वीपी उपकुलपतिका स्वकीय सचिव आर्थिक विवादमा, ९५० को बिललाई ३३ सय बनाएर पेश गरेको आरोप

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सल्लाहकार तथा स्वकीय सचिव दिलिप भट्टराईलाई कोरोना हस्पिटल निर्माणमा कमिसन खाएको आरोप लागेको छ ।

धरानका एक व्यवसायीले सल्लाहकार भट्टराईलाई डोर क्लोजर मेसिन फिट गरेकोमा बढि विल बनाएको आरोप लगाएका हुन् । भट्टराईमाथि कोभिड अस्पतालको डोर क्लोजर मेशिन फिट गरेको कम्पनीबाट खाली बिल लगेर ज्याला भन्दा ४ गुणा बढी बिल पेश गरेको आरोप छ ।

धरानका दिप्सन ग्रिल उद्योगका सञ्चालक भुपाल राईले आज धरानमा पत्रकार सम्मेलन नै गरी उपकुलपति डा. ज्ञानेन्द्र गिरीका सल्लाहकार तथा स्वकीय सचिव भट्टराईले आफुबाट ७ वटा खाली विल लगेर चार गुणा बढिको विल बनाएर लेखा शाखामा पेश गरेको जिकीर गरेका छन् ।

भुपाल राईका अनुसार करिब ६ महिनाअघि कोभिड अस्पतालमा २५ वटा मेशिन फिट गरेपनि अहिलेसम्म भुक्तानी पाएका छैनन् । तर, उपकुलपतिको सल्लाहकार भट्टराईले ७ वटा खाली बिल लगेर आफुले पाउनुपर्ने भन्दा ४ गुणा बढी मुल्य राखेर बिल पेश गरेको जिकिर गरे । उपकुलपतिका सल्लाहकार भट्टराईले लेखामा पेश गरेको भनिएको बिलसमेत भुपाल राईले सार्वजनिक गरेका छन् । उनका अनुसार एउटा मेशिनको बजार मुल्य ८५० र १०० रुपैया फिटिङ चार्ज गरेर ९५० मा भट्टराईले सिधै डिल गरेका थिए ।

कोभिड अस्पतालको २५ वटा डोर क्लोजर मेशिनको काम सकेपछि भट्टराईले ७ वटा खाली बिल मागेर लगेको राईको भनाई छ । भट्टराईले ३३ वटा बिल पेश गरेको आफुले प्रमाण फेला पारेको पत्रकार सम्मेलनमा उनले भने ‘मलाई अहिलेसम्म पैसा दिएको छैन । माग्दा पनि आज भोली भनेर झुलाको झुलाकै गर्यो । उल्टै तैंले के गर्न सक्छस् भनेर धम्की दियो ।’

भुपाल राईले आफुले लेखामा गएर भुक्तानीका विषयमा सोधखोज गर्दा मात्रै स्वकीय सल्लाहकारले बढि विल बनाएर बिल पेश गरेको थाहा हुन आएको जिकिर गरे । ‘मैले भुक्तानी माग्दै उल्टै धम्की खेपे । त्यसपछि लेखामा गएर बुझ्दा मैले ९५० मा काम गरेकोमा उसले एउटाको ३३ सयको बिल पेश गरेको रहेछ ।’ उनले भने ।

आफुले ९५० को दरले २५ वटा डोर क्लोजर मेशिन फिट गर्दा कुल २३ हजार ७ सय ५० पाउनुपर्ने भएपनि उपकुलपतिको सल्लाहकारले ८० हजारको बिल पेश गरेको उनले जिकिर गरेका छन् । ‘२० हजार माथिको भ्याट बिल काट्नुपर्छ । उसले १९ हजार २ सयको ४ वटा र एउटा ३३ सयको बिल बनाएर लेखामा पेश गरेको रहेछ ।’ राईले पत्रकार सम्मेलनमा भने । प्रतिष्ठानमा सो भन्दा अगाडी राईले नै १२ वटा डोर क्लोजर मेशिन फिट गरेका थिए । त्यसबेला पनि भट्टराईले विल विना भुक्तानी दिएको राईको जिकिर छ । उनले आफुले अहिलेसम्म काम गरेको पैसा नपाएको बताए ।

