उपकुलपतिको ठाउँमा सल्लाहकारको हैकम, कार्यवाहक उपकुलपतिलाई पैसा खाएको आरोप !

- भरतराज शर्मा (गोपाल)
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीका सल्लाहकार दिलिप भट्टराईको हुकुमी शासनले प्रतिष्ठानमा कार्यरत कर्मचारी त्राहिमाम भएका छन् । केहिदिन यता उपकुलपति डा. गिरी कोरोना पोजेटिभका कारण सेल्फ क्वारेन्टाइनमा रहेकै बेला प्रतिष्ठानमा मनपरी ढंगले कर्मचारी सरुवा गरीएको छ ।
उपकुलपतिका सल्लाहकार दिलिप भट्टराई र शिक्षाध्यक्ष डा. गुरु खनालले आफु अनुकुल काम नगर्ने कर्मचारीहरुलाई उपकुलपतिको पछाडी बसेर धमाधम सरुवा गरेको सरुवाको चेपुवामा परेका कर्मचारीहरुको भनाई छ ।
एक साताअघि खरिद शाखामा आएको चार महिना नपुग्दै शाखा प्रमुख विष्णु चापागाईंलाई व्यापारीहरुसँगको साँठगाँठमा उपकुलपति र उनका सल्लाहकार दिलिप भट्टराईले सरुवा गरेकोमा व्यापक विरोध भइरहेको थियो ।

हिजो पुनः सिभिल इन्जिनियरीङ शाखाका प्रमुख इ.मदन शाहलाई क्वारेन्टाइनमा रहेका उपकुलपतिले हटाएका छन् । उनको स्थानमा सोहि शाखाका ओभरसियर विकास बस्याललाई विभागीय प्रमुखको जिम्मेवारी दिएका छन् ।
आफुभन्दा जुनियर ओभरसियरलाई विभागीय प्रमुख बनाइएपछि इन्जिनियर शाहले सञ्चारकर्मीहरुका अगाडी उपकुलपति र तिनका सल्लाहकार दिलिप भट्टराई तथा शिक्षाध्यक्ष डा.गुरु खनालको कदम प्रति चर्को असन्तुष्टि व्यक्त गरे ।
‘मलाई हटाइएको भन्ने कर्मचारी प्रशासनलाई थाहै छैन, रजिष्ट्रारलाई समेत वाइपास गरीएको छ । उपकुलपति आफैं क्वारेन्टाइनमा रहेको बेला दिलिप भट्टराई र डा.गुरु खनालले हटाए । यो काम गुरु खनालको हो ।’ शाहले आफ्नो डिपार्टमा आफुभन्दा सिनियर कर्मचारी आएको भए आफुलाई कुनै आपत्ति नहुने तर, आफुभन्दा तीन तह जुनियर ओभरसियरलाई शाखा प्रमुख बनाइएको प्रतिपनि असन्तुष्टि जनाए ।
कोरोना संक्रमण भएर क्वारेन्टाइनमा बसेका उपकुलपतिले कर्मचारी प्रशासन र रजिष्ट्रारलाई समेत थाहै नदिई इ.शाहलाई हटाएपछि प्रतिष्ठानका अन्य कर्मचारी ‘आगो’ भएका छन् । उनीहरुले प्रतिष्ठान सुधार्न भनेर आएका उपकुलपति आफैं प्रतिष्ठान विगार्न उद्यत भएको भने । ‘हरेक निर्णयमा उपकुलपति कार्यालय हावी भइरहेको छ । विभागीय प्रमुख आफु अनुकूल ल्याएर व्यापारी र ठेकेदारको इशारामा प्रतिष्ठान चलाउने खेल भइरहेको छ । यसमा सबैभन्दा ठूलो खेल सल्लाहकार दिलिप भट्टराईको छ ।’ कर्मचारी प्रशासनका एक अधिकृत स्तरका कर्मचारीले भने ।

