बाजुरामा आमासहित चार छोराछोरी वेपत्ता, नदीमा हाम फालेको प्रारम्भिक अनुसन्धान

बाजुरा । दुर्गम जिल्ला बाजुराको हिमाली गाउँपालिका ५ स्थित कवाडीमा शुक्रबार चार छोराछोरीसहित आमा बेपत्ता भएकी छिन् ।
रुगीन गाउँमा घर भई कवाडीमा बस्दै आएका स्थानीय धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्ता नेपाली र उनकी ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मती बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराले आमाले छोराछोरीसहित कवाडी नदीमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
डिएसपी मनजीत महराले भने, ‘एउटा बच्चाको चप्पल र लुगा कवाडी नदीको किनारमा भेटिएको खबर छ, नेपाली सेना, प्रहरी र स्थानीयले नदी र वरपर संयुक्त रुपमा खोजी कार्य गरिरहेको भए पनि अहिलेसम्म भेटिएका छैनन् ।’
कवाडी बजार कवाडी नदी र कर्णाली नदीको संगमस्थल नजिकै पर्दछ । प्रहरीले उनका श्रीमान् धर्मलाई नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान सत्ता नेपाली गाउँमा खलो माग्न गएका थिए । उनी गाउँबाट फर्किंदासम्म घरमा श्रीमान्ले खाना नपकाएकाले श्रीमान् श्रीमतीबीच खटपट भएको थियो ।
सासुले छोरा बुहारीको खटपटपछि बुहारी बच्चाहरुलाई लिएर नदीतिर लागेको देखेको बताएकी छिन् । दलित समुदायका विपन्न परिवारहरुले खेती पाकेपछि घरघरबाट अन्न माग्ने चलनलाई खलो प्रथा भनिन्छ । बाजुराका सबै गाउँतिर खलो माग्ने परम्परा विद्यमान छ ।








