‘कांग्रेसमा भोटर मात्रै भएर बसेको धेरै भयो, अब महिलाहरू पदाधिकारी बन्नुपर्‍यो’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ आरजू राणा देउवाले नेतृत्वमा जान महिलालाई पुरूषले नदिएकाे बताएकी छिन् । नेपाल महिला संघले आयोजना गरेको ‘महिलाको नेतृत्व र विधान तथा क्रियाशील सदस्यको सवाल’ भर्चुअल अन्तर्क्रियामा नेतृ देउवाले आरजूले यस्ताे बताएकी हुन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजूले कार्यक्रममा भनेकी छिन्, ‘महिला २१ औं शताब्दीमा पुगिसके तर पुरुष भने अझै १८ औं शताब्दी छन्, पुरुषले गर्ने सबै काम महिलाले गर्न सक्छन् तर पुरुष भने महिलालाई नेतृत्वमा जान दिँदैनन् । पुरुष प्रधान समाजमा अझै पनि महिलालाई अघि बढ्न धेरै गाह्रो छ । ’

यस्तै उनले नेपालको संविधान र कांग्रेस पार्टी विधानमा महिलाको बारेमा धेरै कुरा लेखिएको भए पनि व्यवहारिक कार्यान्वयन हुन नसकेको पनि उल्लेख गरिन् । क्षमता राख्ने महिलालाई पार्टी नेतृत्वले अघि बढाउनुपर्ने उनकाे भनाइ छ । ‘पुरुष हुँदैमा जन्मँदै क्षमता लिएर आउने होइन, सबैकुरा समाजले नै स्थापित गर्ने हो, महिलालाई नेतृत्वमा जान पार्टीले नै छेकेको छ । अब पार्टी संगठनमा कम्तिमा ३३ देखि ४० प्रतिशत सदस्यता पुर्याउनुपर्छ’, देउवाले भनिन् ।

नेतृ आरजुले कांग्रेसमा महिलालाई अहिलेसम्म भोटरमात्र बनाइएको बताइन् । सहमहामन्त्रीमा महिलालाई सीमित गर्न नहुने उनकाे तर्क छ । उनले भनिन्, ‘भोटर मात्रै भएर बसेको धेरै भयो, अब महिलाहरू पदाधिकारी बन्नुपर्‍यो । सभापतिमा भिड्न सक्ने महिला कम होलान् तर अरू पदमा त भिड्न सक्ने छन् नि,’ उनले भनिन् ।

प्रतिक्रिया