‘क्याटरिङ्ग तथा पार्टी प्यालेस सञ्चालन गर्न दिनुपर्ने माग’

काठमाडौँ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासङ्घले क्याटरिङ्ग तथा पार्टिप्यालेस सञ्चालनमा रोक लगाउनु खेदपूर्ण भएको भन्दै तत्काल सञ्चालन अनुमति दिन सरकारसमक्ष आग्रह गरेको छ । आज (शनिवार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले आफूहरुको व्यवसाय सञ्चालन गर्न रोक लगाइएकोमा पूर्ण खेद जनाएको छ ।

महासंघले भनेको छ,‘नेपाल सरकारले क्याटरिङ्ग तथा पार्टिप्यालेस जस्तै समान प्रकृतिका व्यवसाय (होटेल, रेष्टुरेन्ट, सपिङ्ग मल र पूर्ण रूपमा हवाई उडानका साथै यातायात) लगायत सञ्चालनको अनुमति दिँदा पनि हाम्रा क्याटरिङ्ग तथा पार्टी प्यालेस सञ्चालनमा रोक लगाउनु अत्यन्तै खेदपूर्ण रहेको छ ।’

कार्यक्रममा महासंघका अध्यक्ष लिलाबहादुर जिसीले व्यवसाय व्यवसायीको लागि मात्रै नभएर राज्यको लागि भएको उल्लेख गर्दै यथाशक्य चाँडो पार्टी प्यालेस तथा क्याटरिङ खुलाउनुपर्ने धारणा राखे । उनले भने,‘व्यवसाय व्यवसायीको लागि मात्रै होइन, यो त राज्यको लागि हो । कुन अर्थमा भने–हामीले तिरेको करबाट अर्थतन्त्र बलियो बन्छ । बेरोजगारीको अन्त्य हुन्छ । व्यवसायीहरूले बैङ्क तथा वित्तीय संस्थाबाट लोन लिएर काम गरेका छौँ । यसले गर्दा बैङ्क तथा वित्तीय संस्था पनि सस्टेनको लागि टेवा पुग्छ ।’

उनले आफूहरूको व्यवसायजस्तै समान प्रकृतिका व्यवसाय सञ्चालन भइरहेको अवस्थामा पार्टी प्यालेस चाहिँ बन्द गरिनु दुःखद पक्ष भएको टिप्पणी गरे । उनले भने,‘यसले ठुलो असर पुर्‍याउँछ । हामीले गृहमन्त्रीज्यूलाई गत साउन १३ गते नै हाम्रो व्यवसाय सञ्चालनको लागि ज्ञापन पत्र बुझाएका थियौँ । उहाँले सुचारु गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । त्यस्तै, गत असोज ११ गते सिसिएमसी पनि निवेदन दर्ता गराएका थियौँ । उहाँहरूले व्यवसाय सुचारु गर्छौ भन्नुभएको छ । यसको लागि सिसिएमसीले मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेको छ । मन्त्रिपरिषदबाट अब स्विृकत हुनुपर्छ ।’

व्यवसायीका विषयमा सरकार र सरोकारवाला निकायले गम्भीरता नदेखाउँदा सिङ्गो अर्थतन्त्र र बेरोजगारीको समस्या मुलुकले झेलिरहेको र व्यवसायी पलायन भई बैङ्क तथा वित्तीय संस्थाहरू समेत डुब्ने स्थिति रहेको महासंघको भनाई छ ।

महासंघले आफूहरू आम जनताको स्वास्थ्यप्रति अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै अब व्यवसाय सञ्चालन गर्दा आवश्यक भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क र ग्लभ्स प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै, पार्टी प्यालेसहरूका हलको क्षमताको आधारमा हाललाई ३५ प्रतिशत नबढ्ने गरी कार्यक्रम स्थलका प्रवेश गराई व्यवसाय सञ्चालन गर्न पनि आफूहरू तयार रहेको महासंघले स्पष्ट पारेको छ ।

महासंघले व्यवसाय सञ्चालनको लागि कार्यक्रम स्थलमा प्रवेश गर्ने पाहुनाहरूको नाम, ठेगाना र सम्पर्क नं. लिपिबद्ध गरी राख्न तयार रहेको, पार्टी प्यालेसभित्र रहेका शौचालय लगायतका स्थानहरूमा कार्यक्रम अवधिभर पटक–पटक सेनिटाईज गर्न तयार रहेको, पाहुनाहरूलाई खाजा तथा खाना खाने समयमा टेबुलहरूलाई भौतिक दुरीको आधारमा राखी एउटा टेबुलमा दुई जना मात्र राख्न तयार रहेको, कार्यक्रम समाप्त भइसकेपछि हललाई पूर्ण रूपमा सेनीटाईज गर्न तयार रहेको, पार्टिप्यालेसमा रहेका कर्मचारीहरूको आवश्यकता अनुसार व्यवसायीहरूले नै पि.सि.आर. टेस्ट तथा स्वास्थ्य जाँच गर्न तयार रहेको र कार्यक्रम स्थलमा अनावश्यक रूपमा भिडभाड र कोलाहल हुनबाट रोक्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया