कोठाभित्रै सिमित पर्यटन दिवस, दिइयो सौराहा खुलेको सन्देश 

  • ध्रुवराज खनाल

चितवन । पर्यटन व्यवसायीका लागि अघिल्लो बर्ष आजैको दिन निकै रौनक थियो । भरतपुरदेखि सौराहा लगायत जिल्लाको विभिन्न पर्यटकिय क्षेत्रमा पर्यटकको चाप पनि थियो । पर्यटकलाई स्वागत गर्न भ्याइ नभ्याइ समेत थियो ।

तर यस वर्षको आजको दिन अर्थात् विश्व पर्यटन दिवसको दिन पर्यटकिय क्षेत्र सुनसान छन । न त यहाँ पर्यटक छन् न त दिवसको रौनक । यस वर्षको पर्यटन दिवस केवल एउटा कोठामा सिमित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण पर्यटन दिवस कोठाभित्र सिमित बन्न पुगेको हो ।

सौराहाका व्यवसायीहरूले कोठाभित्र अन्तरक्रिया कार्यक्रम गरेर पर्यटन दिवस मनाएका छन् । कार्यक्रममा सौराहा खुलेको र सुरक्षित रहेको सन्देश व्यवसायीहरूले दिएका छन् । तत्कालको अवस्थामा बाह्य पर्यटक आउने सम्भावना नरहेकाले आन्तरिक पर्यटनलाई लक्षित गर्ने गरि प्याकेजका कार्यक्रम ल्याइने बताए ।

‘कोरोना भाइरसबाट सौराहा सुरक्षित छ । सुरक्षित सेवा दिदै पर्यटकका लागि स्वागत गर्न आतुर छाैँ,’ क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले भने । छाप्राबाट सुरु भइ मजबुत अवस्थामा आइसकेको पर्यटन व्यवसाय पुनः शून्यमा झरेको भट्टराईको भनाइ थियो । उनले व्यवसायीहरूलाई हतोत्साहित नहुन समेत आग्रह गरे । संघका अध्यक्ष भट्टराईले दशैँ तिहारमा घुमौँ सौराहा, घुमौँ चितवन भन्ने अभियान सुरु गर्ने बताए । व्यवसायलाई दिगो बनाउन छुटको प्याकेज ल्याउने समेत उनले जानकारी दिए ।

कार्यक्रममा क्षेत्रीय रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले आन्तरिक पर्यटकलाइ स्वागत गर्न तयार रहेको भन्दै आन्तरिक पर्यटनमा ध्यान दिइने बताए । बाघमारा मध्यवर्ती सामुदायिक बनका अध्यक्ष जितु तामाङले सौराहाको पर्यटन व्यवसाय जंगल सफारिमा निर्भर रहेको बताए । उनका अनुसार सौराहा आउने पर्यटक मध्ये ७० प्रतिशत जंगल सफारिमा रमाउने गरेका छन् ।

रत्ननगर नगरपालिकाका उपमेयर बिमला दुवाडिले सञ्चार माध्यमलाई सौराहा सुरक्षित रहेको सन्देश प्रवाह गर्न आग्रह गरिन् ।

कार्यक्रममा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था अध्यक्ष ऋषि तिवारी, कुमरोज मध्यवर्ती सामुदायिक बनका अध्यक्ष गणेश श्रेष्ठ,  क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलिया, साना पर्यटन व्यवसायी संघका अध्यक्ष सरस्वती चालिसे लगायतले मन्तव्य राखेका थिए ।

कोरोना भाइरस संक्रमणपछि सौराहा चैत ११ गते देखि बन्द थियो । लकडाउनपछि लगाइएको निषेधाज्ञा खुकुलो भएपछि असोज १ गते देखि खुलेको छ । सौराहा आउने पर्यटक हात्ती सफारी, डुंगा सयर, जंगल वाक, जिप सफारी मार्फत चराचुरुङ्गी तथा वन्यजन्तु हेरेर रमाउने गर्छन् । सौराहामा झन्डै १२० वटा होटल तथा ७० वटा रेस्टुरेन्ट छन् ।

प्रतिक्रिया