१२ नं. सीमा स्तम्भ : पुनर्निर्माणबारे यसो भन्छन् स्थानीयदेखि सीमाविद्

  • धनबल राई

काठमाडौं । छिमेकी देश भारत र चीनसँग जोडिएका नेपाली सीमामा बेलाबेला तनाव हुने गर्छ । विशेषगरी भूमि अतिक्रमण, सीमास्तम्भ परिवर्तन/स्थानान्तरणजस्ता विषयले कहिलेकाहीँ प्रसय पाउने गरेको छ । यसैबीच नेपालको हुम्लाको उच्च स्थानमा चीनसँगको सीमामा रहेको १२ नं. सीमा स्तम्भ [पीलर] पुनर्निर्माण गरिएको पाइएको विषय अहिले बाहिर आएको छ ।

सीमा निरीक्षणका लागि हुम्लाको लाप्चा क्षेत्रको ललुङजोङ पुगेको स्थानीय जनप्रतिनिधिसहितको टोलीले सीमा स्तम्भ पुनर्निर्माण गरेको फेला पारेको सम्बन्धित अवस्थित क्षेत्र नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले मकालु खबरसँगको कुराकानीका क्रममा भनेका छन् । “म पनि त्यहाँ पुगेको थिएँ । म त्यहाँ चार दिनअगाडि जाँदा पुनर्निर्माणको केही अवशेषजस्तो भने हामीले देखेका छौं । यद्यपि पनि त्यसलाई पनर्निर्माणै भन्न चाहिँ मिल्ने कि नमिल्ने भन्नेबारे अन्यौल नै छौं ।” अध्यक्ष तामाङले मकालु खबरसँगको जिज्ञासामा भनेका छन्, ‘हामीले देख्न भने टुटे फुटेका सिमेन्ट, गिटी, बालुवालगायतका अंशहरु भने देखेका थियौं । त्यसलाई पुनर्निर्माण नै हो भनेर दावी गरिहाल्ने स्थिति भने अहिले छैन ।’

अध्यक्ष तामाङका अनुसार टुटे फुटेका केही गिटी, बालुवाको डल्लिएको अंशसँगै अर्को अलिक नयाँ देखिने सिङ्गै सीमा स्तम्भ पनि देखिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय, हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले पनि आफूहरु त्यहाँ पुग्दा जस्तो देखिएको त्यस्तै प्रतिवेदन बनाएर गृह मन्त्रालय पठाइएको जानकारी दिए । “हामी त्यहाँ पुग्यौँ र जस्तो देख्यौँ त्यस्तै प्रतिवेदन बनाएर गृह मन्त्रालय पठाएका छौं ।” मकालु खबरसँग प्रजिअ गिरीले भनेका छन्, ‘पुनर्निर्माण नै हो भनेर दावी गरिहाल्ने बेला पनि होइन यो । सीमासम्बन्धी विषयमा धेरै बोल्नु पनि हुँदैन ।’

पुनर्निर्माणको विषयमा बुझ्न खोज्दा प्रजिअ गिरीले आफूले गृह मन्त्रालय पठाएको प्रतिवेदनले नै सबै कुरा बोल्ने र अहिल्यै सबै कुरा सञ्जालीकरण नगर्ने बताए । उनले भनेका छन्, ‘हामी प्राविधिक होइनौं, हामीले जे देख्यौँ, त्यहीँ नै रिपोर्टिङ्ग गरेका छौं ।’ प्रजिअ गिरीले सीमासम्बन्धी विषयमा धेरै बोल्नु ठीक नभएको बताउँदै सबै कुरा प्रतिवेदनमै रहेको बताए ।

यता नापी विभावले भने सन् २००५/६ देखि अहिलेसम्म सीमामा कुनै खालको सीमा स्तम्भ नबनाइएको बताए । मकालु खबरले राखेको जिज्ञासामा विभागका सूचना अधिकारी दामोदर ढकालले भनेका छन्, ‘मलाई विगत १६/१७ वर्षयता नयाँ सीमा स्तम्भको निर्माण भएको जानकारी छैन । सन् २००५/६ देखि कहीँ पनि सीमा स्तम्भहरु बनेको छ जस्तो मलाई लाग्दैन । यसबीचमा कुनै पनि कहीँ पनि नयाँ सीमा स्तम्भ तथा पुनर्निर्माण भएको मलाई थाहा छैन र भएको पनि छैन ।’

यस्तै अधिकारी ढकालले विभागबाट सन् विगत १५/१६ वर्षयता सीमा मर्मत, रंगरोगन तथा निर्माणको लागि टोली नपठाएको जानकारी दिए । ‘मलाई जानकारी छैन कि, नापी विभागले सन् २००५/६ मा सीमा पुनर्निर्माण मर्मतका लागि संयुक्त टोलीका लागि प्रतिनिधि पठाएको थियो । त्यसपछि सर्वेक्षकको टोली विभागले पठाएको मलाई जानकारी छैन ।’ उनले भनेका छन् ।

गाउँपालिका अध्यक्ष तामाङले भने उक्त क्षेत्रका स्थानीयहरुलाई उदृत गर्दै पुनर्निर्माण गरेजस्तो देखिएको बताएका छन् ।   उनका अनुसार स्थानीयहरुले आफ्नो वस्तीबाट टाढा रहेकाले कहिले पुनर्निर्माण भयो भनेर यकिन नभए पनि पुनर्निर्माण गरिँदा फालिएको केही गिटी, बालुवा तथा रडहरुको भग्नावशेष फेला परेको बताए ।

यता सीमाविद् बुद्धिनारायण श्रेष्ठले भने सीमा स्तम्भको विषय गहकिलो विषय भएको बताउँदै कुनै पनि देशले एक पक्षीय ढंगले सीमा रंगरोगनसमेत गर्न नपाउने स्पष्ट पारे । ‘स्तम्भ मर्मत, रंगरोगन, पुननिर्माणलगायतका कार्य कुनै पनि देशले एक पक्षीय ढंगले गर्न नपाउने व्यवस्था छ ।’ सीमाविद् श्रेष्ठले मकालु खबरसँग भनेका छन्, ‘एकतर्फी रुपमा कुनै पनि देशले अन्तर्राष्ट्रिय सीमा चलाउन पाउँदैन ।’

यसअघि उक्त क्षेत्रमा ११ नं. सीमा स्तम्भको बारेमा पनि समाचार बाहिरिएको थियो । विगत ५८ वर्षपछि हराएको भनिएको उक्त सीमा स्तम्भ हिउँले पुरिएको अवस्थामा भेटिएको थियो । त्यसपछि पुनः १२ नं. सीमा स्तम्भको कुरा बाहिरिएको हो । चीनसँगको सीमामा बेलाबेला यस्तै तनावहरु भइरहन्छन् ।

केही दिनपहिले चीनले सीमानजिक नेपाली भूमिमा आफ्नो भवनहरु बनाएको भन्ने समाचार बाहिरिएको थियो । हुम्ला जिल्लाको लिमी गाविसको ललुङजोममा एकतर्फी बनाएको भनिएको भवनबारे चीनले आफ्नै भूमिमा बनाएको बताए पनि काठमाडौंस्थित चिनियाँ दूतावासअगाडि ‘ब्याक अफ चाइना’को नारा घन्किएको थियो ।

प्रतिक्रिया