माग पुरा गर्न उदासिन भएको भन्दै वीपी प्रतिष्ठानका चिकित्सकहरु शशक्त आन्दोलन तर्फ, उपकुलपति मौन !

धरान । आफ्ना जायज मागहरु पुरा गर्न बेवास्ता गरेको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल एण्ड डेण्टल फ्याकल्टी वेलफेयर सोसाइटीले आज पुनः प्रदर्शन गरेको छ । आज विहान प्रतिष्ठानका उपकुलपति कार्यालय अगाडी भेला भएका दर्जनौं मेडिकल तथा डेण्टलका चिकित्सकहरुले प्रतिष्ठान भद्रगोल बनाइएको भन्दै व्यवस्थापनको चर्को विरोध जनाए ।
शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले विगतमा व्यवस्थापनले आफुहरुसँग गरेको सहमति अक्षरसः पालना गर्नुपर्ने बताउँदै समयमै प्रमोसन नहुँदा प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरु समेत प्रभावित भएको बताए । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी आफुहरुको मागप्रति गम्भिर नभएको पनि जिकिर गरे । प्रतिष्ठानको शिक्षा स्वास्थ्य र अनुसन्धानका धेरै विषयहरु भद्रगोल भइरहेको बताउँदै अविलम्ब आफ्ना जायज मागहरु पुरा गर्न आग्रह गरेका छन् ।

धर्ना पछिको कोण सभामा बोल्दै सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले प्रतिष्ठानका उपकुलपतिबाट प्रमोसनको ठोस कार्यायोजना ल्याएर नआएसम्म वार्ता नहुने बताए । विगतमा व्यवस्थापनले आफ्ना मागहरु संवोधन गर्नेक्रममा आश्वासनमात्र दिएको बताउँदै यसपटक लिखित प्रतिबद्धता सहित ठोस कार्ययोजना आउनुपर्ने बताए ।

प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले अढाई वर्षदेखि प्रमोसन रोकिँदा प्रतिष्ठानका सबै फ्याकल्टीहरु भद्रगोल भएको समेत बताएका छन् । आजको प्रदर्शनमा प्रतिष्ठानमा डेण्टल र मेडिकल दुवै विभागका दर्जनौ चिकित्सकहरुको सहभागिता रहेको थियो । उनीहरुले बढेको तलब समेत नपाएको, कोरोना संक्रमणको उच्च जोखिममा रहेर काम गर्नुपरेको, चिकित्सकहरुको कोरोना बिमा अहिलेसम्म नगरीएको तथा जोखिम भत्ता नपाएको समेत बताएका छन् ।

चिकित्सकका माग प्रति उपकुलपति उदासिन !
मेडिकल एण्ड डेण्टल फ्याकल्टी वेलफेयर सोसाइटीको नेतृत्वमा गत विहिबार देखि हरेक दिन बिहान उपकुलपति कार्यालय अगाडी शान्तिपूर्ण धर्नामा उत्रिएका चिकित्सकहरुको माग पुरा गर्न उपकुलपति उदासिन देखिएका छन् । प्रदर्शनको चौथो दिनसम्म पनि चिकित्सकहरुलाई वार्तामा बोलाउने पहल भएको छैन ।
हाल कोरोना पोजेटिभका कारण सेल्फ आइसोलेसनमा रहेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सोसाइटीका पदाधिकारीलाई अहिलेसम्म एक कल फोन समेत गर्न नखोजेको सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले बताए । ‘हाम्रा मागप्रति उपकुलपति उदासिन हुनुभएको पाएका छौं, आजका दिनसम्म कुनै पदाधिकारीले समेत सम्पर्क गर्नुभएको छैन । हामीसकेसम्म शान्तिपूर्ण तवरबाटै समस्या समाधान होस भन्ने चाहन्छौं ।’ उनले भने ।