२०७२ साल जेठ २० गतेदेखि सिभिल इन्जिनियरीङ शाखामा रहेका शाहले आफुलाई किन हटाइएको भनेर उपकुलपतिसँग कुरा गर्न म्यासेज गर्दा उपकुलपतिले आफु क्वारेन्टाइनमा रहेको जवाफ दिएको बताए । ‘पत्रमा उहाँले नै साइन गरेको हो, तर पोजेटिभ भएर क्वारेन्टाइनमा बसेको बेला हतारहतार असुरक्षित रुपमा पत्र पठाउनु भयो, यसले हामीलाई समेत संक्रमण हुन्छ कि भन्ने डर भयो ।’ प्रतिष्ठानको इन्जिनियरीङ शाखामा उनी वाहेक अन्य तीन जना विकास बस्याल, शिवनारायण शाह तथा निर्मल श्रेष्ठ ओभरसियर छन् ।
प्रतिष्ठानमा कार्यालयका पत्रहरु कार्यालय क्लर्कले बुझ्ने गरेपनि उनलाई भने हिजो दिउसो १ः३० बजेतिर कोठामै पत्र पठाइएको थियो । ‘१ः३० बजेतिर खाना खान कोठा गएको थिएँ, डा. गुरु खनालको पीए ‘उमा’ भन्नेले घरमै चिठ्ठी ल्यायो, कसको चिठ्ठी हो भनेर सोध्दा भिसी सरबाट हो, रेक्टर सरबाट चैं अर्जेन्ट बुझाउनु भनेर आएको भन्यो ।’ उनले भने । उनलाई दिइएको चिठ्ठीमा चिठ्ठी बुझेर आफ्नो शाखामा भएको सबै सामान विकास बस्याललाई बुझाउनु भनिएको छ ।
कर्मचारी सरुवा गरिएको सन्दर्भमा रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले आफुसँग कुनै सल्लाह नभएको प्रतिक्रिया दिए । ‘कर्मचारी प्रशासन मेरो मातहतमा भएपनि उपकुलपतिज्यूसँग कर्मचारी सरुवाको अख्तियारी छ । अहिले भएको सरुवामा मसँग सल्लाह भएको छैन ।’ रेग्मीले भने । कर्मचारी सरुवा गर्दा कर्मचारी प्रशासन, कास र पदाधिकारीहरुको सल्लाहमा गर्ने प्रचलन छ ।
यता उपकुलपतिका सल्लाहकार दिलिप भट्टराईले भने मदन शाहबाट कार्यसम्पादनमा भएको ढिलाई र उपकुलपतिलाई अटेर गरेकाले हटाइएको बताए । उनले वीपी प्रतिष्ठानलाई नमुना प्रतिष्ठान बनाउन उपकुलपति र उपकुलपतिको टीम लागि परेको तथा अहिले आएको सानातिना भूकम्पले आफुलाई केहि फरक नपर्ने पनि तर्क गरे ।
डेपुटी रजिष्ट्रारमा उमेश कोइराला !
प्रतिष्ठान स्रोतका अनुसार अहिले डेपुटी रजिष्ट्रार नियुक्तिको चर्को चलखेल भइरहेको छ । उपकुलपतिका सल्लाहकार दिलिप भट्टराईले उपकुलपतिका भाई अजय गिरीसँग गोप्य बैठक गरेर डेपुटी रजिष्ट्रारमा प्रतिष्ठानकै कर्मचारी उमेश कोइरालालाई ल्याउने तयारी गरेका छन् । ‘केही चलखेल भएन भने संभवतः भोली उमेश कोइराला डेपुटी रजिष्ट्रार भएर आउँछन् ।’ स्रोतको दावि छ ।
कोरोना हस्पिटल बनाउँदा शिक्षाध्यक्षले पैसा खाएको आरोप !
