डेरामा बस्नेलाई पीसीआर परीक्षण गर्न बाध्य नपार्नू- काठमाडाैं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेरामा बस्नेहरुलाई पीसीआर परीक्षणका लागि दबाब नदिन घरधनीहरुलाई आग्रह गरेको छ । महानगरको जनस्वास्थ्य महाशाखाले एक सूचना जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे ।
पछिल्लाे समय लकडाउन खुलेयता विभिन्न जिल्लाबाट काठमाडाैं फर्किनेकाे संख्या बाक्लिएकाे छ । साे क्रममा काठमाडाैंका घरधनीहरूले जिल्लाबाट फर्किएका डेराबासीलाई पीसीआर परीक्षणकाे रिपाेर्ट देखाएपछि मात्रै भित्र पस्न दिने भनेपछि टेकुमा पीसीआर परीक्षणकाे लाम लागेकाे थियाे ।
घरधनीले गरेकाे साे व्यवहारबारे गुनासाे आएको भन्दै महानगरले त्यसो नगर्न भनेको हो । ‘केही दिन यता काठमाडौं महानगर क्षेत्रभित्र डेरा गरी बसोबास गर्नेलाई घर धनीले अनिवार्य पिसिआर रिपोर्ट आवश्यक पर्ने भन्ने गुनासो आएकाले जवर्जस्ती परीक्षणका लागि बाध्य नपार्न अनुरोध गरिएको छ’, महानगरको जनस्वास्थ्य महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ ।









