रत्ननगरमा ३१६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

चितवन । चितवनको ठुलो नगरपालिकाको रुपमा रहेको रत्ननगरमा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । कोरोना भाइरस संक्रमण देखिए यता शुक्रबारसम्म ३१६ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

जसमध्ये ७८ प्रतिशत संक्रमित निको भएर घर फर्किएका नगरपालिकाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । स्वास्थ्य शाखा प्रमुख माधव पौडेलका अनुसार हालसम्म १ हजार ४४४ जनाको पीसीआर नमुना परिक्षण गरिएकोमा ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।

ती मध्ये २४८ जना अर्थात ७८ प्रतिशत निको भएको र ६५ जना बिरामीमा कोरोना सकृय रहेको पौडेलले बताए । जसमध्ये ५७ जना होम आइसोलेसन, ५ जना सामुदायिक आइसोलेसन र ३ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरु सबै लक्षण बिहिन रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए ।

कोरोना संक्रमणका कारण रत्ननगरमा हाल सम्म ३ जनाको अर्थात् १ प्रतिशतको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला हुन । रत्ननगरमा हालसम्म ३९५ जना सामुदायिक क्वारेन्टाइन, ३१० जना होम क्वारेन्टाइनमा बसिसकेका छन् भने ४०५ जनाको आरडिटी परिक्षण गरिएको छ ।

रत्ननगरमा दुई वटा उद्योगमा संक्रमण फैलिएको कारण संक्रमितको संख्या धेरै देखिएको रत्ननगरका मेयर नारायण वनले बताए । मेयर वन स्वयम्मा कोरोना संक्रमण देखिएर निको भइसकेको छ । रत्ननगरमा सबै भन्दा धेरै वडा नम्बर १४ मा ६५ जना र सबैभन्दा कम वडा नम्बर ६ मा १ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।

प्रतिक्रिया