखिन्थ्यो । सांसदहरु सिउद्दिन खा, अष्टभुजा पाठक र बैजनाथ कलवारले जनताको ट्याक्समाथिको मनोमानीले उनीहरुको बुद्धिमता पनि मज्जैले झल्क्यायो ।

के एउटा नेतृत्वको जिम्मेवारी र उत्तरदायित्व नै भुलेर स्वार्थसिद्धको लागि लागीपरेका यस्ता जनप्रतिनिधि कुनै पनि जनतालाई चाहिन्छ र ?

बुटवलमै प्रदेश राजधानी बनाउनुपर्ने अडान राख्दै आएका उनीहरुलाई पनि थाहा हुनुपर्ने होकि, भौगोलिक हिसाबले हेर्ने हो भने सबैको पायक पर्ने स्थान प्रस्तावित क्षेत्र नै हो ।

चुनावताका गर्ने नसकिने कामको कबुल गर्ने अनि अहिले जनताको आँखामा छारो हाल्नको लागि यस्ता कर्म गर्ने जनप्रतिनिधि लोकतन्त्रका घाँडोहरु हुन् ।

तोडफोडमा संलग्न उनीहरु तीनै जना त्यहीँबाट निर्वाचित सांसदहरु हुन् । कलवार नवलपरासी पश्चिम २ ‘ख’बाट निर्वाचित भएका हुन् भने पाठक रूपन्देही ४ ‘क’बाट निर्वाचित सांसद हुन् । यस्तै खा रूपन्देही ४‘ख’बाट निर्वाचित भएका हुन् ।

उनीहरु सबैले प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने अडान राख्दै आएका थिए । आफूहरुले चाहेजस्तो नभएपछि उनीहरुले यस्तो हर्कत देखाएका हुन् ।

प्रतिक्रिया