सांसद दीपक खड्का ज्यान सवारी प्रकरण : नक्कली चालक खडा, प्रहरी प्रशासन मूकदर्शक

काठमाडौं । गत असोज ७ गतेको मध्याह्न १२:५० बजे त्रिवि शिक्षण अस्पताल अगाडिको जेब्राक्रसिङ्गमा एउटा नम्बर नखुलेको एफजेट (FZ) मोटरसाइकलले बूढानीलकण्ठकी अनुपा कार्कीलाई ठक्कर दिएर भाग्यो । मोटरसाइकलको ठक्करबाट सडकमा लतारिएकी अनुपालाई त्यसपछि बा ११ च ४१४१ नम्बरको गाडीले किचेर भाग्यो ।

मोटरसाइकल र गाडीको ठक्करबाट गम्भीर घाइते भएकी कार्कीलाई हतारहतार शिक्षण अस्पताल लगियो तर, चिकित्सकले उनलाई बचाउन सकेनन् । उनको सोही दिन दिउँसो करिब २ बजेर ५५ मिनेटमा मृत्यु भयो ।

श्रीमतीको निधनबाट स्तब्ध श्रीमान् विक्रम कार्कीले महानगरीय प्रहरी वृत, महाराजगञ्जमा कांग्रेस पूर्वराज्यमन्त्री दीपक खड्काको गाडीले किचेर श्रीमतीको निधन भएको भन्दै किटानी जाहेरी दिए ।

तर, आज किटानी जाहेरी दिएको पाँच दिन बितिसक्दा पनि प्रहरी प्रशासनले उनलाई राहत दिने, न्याय दिने कुनै पहल गरेको छैन । दुर्घटना गराएर भागेकाविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले तदारुकताका साथ खोजतलास गरी पक्राउ गर्नुपर्नेमा उल्टो अपराधीकै संरक्षण गरेको देखिएको छ ।

परिवारद्वारा पूरक जाहेरी
चार दिन बितिसक्दा पनि प्रहरीले अनुसन्धानमा उदासीनता देखाएको भन्दै आक्रोशित बनेको कार्कीको परिवारले न्याय माग्दै ११ असोजमा पूरक जाहेरी दिएको छ ।

सांसद खड्काविरुद्ध वृतमा परेको जाहेरीः–

प्रशासनले अनुसन्धान भइरहेको बताए पनि कुनै खालको पहल नभएको भन्दै पीडित परिवारले पूरक जाहेरी दिएको हो ।

प्रहरीद्वारा ढाकछोपको प्रयास
घटना घटेको पाँच दिन बितिसकेको छ । तर, प्रहरी प्रशासन भने मूकदर्शक देखिएको छ । अहिलेसम्म विनाकाम अल्मलिएर बसेको प्रहरीले मिडियासँग भने अनुसन्धान भइरहेको भन्दै पूर्वराज्यमन्त्रीलाई बचाउने खेल खेलिरहेको छ ।

वृतका डीएसपी रोशन खड्काले अहिल्यै सबै कुरा मिडियालाई भन्न नमिल्ने बताउँछन् । “अहिल्यै सबै कुरा मिडियासामु भन्न मिल्दैन । अनुसन्धान भइरहेको छ । अगाडि बढिरहेको छ ।” मकालु खबरले राखेको जिज्ञासामा डीएसपी खड्काले भनेका छन्, ‘अनुसन्धान भइनै रहेको छ । सबै कुरा अहिल्यै बाहिर ल्याउन मिल्दैन । अनुसन्धान राम्रो नहुन सक्छ ।’

उनले प्रहरी प्रशासनले ढाकछोप गर्न खोजेको भन्ने आरोप छ नि ? भनी जान्न खोज्दा भने–‘पुष्टि गरे भइहाल्यो नि !’

यता प्रवक्ता राजकुमार घिसिङले भने अनुसन्धानको क्रम शुरु भइनसकेको बताउँछन् । उनले मकालु खबरसँग भनेका छन्, ‘अब अनुसन्धान हुन्छ । बुझ्ने काम हुँदैछ ।’

बा ११ च ४१४१ नं.को गाडी दीपक खड्काकै
हामीले वृतमा फोन सम्वादमार्फत् बुझ्न खोज्दा त्यहाँ प्रवक्ता राजकुमार घिसिङले गाडी कसको हो भनेर खुलिनसकेको बताए ।

सांसद खड्काकै गाडी भएको पुष्टि गर्ने दर्ता प्रमाणपत्रः

उनले हामीसँग भनेका छन्, ‘गाडी कसको हो भनेर पत्ता लागिसकेको छैन । यातायातबाट पुष्टि हुनुपर्नेमा केही भएको छैन । गाडी नं.बाट गाडीको कसको हो भन्ने कुरा पुष्टि भएपछि अनुसन्धान शुरु हुन्छ ।’

प्रवक्ता घिसिङको भनाइ एकातिर भए पनि गाडी भने पूर्वराज्यमन्त्री समेत रहेका खड्काकै रहेको पुष्टि भएको छ ।

आठ सिट क्षमता रहेको टोयोटा मोटर्स २०१३ मोडेलको सो डिजेल गाडी खड्काले युनाइटेड सिन्डिकेट प्रा.लि. र इस्ट लिंक मोटर्स प्रा.लि.का दीपक खड्काको नाममा २०७० सालको १७ पुषमा दर्ता गरेको देखिन्छ ।

सांसद खड्काको नियन्त्रित गाडी।

यातायात व्यवस्था कार्यालय बागमती अञ्चलको सवारी दर्ता किताबमा नै गाडीको स्वामित्व रहेको भनेर खड्काको फोटो नै टाँस गरिएको प्रमाण छ ।

इन्जिन नं. २३३०५८० रहेको उक्त गाडीको २०७६ सालको कार्तिक ५ गते नेपाल बंगलादेश बैंक र खड्का ल्याण्ड डेभलपर्स प्रा.लि.बाट खड्काको नाममा नामसारी गरिएको स–प्रमाण देखिन्छ ।

नक्कली चालक खडा
सांसद खड्काले नै चलाएको गाडीले अनुपाको निधन भएपछि शक्ति, पैसा र पहुँचको आधारमा नक्कली चालक खडा गरेर प्रहरी हिरासत महाराजगञ्जमा राखेको श्रोतले बताएको छ ।

वृतको हिरासतमा रहेका नक्कली ड्राइभर दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं. को जयराज जोशी रहेको श्रोतको दावि छ । प्रहरीले वास्तविकता खुलेपछि आइतबार मात्र पीडित पक्षबाट खड्काविरूद्धमा किटानी जाहेरी लिएको जनाएको छ ।

डीएसपी रोशन खड्कासँग यस तथ्यबारे बुझ्दा सबै खुलाउन चाहेनन् । ‘यो सबै कुरा अनुसन्धानले बोल्छ ।’ डीएसपी खड्काले यति मात्रै भन्न सके ।

प्रतिक्रिया