विवादपछि रद्ध भयो यो वर्षको पद्यमश्री पुरस्कार र सम्मान

काठमाडौं । यस वर्षको पद्यमश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ । खेमलाल-हरिकला प्रतिष्ठानले एक विज्ञप्ति निकाल्दै यस वर्ष दुवै पुरस्कार रद्द गरिएको बताएको हो ।

विवाद र असहज परिस्थिति भएको भन्दै यो वर्षका लागि घोषित सम्मान तथा पुरस्कारको निर्णय रद्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ । प्रतिष्ठानले गएको ११ असोजमा पद्यमश्री पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’लाई र पद्यमश्री सम्मान मोदनाथ प्रश्रीतलाई दिने निर्णय गरेको थियो ।

तर, उप्रेतीले प्रश्रीतमाथि यौनहिंसाको आरोप लागेको भन्दै शुरुमा एउटै मञ्चमा पुरस्कार नलिने बताएका थिए । तर, पछि विवाद बढ्दै गएपछि पुरस्कार अस्वीकारको घोषणा गरेका थिए । प्रश्रीतले पनि आफ्नो बदनाम गर्न लागिएको भन्दै तत्काल पुरस्कार नलिने घोषणा गरेका थिए ।

दुवै प्रतिभाले पुरस्कार अस्वीकार गर्ने घोषणा गरेकाले आकस्मिक बैठक बसी घोषित पुरस्कार र सम्मान रद्द गर्ने निर्णय गरेको हो । ‘यसबाट पर्न गएको असहजताले हामी अत्यन्त दुःखी छौँ, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पु¥याउने कदापि थिएन । सम्मानित र पुरस्कृत स्रष्टा, साहित्यप्रेमी तथा शुभचिन्तक महानुभावहको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ’ प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।प्रतिष्ठानले २०६३ देखि पद्मश्री साहित्य पुरस्कार र २०६७ देखि पद्मश्री साधना सम्मान दिँदै आएको छ ।

प्रतिक्रिया