प्रतिष्ठानका कार्यवाहक उपकुलपति भएको बेला बर्तमान शिक्षाध्यक्ष डा.गुरु खनालले एक व्यापारीबाट तीनदेखि चार लाख खाएको इ.मदन शाहले बताएका छन् । प्रतिष्ठानको कोरोना हस्पिटल बनाउने क्रममा पहिलो तल्लामा ट्रष्ट निर्माण गर्ने टेण्डर पाएका हरिकृष्ण श्रेष्ठले अर्का ठेकेदार शुशिल झाको फर्म जिना कन्ट्रक्सन मार्फत काम गर्दा कार्यवाहक उपकुलपतिले झण्डै तीनदेखि चार लाख कमिसन खाएको दावि गरे । ‘हरिकृष्ण श्रेष्ठले शुशिल झाको फर्मबाट कोरोना हस्पिटलमा ट्रष्ट बनाउने ६३ लाखको काम लिएको थियो, त्यसमा गुरु खनालले यति नै पैसा लिएको हो, ठ्याक्कै भन्न सक्दिन, दुइचार लाख लिएको चैं हो ।’ उनले भने ।
यता शिक्षाध्यक्ष डा.खनालले आफ्नो पालामा कोरोना हस्पिटलको कामै नभएको बताए । ‘यो गलत कुरा हो मेरो पालोमा कुनै काम भएको थिएन । नयाँ उपकुलपति आएपछि मात्र कोरोना हस्पिटल बनाउने काम भएको हो । मेरो पालामा आइसोलेसन अर्थोपेडिक, इएनटीमा बनाएका थियौं, पछि नेपाल सरकारले कोरोनाको लागि भनेर साँढे १२ करोड दिएको थियो । हरिकृष्ण कोरोनासँग रिलेटेड नै छैन ।’ उनले भने । हरिकृष्ण श्रेष्ठले आफुले कसैलाई घूस नदिएको तर्क गर्दै डा. गुरु खनालसँग काम नभएको जिकिर गरे ।
‘गलत भयो भने चुप लागेर बस्दैनौं’ अध्यक्ष, कर्मचारी कल्याण समाज
प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष उमेश थापाले प्रतिष्ठानको व्यवस्थापनले कुन कर्मचारीलाई कता सरुवा गर्ने हो आवश्यक्ता अनुसार गर्न सक्ने बताए । उनले कुनै कर्मचारीलाई सरुवा गर्दा अन्याय भयो भने मात्र समाजले बोल्न सक्ने जिकिर गर्दै कार्य क्षमता र आवश्यक्ताका अनुसार सरुवा बढुवा गर्दा समाजले बोल्न नमिल्ने बताए । ‘प्रतिष्ठानको नियमावलीले दिए अनुसार कुनैपनि कर्मचारीलाई सरुवा गर्न सक्छ । तर, उसको विज्ञता हेरेर गर्नुपर्छ । इन्जिनियरलाई मेडिकल सेक्सनमा लान पाउँदैन, मेडिकल लाई सामान्य प्रशासनमा । अन्य कुरा त पदाधिकारीहरुको निर्णयले गर्ने कुरामा हामीले हस्तक्षेप गर्न मिल्दैन । कसैलाई अन्याय भयो अथवा कुनै गलत काम भयो भने हामी चूप लागेर बस्दैनौं ।’ उनले भने ।
प्रतिष्ठान भित्र बाहिरका मान्छे हावी भइरहेको सन्दर्भमा उनले सल्लाहकारको काम भनेको सल्लाह मात्र दिने निर्णय गर्ने नरहेको तर्क गरे । ‘नैतिकताका कुरा गर्नुहुन्छ भने कसले कुन पदमा बसेर कस्तो काम गर्छ उसले जान्ने कुरा हो । प्रतिष्ठानमा कसैले गलत गर्छ अथवा गलत मनसायले काम गर्न खोज्छ भने हामी चुप लागेर बस्दैनौं ।’
‘सल्लाहकारको काम सल्लाह दिने हो निर्णय गर्ने हैन’ विष्णु पोखरेल
