काठमाडाैं उपत्यकामा बढ्याे सवारी जाम, जोर-बिजोरमा थालियाे कडाइ

काठमाडौं । काठमाडाैं उपत्यकामा जाेर-बिजाेर प्रणाली प्रभावकारी बनाउन चेकजाँचमा थप कडाइ गरिएकाे छ । दिनहुँ काेराेना भाइरस (काेभिड १९) संक्रमण दर बढ्दै गइरहेका बेला काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले जाेर-बिजाेरमा कडाइ गरेकाे हाे ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदाै २५ देखि जाेर-बिजाेर प्रणाली अनुसार यातायात सञ्चालन गर्ने निर्णय गरेका थिए । साेही निर्णय बमाेजिम चेकजाँचमा कडाइ गरिएकाे हाे । सवारी जाम बढ्न थालेपछि जोर विजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

आज दिउँसो सवा १२ बजेसम्मको तथ्याङ्क हेर्ने हाे भने ट्राफिक कारबाहीमा ८०० भन्दा बढी सवारी परेका छन् । करिब ७ सय मोटरसाइकल र स्कुटर रहेका छन् । होल्ड गरिएको सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ ।

पछिल्लाे समय उपत्यकामा काेराना संक्रमण बढिरहेकाे छ । साेमबारकाे मात्रै अपडेट हेर्ने हाे भने उपत्यकामा ८१७ संक्रमित थपिएका छन् । काठमाडौंका ६४९, भक्तपुरका ३६ र ललितपुरका १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया