मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

काठमाडौं ।

बृद्ध भत्ता ५ हजार पुर्याउने प्रधानमन्त्री ओलीको घोषणा, अन्य सेवा पनि थप 
प्रधानमन्त्री केपी शर्मा ओलीले बृद्ध भत्ता ५ हजार पुर्याउने घोषणा गरेका छन् । आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिक भत्ता ५ हजार पुर्याउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकलाई सरकारले दिँदै आएको अन्य सेवासुविधा पनि पर्याप्त नभएकोले त्यसलाई पनि समयअनुसार परिमार्जन गर्दै लगिने बताकाछन् ।

‘तत्कालीन नेकपा एमालेले १ सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार र्पुयाइएको छ, मैले निर्वाचनअघि नै घोषणा गरेको थिएँ, मेरै कार्यकालमा पाँच हजार र्पुयाउँछु,’ ओलीले भने ।

युवराज खतिवडा र लोकदर्शन रेग्मी भए राजदूत
पूर्वमन्त्री युवराज खतिवडा र मुख्य सचिव लोकदर्शन रेग्मी राजदूतमा नियुक्ति भएका छन् ।

खतिवडा र रेग्मी क्रमस नेपालका लागि अमेरिकी र बेलायती राजदूतमा नियुक्ति भएका हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई राजदूतमा नियुक्ति भएका हुन् ।

खतिवडाको ६ महिने राष्ट्रिय सभाको कार्यकाल गत २० भदौमा सकिएको थियो भने रेग्मीले आजै मात्रै मुख्यसचिवबाट राजीनामा दिएका थिए ।

काठमाडौं उपत्यकामा ९४३ सहित बिहीबार थपिए १, ९११ संक्रमित
कोरोना भाइरस संक्रमणबाट आज ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गोतमले बिहीबारको प्रेस बिफ्रिङका क्रममा यसबारे पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार आजै थप एक हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ९११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै ९४३ जना रहेका छन् । काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा ९६१ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । यस्तै आज क्वारेन्टिनमा ५ हजार ७७ जना छन् । सक्रिय संक्रमित २१ हजार ८३० जनाको उपचार भइरहेको छ ।

शंकरदास बैरागी नयाँ मुख्यसचिवमा नियुक्त
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी नयाँ मुख्यसचिवमा नियुक्त भएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले बैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिइसकेका छन् । उनको कार्यकाल कात्तिक ३ गतेसम्म थियो । कार्यकाल सकिनु केही दिन रहँदै उनले राजीनामा दिएका हुन् ।

मुख्यसचिवबाट राजीनामा दिएका रेग्मीलाई सरकारले बेलायतका लागि राजदूतमा नियुक्त गरेको छ ।

प्रहरीको नक्कली पोसाक लगाएर ‘नक्कली’ परीक्षा सञ्चालन
राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा सञ्चालन गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजय कुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका(५ कुमाल टोलस्थित देव पार्टी प्यालेसमा उक्त अनुसन्धानको सहायक सूचकको परीक्षा सञ्चालन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रायले प्रहरी निरीक्षकको नक्कली पोसाक लगाई परीक्षा सञ्चालन गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उक्त परीक्षामा पुरुष १९ र महिला २ गरी जम्मा २१ जना परीक्षार्थी उपस्थित रहेको भेटिएको छ ।

कोरोना संक्रमणबाट पहिलो पटक चिकित्सकको मृत्यु
कोरोना संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत वरिष्ठ अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो ।

५९ वर्षीय डा. सापकोटालाई कोरोना पुष्टि भएपछि दुई साताअघि उपचारका लागि प्रदेश अस्पतालबाट भेरी अञ्चल अस्पताल नेपालगञ्ज रिफर गरिएको थियो। उनको बिहीबार दिउँसो ३ बजे मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

डा. खड्काले भने,‘कोरोना पुष्टि भएपछि उहाँलाई नेपालगञ्ज रिफर गरेका थियौं, घर पनि उतै भएकाले उपचारमा सजिलो होला भनेर पठाएका थियौं ।’