यता उपकुलपति डा.गिरीका सल्लाहकार भट्टराईले आफुले कुनै गलत काम नगरेको बताएका छन् । उनले प्रतिष्ठान सुधार्न आफुले काम गर्दा स्वार्थ समुहहरु अत्ताल्लिएको बताए । ‘स्वार्थ समुहका कामहरु भएका छैनन् त्यहि भएर अत्तालिएका हुन् । यस्ता कुराले मलाई झन काम गर्ने उर्जा मिलेको छ ।’ उनले भने । भट्टराईले आफुलाई उल्टै भुपाल राईले धम्की दिएको बताएका छन् । भट्टराई र भुपाल राईविचको एक टेलिफोन कुराकानीमा भुपाल राईले काम गरेको भुक्तानी नपाएको भन्दै दिलिप भट्टराईलाई अपशब्द प्रयोग गर्दै गाली गलौज गरेका छन् ।

स्वकीय सचिव वाहेक कसैको विस्वास गर्दैनन् उपकुलपति

त्यसो त स्वास्थ्यमन्त्री भानुभक्त ढकालको कृपाबाट उपकुलपति भएका डा. ज्ञानेन्द्र गिरीका प्रशासनिक सल्लाहकार तथा स्वकिय सचिव भट्टराईले प्रतिष्ठानमा कमाउ धन्धा मच्चाएको आरोप छ । उपकुलपतिको सल्लाहकार र स्वकीय सचिव भएपनि उनले प्रतिष्ठानको हरेक निर्णयमा हस्तक्षेप गर्ने गरेका छन् । यहाँ सम्मकी प्रतिष्ठानका अन्य पदाधिकारी र विभागीय कर्मचारीका कार्यमा पनि उनले हस्तक्षेप गरेको आरोप छ । ‘दिलिप भट्टराईको दादागिरी अत्याधिक बढ्दै गएको छ । उपकुलपति वाहेक सबै उनका लागि ‘भूसुना’ हुन् जस्तो ब्यवहार भइरहेको छ ।’ एक कर्मचारीको भनाई छ ।

प्रतिष्ठान स्रोतका अनुसार उपकुलपति डा.गिरी समेत भट्टराईका अगाडी झुकिरहेका छन् । प्रतिष्ठानमा दिलिप भट्टराईको शान शौकत हेर्दा उनी नै उपकुलपति भएको महशुष हुने कर्मचारीको भनाई छ । ‘उपकुलपति ज्यू प्रतिष्ठान सुधार्नै आउनु भएको होला । हामीले पनि उहाँको व्यक्तित्व हेरेर साथ दिइरहेका छौं तर, उनले आफ्नो सल्लाहकारका रुपमा ल्याएकाले अनावश्यक हस्तक्षेप गर्ने, कर्मचारीलाई धम्क्याउने, खरिद प्रक्रियामा आफैं मोलमोलाई गर्ने गरेका छन् ।’ कर्मचारी प्रशासनका एक कर्मचारीको भनाई छ ।

‘उपकुलपतिले आफु र दिलिप भट्टराई वाहेक कसैको कुरामा विस्वास गर्दैनन् । प्रतिष्ठानको हरेक निर्णयमा उनीहरुको हस्तक्षेप बढ्दो छ ।’ कर्मचारी प्रशासनका एक अधिकृत स्तरका कर्मचारीको भनाई छ । अहिले प्रतिष्ठानभित्र हुने खरिद, टेण्डरमा सल्लाहकार भट्टराई तथा डा. ज्ञानेन्द्र गिरीका भाई अजय गिरीको समेत संलग्नता हुने गरेको छ ।

पछिल्लो समय कोभिड अस्पतालमा प्रक्रिया विपरीत खरिद भएको सामान तथा उपकरणहरुमा पनि व्यापारीसँग मिलेमतोको विवादमा स्वकीय सचिव मुछिएका थिए । प्रक्रिया विपरित भएको खरिदको बिल बनाउन अनावश्यक दबाब परेपछि कोभिड अस्पताल प्रमुख डा. कृष्णा पोखरेलले राजिनामा नै दिएकी थिइन् ।

पछि खरिद शाखा प्रमुख तथा मुल्यांकन समितिका सदस्य सचिव विष्णु चापागाईको पनि ४ महिना नपुग्दै सरुवा गरिएको थियो । इन्जिनियरिङ शाखाका प्रमुख इ. मदन शाहलाई हटाएर उनको स्थानमा सिभिल ओभरसियरलाई ल्याइएको छ ।

प्रतिक्रिया