पदयात्रा र पर्वताराेहणका लागि ताेकियाे मापदण्ड : पीसीआर रिपाेर्ट अनिवार्य, ७ दिन क्वारेन्टिनमा बस्नैपर्ने

काठमाडौं । लामाे समयदेखि बन्द रहेकाे पदयात्रा र पर्वताराेहण मापदण्ड लागु गरी खुला गरिएकाे छ ।

नेपालमा काेराेना संक्रमण सुरू भएयता उद्योग, कलकारखाना, यातायासँगै पदयात्रा र पर्वताराेहण पनि बन्द अवस्थामा थियाे । अहिले लकडाउन खुकुलाे बनाइएसँगै मापदण्ड निर्धारण गरेर पर्वताराेहण पनि खुलाइएकाे हाे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयाता तथा पर्वताराेहणका लागि नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरिसकेकाे छ । साे मापदण्ड अनुसार पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने छन् । उनीहरुका लागि अध्यागमन विभागले अनअराइभल भिसा दिनेछ ।

यस्तै नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान पनि राखिएकाे छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ ।

यस्तै नेपालमा आउने सबै पर्यटक सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने पनि मापदण्डमा उल्लेख छ । क्वारेन्टिनमा बसेको पाँचौ दिनमा पर्यटककै खर्चमा पीसीआर परीक्षण गरिनेछ । मापदण्डमा उल्लेख गरिए अनुसार उक्त परीक्षणमा नेगेटिभ आएमा मात्र पदयात्रा र पर्वतारोहणमा जान सकिने छ ।

पदयात्रा गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेकाे स्वास्थ्य मापदण्ड पनि अनिवार्य पालना गर्नुपर्नेछ ।

प्रतिक्रिया