बामदेवको पक्षमा बहस गर्दै यी १३ वरिष्ठ वकिलहरु, मुद्दा जित्ने सम्भावना कति ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभामा नियुक्तिसम्बन्धी मुद्दामा १३ वरिष्ठ वकिलहरुले बहस गर्दैछन् ।

गौतमको पक्षमा नेपाल बार एसोसियसनका पूर्वअध्यक्षसहित अन्य वरिष्ठ तथा ख्यातीप्राप्त अधिवक्ताहरुले बहस गर्ने भएका हुन् । राष्ट्रिय सभा सदस्य नियुक्तिका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि बुधबार (आज) बहस हुँदैछ ।

वरिष्ठ अधिवक्ता प्राडा युवराज संग्रौलाका अनुसार वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, राघवलाल वैद्य, प्रेमबहादुर खड्का, चन्द्रकान्त ज्ञवाली, कुमार शर्मा आचार्य लगायतकाले बहस गर्दैछन् ।

केसी नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष हुन् भने बैद्य, खड्का र ज्ञवाली संविधानको विषयमा राम्रो बहस गर्ने वरिष्ठ अधिवक्ताका रुपमा परिचित छन् ।

त्रिपाठीको पक्षबाट ९ वकिल 
मुद्दा दायर गर्ने दिनेश त्रिपाठीका पक्षबाट पनि वरिष्ठ अधिवक्ता हरि उप्रेतीसहित ९ भन्दा बढी वकिलले बहस गर्ने त्रिपाठीले मकालु खबरलाई जानकारी गराए ।

“बहस हुन लागेको छ । हामी ९ भन्दा बढी वहिलहरु बसेर बहस गर्दैछौं ।” उनले भने, ‘सबै कुरा बहसपछि थाहा हुन्छ ।’ मुद्दा जित्ने सम्भावनाबारे मकालु खबरले राखेको जिज्ञासामा भने त्रिपाठीले बोल्न चाहेनन् । उनले भने, ‘पहिले बहस होस् अनि सबै कुरा थाहा पाइहालिन्छ नि !’

गत २९ भदौको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो ।

यस्तै उनले १ असोजमा पद तथा गोपनीयताको शपथसमेत लिइसकेका थिए । मन्त्री बनाउने चर्चा चल्न थालेपछि असोज ५ गते त्रिपाठीले सो नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट दायर गराएका थिए ।

सुनुवाइ गर्न संवैधानिक इजलास गठन
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको इजलाशमा गौतमको मुद्दा पहिलो नम्बरमा रहेको छ ।

संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलास गठन भएको छ ।

यसअघि एकल इजलाशले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले गौतमलाई अन्य संवैधानिक जिम्मेवारी नदिन भनेको थियो ।

प्रतिक्रिया