काेराेना संक्रमणकाे त्रासका कारण अस्पताल आउन छाेडे दिर्घराेगी

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) विश्वव्यापी महामारीको रुपमा फैलिएसँगै पछिल्लो समय अन्य रोगका बिरामीहरु आफु भित्र भएको रोग लुकाएर बस्न बाध्य भएका छन् ।

विराटनगर ९ की ६० वर्षिया सरस्वती दाहाल सुगर, प्रेसर र दमको रोगी छिन् । उनी वर्षौंदेखि तीनै वटा रोगको नियमित औषधी सेवन गर्छिन् । कहिलेकाँही सिकिस्त बिरामी पर्ने गरेको उनी सुनाउँछिन् ।

उनि भन्छिन्,‘कहिलेकाँही त असाध्यै गाह्रो हुन्छ, हामी जस्तो दिर्घरोगीलाई झनै छिटो कोरोनाले भेट्छ रे, त्यहि भएर नियमीत औषधी सेवन गर्छु, व्यायाम गर्छु, घरैमा बस्छु ।’ अहिले अस्पतालमा गए पनि कोरोना परीक्षण नगरी उपचार नै नहुने भएपछि उनलाई अस्पताल जान समेत डर लागेको छ ।

विराटनगर १० का ५५ वर्षिय तेजबहादुर कार्कीले ट्राफिक चौक नजिकैको औषधी पसलबाट महिना दिन पुग्ने औषधी एकै पटक खरिद गरेर लगे । लामो समय देखि प्रेसर र दमको बिरामी रहेको उनी बर्षौं देखि प्रेसर र दमको औषधी नियमीत सेवन गर्दै आईरहेका छन् । कहिलकाँही खानपान नमिल्दा रोगले च्याप्दा अस्पताल नै भर्ना हुनुपर्ने बाध्यता उनको छ । दिर्घरोगीलाई कोरोना संक्रमणको जोखिम उच्च हुन्छ भनेपछि उनी झनै त्रासमा छन् । ‘पहिलेपहिले अस्पताल जाँदा उपचार हुन्थ्यो, अहिले कोरोनाले गर्दा डाक्टरले पनि पिसिआर नगरी उपचार गर्दैन भन्छन्, त्यहि भएर घरैमा बसेर खानपानमा ध्यान दिन्छु, नियमित व्यायाम गर्छु ।’ उनी भन्छन् ।

सरस्वती र तेजबहादुर कार्की हालको अवस्थाका प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता कयौं दिर्घरोगीहरु कोरोना त्रासका कारण नियमित स्वास्थ्य परीक्षण नगरी घरैमा बस्न बाध्य बनेका छन् ।

पछिल्लो समय कोरोना भाइरस कोभिड–१९ को कारण गम्भिर लक्षण निमोनियाको रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका पल्मोनोलजी, क्रिटिकल केयर एण्ड स्लीप मेडिसिन डा. पुरु कोइरालाले बताए । डा. कोइरालाका अनुसार अस्पतालमा अधिकांश स्वास प्रस्वासमा समस्या रहेका बिरामीहरु नै आउने गरेका छन् ।

उनले भने,‘अहिले पनि विराट मेडिकलमा रहेको ७० शैयाको कोभिड हस्पिटलमा धेरै जस्तो निमोनिया भएको, स्वासप्रस्वासमा समस्या भएका बिरामीहरु छन्, उनीहरुको लक्षण हेर्दा र पिसिआर जाँच गराउँदा कोरोना पोजेटिभ आएकाले सोहि अनुसारको उपचार चलिरहेको छ ।’ विराटले स्वासप्रस्वासको समस्या रहेका बिरामीहरुलाई पिसिआरको माध्यम र सिटिस्क्यानको माध्यमबाट उपचार गराईरहेको छ ।

विराटमा कोभिड १९ संक्रमण भन्दा अगाडी ६० प्रतिशत देखि ६५प्रतिशत सम्म श्वासप्रश्वासको समस्या भएका केशहरु आउने गरेको डा. कोइरालाको भनाई छ । ‘पुरानो दमखोकि भएको, क्षयरोगसम्बन्धिका लक्षणहरु, खकारमा रगत जाने, सिटिस्क्यान गर्दा क्यान्सर जस्ता या कुनै इन्फेक्सनका कारणहरु देखिन्थ्यो, भने पछिल्लो ३ देखि ४ महिनामा यस्ता समस्या भएका बिरामीहरु हराएका छन् ।’ डा. कोइराला भन्छन् ।

दिर्घरोगीलाई कोरोना लाग्ने रहेछ भन्ने खाल्का भ्रम फैलिएर रोग सहेर भएपनि घरैमा बस्ने अवस्था सृजना भएको डा. कोइरालाको तर्क छ ।

अहिले विराटको ओपिडीमा दैनिक डेढ सयदेखि दुई सय जना बिरामी आउने र त्यसमा दमखोकी, रुघा, स्वासप्रश्वासको समस्या भएका २ देखि ३ वटा केस मात्रै आउने गरेको छन् । बाँकी सुगर, प्रेसरको सामान्य जाँच गराउन र औषधी लिन मात्रै आउने गरेका छन् ।

कारण गलत प्रचार

पछिल्लो समय कोरोनाका विषयमा सामाजिक सञ्जालमा भएको गलत प्रचार–प्रसारले अधिकांश दिर्घरोगीहरुले रोग दवाएर घरैमा बस्ने गरेको डा. कोइरालाको भनाई छ । श्वासप्रश्वास बढ्दैमा, ज्वरो आँउदैमा, सामान्य रुघाखोकी लाग्दैमा कोराना भाईरसको मिल्दोजुल्दो लक्षण भएकाले घरैमा आईसोलेसनमा लुकेर बस्नुपर्यो भन्ने मानसिकता दिर्घरोगीहरुमा बढेको डा. कोइरालाको भनाई छ ।

डा. पुरु कोइराला, पल्मोनोलजी, क्रिटिकल केयर एण्ड स्लीप मेडिसिन, विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल

उनी भन्छन्,‘बिरामी भएपछि अस्पतालमा पिसिआर जाँच गराउँदा पोजेटिभ आयो भने समस्या हुनेरहेछ भन्ने त्रास बढ्छ त्यसकारण उपचार भन्दा पनि पोजेटिभ आयो भने के होला भन्ने सोंचले मानसिक तनाव हुने भएकाले दिर्घरोगीहरु समेत नियमित स्वास्थ्य परीक्षण गर्नबाट हिच्किचाइरहेका छन् ।’

सिटिस्क्यानबाट उपचार

विराट मेडिकलमा उपचारका लागि आएका कतिपय बिरामीहरुको पिसिआर जाँच नगराई बिरामीको अवस्थाबारे बुझेर उपचार गर्ने गरेको डा. कोइरालाको जानकारी दिए ।

‘बिरामीलाई श्वासप्रश्वासको समस्या छ, ज्वरो रुघाखोकी पनि लागेको छ तर, कोभिड हुने चान्स धेरै कम छ भने हामी ट्राभल हिस्ट्रि सोध्दैनौ । यो एउटा महामारी मात्रै भएकाले बिरामीलाई पुरानो रोग हो या नयाँ बुझेर छातीको सिटि स्क्यान गरेर उपचार गर्छौं ।’ डा. कोइरालाले भने ।

छातीको सिटिस्क्यान गर्दैमा कोभिड–१९ हो भन्ने हुँदैन तर सिटिस्क्यानबाट हेर्दा भाईरल निमोनियाको लक्षण देखियो भने पिसिआर जाँच गराउने गरेको उनले बताए ।

प्रतिक्रिया