३ करोड २० लाख बढी लागतमा कार्यालय भवन बनाउँदै कामनपा वडा २२

काठमाडौं । काठमाडाैं महानगरपालिकाकाे वडा २२ काे कार्यालय भवनकाे शिलान्यास गरिएकाे छ । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, संघीय संसद सदस्य कृष्ण गोपाल श्रेष्ठ, वडाध्यक्षध्यक्ष चिनीकाजी महर्जनले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।

भवन निर्माणको लागत इष्टिमेट ४ करोड १९ लाख ७३ हजार २३३ रुपैयाँ १८ पैसा थियो । खरिद प्रक्रियामा आएका प्रतिस्पर्धीमध्ये के एण्ड के. जी. रमिता कन्स्ट्रक्सन प्रा. लि. ले ३ करोड २० लाख १४ हजार २१४ रुपैयाँ ८७ पैसामा निर्माण कबोल गरेपछि भवन निर्माणको जिम्मा उसैलाई दिइएको छ ।

भवन २०७८ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने- ‘आफ्नै कार्यालय भवनबाट सेवा दिने महानगरको नीति कार्यान्वयन भइरहेको छ ।’
वडा २२ को भवन ६ जना व्यक्ति अट्ने लिफ्टसहितको भवन ६ तलाको हुनेछ । इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार जग्गा ३ आना जग्गामा निर्माण हुने भवन ६ हजार ३१६ स्क्वायर फिट क्षेत्रफलको हुनेछ । पाँचौँ तलासम्म भवनका हरेक तलामा ४ वटा कोठा हुनेछन् भने माथिल्लो तलामा बैठक कक्ष हुनेछ ।

नयाँ वडा भवन बनाउने कार्यक्रमअन्तर्गत वडा ९ र २६ का नयाँ भवन सञ्चालनमा आइसकेका छन् । वडा ३, ४ र १४ को भवन निर्माण सम्पन्नको चरणमा छन् । वडा ६ को भवन निर्माणका क्रममा डिपिसि चरणमा पुगेको छ । भवन निर्माणकर्ता छनौटका लागि वडा २, १२, २१, २९ र ३२ खरिद प्रक्रियामा छन् भने वडा २० र १६ को डिजाइन सकिएर खरिद प्रक्रियामा जाने चरणमा पुगेको छ । वडा २३ र ३० को जग्गा खरिद गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया