प्रयोग भइसकेका कण्डम बेच्ने गिरोह पक्राउ

एजेन्सी । भियतनाममा प्रहरीले प्रयोग भइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ । यी कण्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको बीबीसीले जनाएको छ ।

कण्डम देशको दक्षिणी प्रान्त बिन्ह दुुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो । भियतनामको सरकारी टिभी च्यानल विटीभीको रिपोर्टअनुसार कण्डमले भरिएका यी ब्यागहरुको वजन ३ सय ६० किलो छ ।

प्रहरी छापाका क्रममा पक्राउ परेकी एक महिला कर्मचारीकाअनुसार प्रयोग भइसकेका यी कण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यो, त्यसपछि सुकाइन्थ्यो ।

महिलाका अनुसार त्यसपछि उक्त कण्डमलाई काठको लिङ्गमा राखेर फेरि पुरानै आकार दिइन्थ्यो । त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यो ।

टिभी च्यानलका अनुसार प्रयोगमा आएका यस्ता कति कण्डम फेरि बिक्री भयो भन्ने विषय अहिले खुलेको छैन । महिलाका अनुसार उनले जति किलो कण्डम बनाउँथिन्, त्यहीअनुसार पैसा आउँथ्यो ।

स्थानीयका अनुसार होटल र पसलहरुमा यी कण्डमको बिक्री हुने गरेको थियो । जनस्वास्थविद्हरुका अनुसार कण्डमलाई एकपटक प्रयोग गरेपछि तत्कालै नष्ट गर्नुपर्ने हुन्छ । बीबीसीबाट

प्रतिक्रिया