मकालु खबर दिनभर : यी हुन्, आजका १० प्रमुख समाचारहरु

बामदेवको मुद्धा हेर्दाहेर्दैमा, शुक्रबार सुनुवाई हुने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभामा नियुक्तिबारे परेको रिटमाथिको सुनुवाई शुक्रबारसम्मलाई लम्बिएको छ ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानून व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको हो ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले सुनुवाई नसकिएकाले शुक्रबारसम्म सरेको जानकारी दिए ।

संसदको विशेष अधिवेशन आह्वान गर्दै कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वान गर्ने भएको छ ।

वर्तमान अवस्थामा सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणको काम प्रभावकारी रुपमा गर्न नसकेको र देशमा भ्रष्टाचार बढेको भन्दै त्यस विषयमा सशक्त आवाज उठानका लागि सरकारलाई दबाब दिन संसदको विशेष अधिवेशन आह्वान गर्ने भएको हो ।

बुधबार (आज) सभापति शेरबहादुर देउवा निवासमा बूढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।

अहिलेको अवस्थामा पनि सरकार मौन रहेको, नागरिकको बेरोजगारीका साथै कोभिडले निम्त्याएका विविध विषयमा परेका जनताका मर्कामा पनि सरकारले कुनै काम गर्न नसकेको भन्दै सरकारलाई दबाब दिनका लागि विशेष अधिवेशन बोलाउनुपर्ने निष्कर्षमा पुगेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

आजको कोरोना अपडेटः थप ७ जनाको मृत्यु, संक्रमित कति थपिए ?
नेपालमा कोरोना संक्रमितका थप ७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा थप १५ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ५७ जना डिस्चार्ज भएका छन् ।

आज थपिएका संक्रमितहरुमध्ये ९०२ जना भने काठमाडौं उपत्यकाका रहेका छन् ।

आईजीपी थापा भन्छन्, ‘निर्मला पन्तको हत्याबारे अनुसन्धान जारी छ, छिट्टै निष्कर्षमा पुग्छौं’
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कार तथा हत्याबारे अनुसन्धान भइरहेको र छिट्टै निष्कर्षमा पुगिने बताएका छन् ।

प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेको प्रश्नको जवाफ दिने क्रममा आईजीपी थापाले यस्तो बताएका हुन् ।

समितिकी सभापति शशी श्रेष्ठले निर्मला प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर जानकारी मागेपछि थापाले छिट्टै निष्कर्षमा पुगिने प्रतिक्रिया दिएका हुन् । यसअघि निर्मला प्रकरणको अनुसन्धानका क्रममा अनुसन्धानमा संलग्न अधिकारीले आरोपितलाई यातना दिएको भनेर अदालतमा मुद्दा परेको थियो ।

कक्षा १२ को परीक्षाबारे विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा
कक्षा १२ को परीक्षाबारे विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिन सक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०–५० प्रतिशत मानी प्रमाणीकरण गर्ने लगायत विकल्पसहित गत महिना नै सुझाव दिएको थियो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रिपरिषद्बाट निर्णय भई नआएम्म यसबारे केही भन्न नसकिने जनाउँदै दिइएका विकल्पबाटै निर्णय हुन सक्ने बताए ।

कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृति सेवा बन्द, अब कहिले खुल्छ ?
वैदेशिक रोजगार विभागको कार्यालयमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृति बन्द भएको छ ।

स्वीकृति सेवा प्रदान गर्ने ताहाचल कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको विभागका महानिर्देशक कुमार दाहालले बताए ।

सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो । असार १८ गतेबाट पुनः श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो ।

शेयर बजार ओरालो लाग्ने क्रम आज पनि रोकिएन
बुधबार (आज) पनि शेयर बजारमा गिरावट आउने क्रम रोकिएन । आज नेप्से परिसूचक ३.१९ अंकले घटेर १५ सय ५०.४३ को विन्दुमा झरेको छ ।

हिजो पनि परिसूचक ४.८३ अंकले घटेका थियो । आज परिसूचक घटेपनि कारोबार रकम भने हिजोको तुलनामा केही बढेको छ ।
आज १ सय ९० कम्पनीको १ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । हिजो १ अर्ब ८२ करोड रुपैयाँको मात्र कारोबार भएको थियो ।

१२ समूह मध्ये विकास बैंक, हाइड्रोपावर, फाइनान्स र म्यूचुअल फण्ड समूहको उपसूचक बढेको छ । अन्य सबैमा गिरावट आएको छ ।

