‘जसपाको ११ प्रदेश मृग मरीचिका जस्तै हो’ सरिता गिरी

काठमाडौं । जनता समाजवादी पार्टीकी पूर्व सांसद सरिता गिरीले जसपाको नेतृत्वमा नेपालमा ११ प्रदेशको स्थापना हुनै नसक्ने बताएकी छन् । सामाजिक सञ्जालमा आफ्ना धारणाहरु राख्दै पूर्वमन्त्री गिरीले जसपाले उठाएको ११ प्रदेशको धारणा कल्पनामा सृजना गरेको मृग मरीचिकाको संज्ञा दिएकी छन् ।

‘जसपाको नेतृत्वमा ११ प्रदेशको स्थापना कहिले पनि हुन सक्दैन । यो जसपाले कल्पनामा सृजना गरेको मृग मरीचिका जस्तै हो ।’ उनले भनेकी छन् ।

भारतले पश्चिम नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि मिचेको सन्दर्भमा नेपालले उल्लेखित भूमिसहितको नेपालको राजनैतिक नक्सा जारी गर्दा प्रतिनिधिसभामा फरक मत राखेपछि संसद पदबाटै बर्खास्तमा परेकी गिरीले जसपाको ११ प्रदेशको नारा भुलावा मात्रै रहेको बताएकी छन् ।

https://www.facebook.com/thesaritagiri/posts/3672401006123574

जनजाति तथा खस समुदायका नेताहरुले मधेशको मतमाथि ग्रहण लगाउन खोजेको गिरीको आरोप छ । उनले जसपाका बरिष्ठ नेताहरुले १० प्रदेश पारित गर्न तैयार पहिलो संविधान सभाको विघटन गराएको समेत आरोप लगाएकी छन् ।

‘जसपाका वरिष्ठ नेताले १० प्रदेश पारित गर्न तैयार संविधान सभाको विघटन गराएकै हुन । किन, आज सम्म जवाफ आएको छैन । मैले संघीय परिषदको बैठकमा पनि यो प्रश्न राखेको थिएँ ।’ गिरीले भनेकी छन् ।

यस्तै उनले पहिचानमा आधारित जसपाको अहिलेको ११ प्रदेश माओवादीको पहिलाको पहिचान सहितको १४ प्रदेशको अवधारणा जस्तै भुलावा मात्र भएको पनि बताएकी छन् । जसपाको अहिलेको १० र १ प्रदेशको अवधारणा मधेशको मतको औपनिवेशीकरणको फर्मूला भएको गिरीको दावि छ ।

प्रतिक्रिया