विश्वमा निको हुनेको संख्या बढ्यो, २ करोड ४८ लाखभन्दा धेरैले जिते कोरोना

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका २ करोड ४८ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ४८ लाख ७६ हजार १६९ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १० लाख ६ हजार ३३७ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३ करोड ३५ लाख ४६ हजार ६५१ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ९ हजार ८०८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७३ लाख ६१ हजार ६११ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३७ हजार ४१८ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३५५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९६ हजार ३५१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ७७७ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ६९ हजार ६७१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६१ लाख ४३ हजार १९ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४७ लाख ४८ हजार ३२७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३८५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ४२ हजार १६१ पुुगेको छ ।

नेपालमा सोमबार देशभर गरी १,३५१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ७४,७४५ पुगेको छ । नेपालमा अहिलेसम्म ४८१ सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म निको हुनेको सङ्ख्या ५४,६४० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया