हल्लाको पछि नलाग्नुस्, पुनः लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पुनः लकडाउन नहुने बताएका छन् । व्यवसायिक प्रतिनिधि मण्डलसँगको आजको भेटमा मन्त्री ढकालले पुनः लकडाउन नहुने बताएका हुन् ।

मन्त्रालयले असोज ७ गते सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गर्न सिफारिस गरेको थियो ।

आज राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) का अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलसँग कुरा गर्दै मन्त्री ढकालले लकडाउनको विषयमा आएको समाचारमा सत्यता नभएको बताउँदै सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा नरहेको जानकारी गराएका छन् ।

उनले सीमित श्रोत र साधनका बाबजूद सरकार अधिकतम सेवा पुर्याउन प्रयासरत रहेको भन्दै आमनागरिकले निर्धारित मापदण्डको पालना गर्न सहयोग गर्नुपर्ने बताए ।

प्रतिनिधि मण्डलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवम् राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष एव राष्ट्रिय व्यवसायिक पहलका कोषाध्यक्ष दिपक मलहोत्रा, रेष्टुरेन्ट तथा वार एशोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारी एवं होटल एशोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

अध्यक्ष जोशीले कोरोना महामारी नियन्त्रणको लागि सरकारले जारी गरेको ६ महिना भन्दा लामो लकडाउनका कारण सम्पूर्ण व्यवसायिक क्षेत्र धराशायी भएको बताउँदै मुलुकले अब थप अनिश्चितकालीन बन्द थेग्न नसक्ने भन्दै यसको विकल्पमा ध्यान दिन सरकारसंग आग्रहका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी अर्थतन्त्रलाई जोगाउन अल्पकालीन तथा दीर्घकालीन योजना, राहत तथा पुर्नउत्थानका कार्यक्रमका साथ सरकार अघि बढ्नुपर्ने बताए ।

 

प्रतिक्रिया