ओली–दाहालबीचको वार्ता सकियो, भोलि सचिवालय बैठक बस्ने

काठमाडौं । शनिबार (भोलि) नेकपा सचिवालय बैठक बस्ने भएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आजको भेटवार्तापछि भोलिका लागि सचिवालय बैठक बस्ने तय भएको हो ।

बैठक भोलि अपराह्न ४ बजे बस्ने श्रोतले बताएको छ । श्रोतका अनुसार आजको भेटमा अध्यक्ष प्रचण्डले राजदूत नियुक्तिलगायतका विषयमा असन्तुष्टि पोखाएका थिए भने जवाफमा ओलीले लामो समय राजदूतको पद खाली रहँदा राम्रो सन्देश नजाने भएकाले चाँडो नियुक्ति गर्नुपर्ने भएको बताएका थिए ।

एक सचिवालय सदस्यले मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, मुख्यसचिव नियुक्तिलगायतका विषयमा सचिवालयमा छलफल हुने बताए । उनले भनेका छन्, ‘यी सबै विषयमा अब सचिवालय बैठकमा छलफल हुन्छ ।’

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मी र युवराज खतिवडालाई क्रमसः बेलायत र अमेरिकाका लागि राजदूत नियुक्ति गरेपछि नेकपाभित्रै असन्तुष्टि बढ्दो छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले एकलौटी ढंगले महत्वपूर्ण राजनीतिक नियुक्तिहरु गरेका भन्दै नेकपा वरिष्ठ नेता झलनाथ खनालसँगै अन्य नेता तथा सांसदहरु असन्तुष्टि हुँदै आएका छन् ।

प्रतिक्रिया