पौडेल समूहको अल्टिमेटम : कांग्रेसमा छलफल शुरु

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवालाई दिएको अल्टिमेटमबारे छलफल शुरु भएको छ । आफूले उठाएको माग सम्बोधन गर्न पार्टी सभापतिलाई दिएको एक हप्ते अल्टिमेटमबारे कांग्रेसमा छलफल शुरु  भएको हो ।

मागबारे देउवाले शनिबारदेखि आफू निकटका नेता तथा केन्द्रीय नेताहरुसँग छलफल शुरु गरेका छन् । पौडेल समूहको माग र १९ गतेको केन्द्रीय समिति बैठकबारे छलफल गर्न आइतबार (आज) बैठक बोलाइए पनि केही नेताहरुमा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित भएको थियो ।

पौडेल पक्षले १२ गते एक हप्ताभित्र आफ्ना माग पूरा नगरेमा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएको थियो । यस्तै उसले आफ्नो माग सम्बोधन गर्नैपर्ने पनि बताएको थियो ।

पौडेल समूहले पछिल्लो समयमा देउवाले ‘एकलौटी’ रुपमा गठन गरेका विभाग तथा पुराना विभागमा भएका केही नयाँ नियुक्ति सच्याउनुपर्ने, बाँकी जिल्लामा समायोजनको बाँकी काम छिटो सक्नुपर्ने र आफूखुसी क्रियाशील सदस्यता बाँड्ने काम रोक्नुपर्ने माग गर्दै आएको छ ।

प्रतिक्रिया