यस्तै, सबैभन्दा धेरै कारोबार हुनेमा क्रमशः नेपाल रि–इन्स्योरेन्स र अरुण केबेली पावर कम्पनी रहेको छ ।

सबैभन्दा धेरै कमाउनेमा भने कामना सेवा विकास बैंक रहेको छ । आज बैंकको शेयर मूल्य १० प्रतितशले बढेर प्रतिकित्ता १ सय ७० रुपैयाँमा कारोबार भएको छ । यस्तै धेरै गुमाउनेमा भने नेपाल फाइनान्स रहेको छ । फाइनान्सको शेयर मूल्यमा भने ६.८७ प्रतिशतले घटेर प्रतिकित्ता २ सय ४४ रुपैयाँमा कारोबार भएको छ ।

दिनहुँ ७ जनाको बलात्कार, चैतयता १२२१ बलात्कृत
कोरोना महामारी शुरु भएपछि दिनमा औषत ७ जनाको बलात्कार हुने गरेको तथ्य सार्वजनिक भएको छ । नेपाल प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार महामारी शुरु भएदेखियता औषतमा ७ जना बलात्कृत हुने गरेको बताए ।

यस्तै उनले एकाधबाहेक अधिकांशलाई कारबाहीको दायरामा ल्याइएको पनि दावी गरे ।उनका अनुसार चैत्रदेखि यता मात्रै १२ सय २१ जना बलात्कृत भएका छन् ।

पछिल्ला दिनमा बलात्कारका घटना बढ्दै गएपछि सर्वसाधारणदेखि सांसदसम्मले दोषीलाई मृत्युदण्ड हुने कानुन ल्याउनुपर्ने माग अघि सारेका छन् ।

कतिपयले हालै जारी गरिएको एसिड अपराधविरुद्धको कानुनजस्तै बलात्कारका घटनामा पनि कठोर सजायको व्यवस्था हुनुपर्ने माग उठाएका छन् ।

अयोध्याधामका लागि माडीले छुट्यायो १०० बिघा जग्गा
चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ ।

नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताए ।

अयोध्याधाम निर्माणका लागि गुरुयोजना निर्माण भएको भन्दै ढकालले डीपीआर निर्माण पनि छिट्टै अघि बढ्ने बताए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार नगरपालिकाले अयोध्याधाम निर्माणका लागि सहजीकरण र व्यवस्थापनको काम निरन्तर गरिरहेको छ ।

सनराइजर्स हैदरावादको पहिलो जित, हा¥यो दिल्ली
इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ ।

अबुधाबीमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो ।
हैदरावादले दिएको १६३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाएपछि हैदरावाद १५ रनले विजयी भएको हो ।

यसअघि टस हारे पहिला ब्याटिंग गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएका थिए ।

योसँगै सनराइजर्स हैदरावादले यस सिजनको आइपिएलमा तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने यस अघि दुई खेल जितेको दिल्लीले पहिलो हार बेहोरेको छ । आज राजस्थान रोयल्स र कोलकोता नाइटराइडर्सबीच खेल हुनेछ ।

अमेरिकी चुनाव : ट्रम्प–बाइडेन बहस– ट्रम्प प्रस्तुतिमा चुके, बाइडेन भद्र देखिए
अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार पहिलो प्रत्यक्ष बहस भएको छ ।

बहसमा राष्ट्रपतिका उम्मेदबारद्वयमध्ये वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी तथा पूर्व उपराष्ट्रपति जोन वाइडेनबीच आरोप प्रत्यारोप भएको छ ।

ट्रम्पको प्रस्तुति राम्रो नभएको र फितलो भएको धेरैले टिप्पणी गरेका छन् भने वाइडेनको प्रस्तुति भद्र र सकारात्मक भएको कतिपयको भनाई छ ।

बहस विषेश गरेर कोरोनाभाइरस, देशको अर्थतन्त्र, रोजगारी, सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति, अन्तर्राष्ट्रिय राजनीतिलगायतका विषयमा केन्द्रित भएको थियो ।

राष्ट्रपति ट्रम्पले कर छलेकोसम्वन्धी समाचार सार्वजनिक भएको र बाइडनले आफ्नो कर विवरण सार्वजनिक गरेकै बेला बहस भएको हो ।

प्रतिक्रिया