कांग्रेस नेता दीपक खड्काविरुद्ध किटानी जाहेरी, गाडीले हानेर मान्छे मारेको आरोप

काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवानिकट मानिने कांग्रेस नेता दीपक खड्काविरुद्ध महानरीय प्रहरी वृत, महाराजगञ्जमा किटानी जाहेरी परेको छ ।

गत ७ असोजमा बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले बूढानीलकण्ठ वडा नं. ६ का विक्रम कार्की र अनुपा पाण्डे कार्कीलाई ठक्कर दिएर फरार रहेको गाडी कांग्रेस नेता खड्काको भन्दै उजुरी परेको वृतका प्रवक्ता राजकुमार घिसिङले मकालु खबरलाई जानकारी दिए ।

प्रवक्ता घिसिङका अनुसार गाडीको चालकलाई नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धान भइरहेको छ । घटनामा घाइते भएकी अनुपा पाण्डेको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मृतककी श्रीमान विक्रम कार्कीले वृतमा दिएको उजुरीको आधारमा थप अनुसन्धान इरहेको प्रवक्ता घिसिङले बताए । ‘उजुरी परेको छ । हामीले गाडीको चालकलाई नियन्त्रणमा पनि लिइसकेका छौं ।’ प्रवक्ता घिसिङले मकालु खबरले राखेको जिज्ञासामा भनेका छन्, ‘दुर्घटनामा घाइते भएकी महिलाको ज्यान गइसकेको अवस्था छ ।’

प्रत्यक्षदर्शीले किचिएका मानिसको उद्धार गरी त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगेका थिए । प्रवक्ता घिसिङले गाडी कसको हो भनेर यातायात विभागबाट पुष्टि भइनसकेको पनि बताए ।

‘गाडी कसको हो भनेर अहिले पत्ता लागिसकेको छैन । यातायात विभागबाट पुष्टि हुनुपर्ने हो । पुष्टि भएपछि आवश्यक थप अनुसन्धान गर्नेछौं ।’ प्रवक्ता घिसिङले हामीसँग भनेका छन् ।

मृतक अनुपाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको छ भने खड्काविरूद्धमा घाइते अवस्थामा रहेका उनका पतिले महानगरीय प्रहरी वृत महाराजगञ्जमा किटानी जाहेरी दिएका छन् ।

प्रतिक्रिया