प्रतिष्ठान स्रोतका अनुसार चिकित्सकहरुको माग संवोधन गर्ने सवालमा उपकुलपतिका सल्लाहकार दिलिप भट्टराईले नकारात्मक भूमिका खेलिरहेका छन् । एक चिकित्सकले उपकुलपति गलत व्यक्तिको सल्लाहमा रुमलिएको बताए । ‘उपकुलपतिका सल्लाहकारले हामीलाई अण्डर इष्टिमेट गरे । नत्र विगतमा भएका छलफलमा उनी समेत रहेर गरिएको सहमति पालना गराउन किन ध्यान दिँदैनन् ।’ उनले भने ।
सल्लाहकार दिलिप भट्टराई मात्रै उपकुलपतिसँग नियमित सम्पर्कमा रहेका छन् । उपकुलपति डा. गिरीले पनि उनको मात्रै कुरा सुन्ने गरेका छन् । उपकुलपतिले अन्य पदाधिकारीलाई समेत वेवास्ता गर्नुमा सल्लाहकारको गलत सल्लाह प्रमुख कारक रहेको बुझिएको छ । ‘भन्ने बेलामा आफु प्रतिष्ठान बनाउन आएको भन्छन्, काम चैं प्रतिष्ठानको हित विपरित, भ्रष्टाचारको मुद्दा खेपिरहेका, मेडिकल माफियाहरुसँगको चक्रब्यूहमा परेर पदाधिकारीभित्रै मनमुटाव सृजना गर्ने गर्छन् । यसरी संस्था अगाडी बढ्नै सक्दैन ।’ प्रतिष्ठानका एक सिनियर चिकित्सकले मकालु खबरसँग भने । उपकुलपतिले प्रतिष्ठानमा कसैले आफ्नाे विराेध गरे त्यस्तालाई कि कारवाही गर्ने, कि अन्यत्र प्रतिष्ठानमा समेत सरूवा गर्ने रणनीति बनाएका छन् ।

उपकुलपतिका सल्लाहकारले इन्जिनियरलाई धम्क्याए !
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनाल र उपकुलपतिका सल्लाहकार दिलिप भट्टराईले बदनियत रुपमा आफुलाई विभागीय प्रमुखबाट हटाएको अभिब्यक्ति दिएका प्रतिष्ठानका सिभिल इन्जिनियर मदन शाहलाई उपकुलपतिका सल्लाहकारले जेपनि गर्न सक्ने भन्दै धम्क्याएको वीपी प्रतिष्ठानमा चर्चा छ ।
शुक्रबार अप्रत्यासित रुपमा उपकुलपति डा. गिरीले पत्र पठाउँदै आफुभन्दा जुनियर ओभरसियर विकास वस्याललाई कार्य बुझबुझारत गर्न पत्र दिएपछि आक्रोशित भएका मदन शाहले विभिन्न मिडियामा दिएको अभिव्यक्ति प्रति दिलिप भट्टराईले धम्की दिएको भन्दै मदन शाह इलाका प्रहरी कार्यालयसम्म पुगेका थिए । ज्यानको सुरक्षा नभएको भन्दै इप्रका गएका उनले दिलिप भट्टराईको नाममा उजुरी त दिएनन् तर, असुरक्षा छ भनेर प्रहरीलाई चैं जानकारी गराएको मकालु खबरलाई बताए । ‘उहाँले धम्की नै दिएको होइन, मलाई अलिक असुरक्षा महशुष भयो त्यहि भएर गएको थिए खासै त्यस्तो केहि हैन, उजुरी गरेको छैन ।’ उनले भने ।
स्रोतका अनुसार उनी प्रहरी कहाँ ज्यान सुरक्षा गराईपाउँ भनेरै गएका थिए । विचमा दिलिप भट्टराई पक्षका केही कर्मचारी तथा व्यक्तिहरुले विषय नउछाल्न भनेपछि उनी पछि हटेका हुन् । मदन शाहलाई उपकुलपतिका पिएले जागिर खाईदिने सम्मको धम्की दिएको बुझिएको छ ।