यता मेडिकल एण्ड डेण्टल फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष विष्णु पोखरेलले प्रतिष्ठानमा पदाधिकारीका सल्लाहकारले कुनै निर्णयमा सहभागी हुन नपाउने बताए । सल्लाहकारहरुले डाइरेक्ट सहभागी भएर निर्णय गर्ने तथा अभिब्यक्ति दिन नमिल्ने पनि बताए । ‘सल्लाहकारले पदाधिकारीहरुलाई सल्लाह दिने हो, सल्लाहकारले व्यक्तिगत सल्लाह दिने हो । स्वकीय सचिब भनेको भाइसचान्सलरको अभिव्यक्तिहरु बाहिर पठाउने मात्र हो ।’ उनले कर्मचारी सरुवाहरुमा सल्लाहकारको हात रहेको विषयमा आफुलाई कुनै थाहा नभएको तर्क गरे । केहि दिनअघि एक कर्मचारी सरुवा गरेको सवालमा पदाधिकारीले भन्दा पनि उपकुलपतिका सल्लाहकारले आफैं निर्णय गरेको जस्तो प्रकारले अभिब्यक्ति दिएकोमा चैं गलत भएको तर्क गरे ।
प्रतिष्ठानमा कर्मचारी सरुवा बढुवा, औषधी उपकरण खरिद तथा टेण्डरमा निक्कै चलखेल हुने गरेको छ । यसअघि पूर्व उपकुलपति डा.राजकुमार रौनियारले प्रतिष्ठानका केही कर्मचारीहरुलाई बदनियत रुपमा सरुवा गरेका थिए । विषयगत विज्ञ कर्मचारीलाई नियतबस फरक विभागमा सरुवा गर्दा उनीहरु पुनरावेदन आयोग गएर सरुवा बदर गराएका थिए । तत्कालिन समय आइटीका इन्जिनियर राकेश दास, राहुल मिश्रा, लेखा शाखाकी रुपा सिंघाची अग्रवाल लगायत अदालतसम्म गएर स्टेअर्डर ल्याएका थिए ।
प्रतिष्ठान विगत लामो समयदेखि आन्तरिक विक्रिति विसंगतिमा रुमलिएको छ । पूर्वपदाधिकारीहरु भ्रष्टाचारको मुद्दामा परेका छन् । रंगेहात घूसकाण्डमा समातिएर मुद्दा खेप्दैछन् । यस्तोमा वीपी सुधार्न भनेर आएका बर्तमान उपकुलपति कमजोर तथा सल्लाहकारकै भूमरीमा रुमलिँदा प्रतिष्ठान झनै अस्तब्यस्त भएको छ । त्यसमाथि अहिलेका पदाधिकारीहरुमा पनि आपसी बैमनस्यता र अविस्वास पैदा भएको छ । रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी, अस्पताल निर्देशक डा. गौरीशंकर शाह, शिक्षाध्यक्ष डा. गुरु खनाल तथा उपकुलपति विच सुमधुर सम्बन्ध नभएको फाइदा बाहिरका विचौलिया र सल्लाहकारहरुले उठाईरहेको धरानबासीको बुझाई छ ।
प्रतिष्ठान धरानको मात्र हैन प्रदेश १ र सिमावर्ती छिमेकी मुलुक भारतका जनताको स्वास्थ्य क्षेत्रको आस्थाको केन्द्र पनि हो । तर, पदाधिकारीहरु विचको रडाँको, आर्थिक चलखेल तथा भ्रष्टाचारले जनताको स्वास्थ्य क्षेत्रको आस्थाको केन्द्र धरासायी बन्दै गएको छ ।
विगतमा आएका पदाधिकारीहरुले पनि प्रतिष्ठानमा व्यक्तिगत श्रीबृद्धि गर्नु वाहेक केही ठोस काम गर्न सकेनन् । बर्तमान पदाधिकारीहरुमा पनि आएको ६ महिना नपुग्दै अविश्वासको पर्खाल बनिरहेको छ । प्रतिष्ठान बनाउने हो भने पदाधिकारीहरु एकापसमा अविश्वास पैदा गर्नेहरुको चंगुलबाट बाहिर निस्किएर इमान्दारपूर्वक प्रतिष्ठानको श्री बृद्धिमा लाग्नु आवश्यक छ ।








