ओखलढुंगा: हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

ओखलढुंगा । जिल्लाबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ । सिद्धिचरण नगरपालिका ६ निवासी सागर शेर्पाकी २२ वर्षीया श्रीमती सुमिना शेर्पालाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत उनलाई आईतबार बिहान निःशुल्क हेलिकप्टरमार्फत उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ । २९ हप्ताको सुत्केरी महिला शेर्पालाई युरिक एसिड र प्रेसरका कारण स्वास्थ्यमा समस्या देखिएपछि ओखलढुंगा सामुदायिक अस्पताबाट उद्धार गरिएको अस्पतालका निर्देशक युवराज आचार्यले जानकारी दिए ।

सुत्केरी हुने समय नभएपनि स्वास्थ्यमा समस्या देखिएपछि शनिबार ओखलढुंगा सामुदायिक अस्पतालमा आएकी शेर्पालाई प्रशुती सम्बन्धी समस्या देखिएकाले जोखिमयुक्त ठानेर बाहिर पठाउने निणर्य गरेको आचार्यको भनाई छ । यसअघि पनि यस्तै समस्याका कारण गर्भ खेर गएको भनिएको शेर्पाको आमा र बच्चा दुबैको स्वास्थ्यमा समस्या हुन सक्ने भन्दै काठमाण्डौ रेफर गरिएको अस्पतालले जनाएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सम्बन्धी कार्यविधि २०७५ अनुसार सिद्धिचरण नगरपालिकाको सिफारीस र जिल्ला प्रशासन कार्यलयको समन्वयमा उनको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले बताए ।

जिल्लामा उपचार सम्भवन नभएका गर्भवती तथा सुत्केरी महिलालाई उद्धार गर्नुपरे यस कार्यक्रमले समेट्ने गरेको सहायक प्रजिअ भट्टराईको भनाई छ । उनी महिलाको उद्धारका लागि काठमाडौंबाट संघीय सांसद यज्ञराज सुनुवारले पहल गरेका थिए ।

प्रतिक्रिया