डा. खड्काका अनुसार उनलाई ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएका थिए । डाक्टर सापकोटालाई मधुमेह र उच्च रक्तचाप पनि थियो ।

अर्थोपेडिक सर्जन सापकोटा १४ वर्षदेखि कर्णाली प्रदेश अस्पतालमा कार्यरत रहेको निर्देशक डा. खड्काले बताए ।

निगम भन्छ – ‘विदेशीले भन्दा नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्’
नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले विदेशी विमानचालकले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको न्यूनतम तलब बढेको हो ।

निगमले विदेशी पाइलटलाई धेरै तलब सुविधा दिएको भनी विभिन्न सञ्चारमाध्यममा तथ्यहीन र आधारहीन समाचार आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति जारी गरी पाइलटको सेवासुविधासम्बन्धी समाचारको खण्डन गरेको छ । केहीदिनयता अनलाइन, प्रिन्ट संस्करण तथा टेलिभिजनमा स्वदेशी पाइलटलाई कम तलब र विदेशीलाई धेरै तलब दिएको भन्दै समाचार सार्वजनिक भएको थियो । साथै स्वदेशीलाई कम उडान दिएर विदेशीलाई धेरै उडान दिएको भन्ने समाचारप्रति पनि निगमले आपत्ति जनाएको छ ।

निगमले कोभिड–१९ महामारीको विषम परिस्थितिमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन र विभिन्न देशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउन नेपाली तथा विदेशी पाइलटहरुको महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।

शेयर बजारमा उत्साह, २०.६१ अंकले बढ्यो नेप्से
साताको अन्तिम दिन आज शेयर बजारमा उत्साह छाएको छ । साताको पहिलो दिन झिनो अंकले बढेको शेयर बजार ३ दिनदेखि लगातार ओरालो झरे पनि आज उत्साहजनक रुपमा उकालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज नेप्से परिसूचक २०.६१ अंकले बढेको छ । १.३३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५७१.०४ अंकमा उक्लिएको छ ।

आज १ सय ९३ कम्पनीका ९९ लाख ३० हजार ८ सय ३० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८० करोड ७७ लाख ८ हजार १ सय ३७ रुपियाँ बराबरको कारोबार भएको छ ।

रियल म्याड्रिडको जितमा भिनियिसको निर्णायक गोल
स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल भल्लाडोलिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भल्लाडोलिडलाई १(० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा भिनिसियस जुनियरले विजयी गोल गरे । रियलले नयाँ सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । जितसँगै अपराजित रहेको रियलको ३ खेलबाट ७ अंक पुगेको छ ।

समान ७ अंक रहेपनि गेटाफे र भ्यालेन्सिया गोलअन्तरमा पहिलो र दोस्रो स्थानमा रहेको छ । भिल्लारियल गोल अन्तमार चौथो स्थानमा छ । पराजित भालाडोलिड २ अंकसहित १८औं स्थानमा छ ।

भारतीय काँग्रेस नेता राहुल गान्धी र नेतृ प्रियंका गान्धी प्रहरी हिरासतमा
भारतीय काँग्रेस नेता राहुल गान्धी र नेतृ प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । बलात्कारको शिकार भएकी युवतीको परिवारलाई भेट्न दिल्लीबाट हाथरस जाने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रहरीले उनीहरूलाई निर्देशन अवज्ञा गरेको आरोपमा यमुना एक्सप्रेसबाट पक्राउ गरेको हो । गत सेप्टेम्बर १४ मा भारतको हाथरस भन्ने ठाउँमा १९ वर्षीया एक दलित परिवारकी किशोरीमाथि सामूहिक बलात्कार भएको थियो ।

बलात्कारपछि गम्भीर अवस्थामा खेतमा फेला परेकी ती किशोरीको उपचारका क्रममा दिल्लीको एक अस्पतालमा मङ्गलवार मृत्यु भएको थियो ।

बलात्कारको आरोपमा सोही गाउँका उच्च जातका ४ जना युवा पक्राउ परेका थिए ।

 

प्रतिक्रिया