कूटनीतिक मर्यादा मिच्दा विवादित बने राजदूत पाण्डे

काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे कूटनीतिक मर्यादा मिचेर अभिव्यक्ति दिएको भनी विवादित बनेका छन् । नेपाल सरकारको परराष्ट्रमन्त्री भइसकेका पाण्डेले चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा भारतबारे नकारात्मक टिप्पणी गरेपछि विवादमा तानिएका हुन् ।

राजदूत पाण्डेले नेपाल–भारत सीमा विवादजस्ता विषयबारे टाइम्सलाई दिएको अन्तर्वार्तामा भारतीय सञ्चारमाध्यमले नकारात्मक समाचार प्रकाशित गरे पनि नेपाल र चीन सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका थिए ।

राजदूत पाण्डेको उक्त अभिव्यक्ति प्रकाशित भएपछि कूटनीतिक जानकारसँगै परराष्ट्र मामिला जानकार तथा नेताहरुले त्यसलाई कूटनीतिक मर्यादाविपरीत भनिरहेका छन् ।

‘आजकल कसले ख्याल गर्छ ?’
पूर्वपरराष्ट्र सचिव तथा कूटनीतिक मामिला विज्ञ मधुरमण आचार्यले सामान्यतयाः एक देशको राजदूतले अर्को देशसँगको सम्बन्धका बारेमा नकारात्मक टिप्पणी गर्न नपाउने बताएका छन् ।

नाम नतोकेर तर राजदूत पाण्डेकै ट्वीट्लाई इङ्गित गर्दै ट्वीट गरेका आचार्यले आजभोलि यसको ख्याल कसैले पनि नगरेको बताएका छन् ।

‘‘सामान्यतयाः कुनै देशका लागि एक राजदूतले अर्को देशसँगको सम्बन्धको बारेमा नकारात्मक कुरा गर्न पाउँदैनन् । यद्यपि बोलिएका कुराहरु तथ्यपरक नै किन नहुन् । ‘तर आजकल कसले ख्याल राख्छ ?’ आचार्यले लेखेका छन् ।
‘राजदूतको अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो ?’

‘सरकारको आधिकारिक धारणा हो ?’ 
राजदूत पाण्डेको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि कांग्रेस नेता गगन थापाले पनि आपत्ति जनाएका छन् । नेता थापाले अन्तर्राष्ट्रिय सम्बन्धजस्तो संवेदनशील विषयमा राजदूतबाट आएको हलुका टिप्पणी सदाका लागि अवान्छनीय हुने बताएका छन् ।

‘अन्तर्राष्ट्रिय सम्बन्धजस्तो संवेदनशील विषयमा राजदूतबाट हलुका टिप्पणी सदा अवान्छनीय हुन्छ । यतिखेर भारत–चीन, नेपाल–भारत र नेपाल–चीन सम्बन्ध यथास्थितिभन्दा अलि फरक र जटिल बन्दै गएको छ । यो समयमा राजदूत पाण्डेको गैरजिम्मेवार अभिव्यक्तिले नेपालको कूटनीतिक कौशलमा समेत प्रश्न उठाउँछ ।’ नेता थापाको टिप्पणी छ ।

यस्तै थापाले आफ्नो फेसबूक स्थितिमा उक्त अभिव्यक्ति नेपाल सरकारको आधिकारिक धारणा होकि होइन भनी प्रश्नसमेत गरेका छन् ।

https://www.facebook.com/thapagk/posts/3472337816143439

प्रतिक्रिया