मकालुखबर दिनभर : यी हुन् आजका प्रमुुख १० समाचारहरु (भिडियोसहित)

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । मन्त्रालयको तथ्यांकअनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ । मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ ।

वामदेवको नियुक्ति बदरको माग गर्दै दायर रिटमा कारण देखाउ र अन्तरिम आदेश जारी
राष्ट्रियसभा सदस्य वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमको राष्ट्रियसभामा नियुक्ति असंवैधानिक भन्दै नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए । सोही रिटको सुनुवाइ गर्दै न्यायाधिश डा. आनन्दमोहन भटराईको एकल इजलाशले अन्तरिम आदेश जारी गर्दै कारण देखाउ र अन्तरिम आदेश जारी गरेको हो ।

आज ११७२ संक्रमित थपिँदा ७ जनाको मृत्यु, डिस्चार्ज कति भए ?
नेपालमा गत २४ घण्टामा १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार ८ सय ९३ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कूल कोरोना संक्रमितमध्ये ४९ हजार ९५४ जना डिस्चार्ज भइसकेका छन् । हालसम्म ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भऐसँगै नेपालमा कोरोना संक्रमणबाट मृतयु हुनेको संख्या ४३६ पुगेको छ ।

अब नेपालमै कोरोनाको औषधि उत्पादन शुरु, देउराली जनताले पायो अनुमति
नेपालमै कोभिड १९ को औषधि बन्न सुरु भएको छ । नेपालको अग्रणी औषधि उत्पादक देउराली जनता फर्मास्युटिकल्सले कोभिड १९ का सघन बिरामीको उपचारमा प्रयोग हुने औषधि फाभिर–२०० ट्याब उत्पादन शुरु गरेको हो ।कम्पनीले बुधबार एक विज्ञप्ति निकाल्दै यसबारे पुष्टि गरेको छ । औषधि व्यवस्था विभागले उक्त उत्पादनलाई असोज ६ गते अनुमति दिएको हो । कोभिड–१९ का बिरामीहरुले उपचार र प्रयोगको लागि चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुने गरी औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ ।

रामचन्द्र पौडेलको आक्रोशः सरकार जनताको कि पार्टीको ?
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ नेकपाको सरकार जनताको भन्दा पनि पार्टीको मात्र भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता पौडेलले कम्युनिस्ट पार्टीको चालामाला हेर्दा वर्तमान सरकार जनताको हुन नसकेको जिकिर गरेका छन् । उनले सरकार जनताको कि पार्टीको भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् ।

सरकारले संवैधानिक परिषद् र न्याय परिषद् तथा अन्य स्वायत्त निकायमा गर्नुपर्ने नियुक्तिहरु समेत पार्टीले आफ्नो अनुकुलको रोष्टर बनाएर पार्टीकै निर्देशन बमोजिम गर्नुपर्ने कुरो आएको भन्दै नेता पौडेलले यसले सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको संकेत गरेका छन् । नेता पौडेलले लोकतन्त्रमा पार्टीको घोषणापत्र र उमेदवार हेरेर जनताले चुनेपनि सरकार पार्टीको पेवा नहुने, जनताको हुनुपर्ने पनि बताएका छन् । उनले देश र जनता प्रति हैन नितान्त कम्यूनिष्ट पार्टी प्रति जवाफदेही हुने प्रथा कम्युनिष्ट अधिनायकवादमा मात्र हुने बताएका छन् ।

नेपाल–चीन सीमाबारे बोल्दै सरिता गिरीले भनि : सुरक्षाका लागि मित्रराष्ट्रसँग सल्लाह लिऊँ
पूर्व सांसद सरिता गिरीले चीनले नेपाली भूमि अतिक्रमण गरेकाबारे आधिकारिक रुपमा तुरुन्त जानकारी गराउन सरकारसँग माग गरेकी छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भूमि अतिक्रमणबारे आधिकारिक जानकारी गराउन सरकारसँग माग गरेकी हुन् । यदि सरकार स्वयमले आफ्नो सीमानाको सुरक्षा गर्न नसके छिमेकी देशको सहयोग लिनुपर्ने उनको भनाइ छ । केही दिनयतादेखि हुम्ला जिल्लाको लिमी र लाप्चा बीच नेपालको भूमिमा चिनिया पी एल ए ले ९ वटा अनधिकृत भवन निर्माण गरेका समाचारहरू निरन्तर आइरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको पनि उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन् । यसअघि संसदमा हुँदा पनि उनले सो कुराको माग गरेकी थिइन् । जसकारण उनी आफ्नै पार्टीबाट निष्कासित हुनु परेको थियो भने सांसद पद समेत निलम्बन भएको थियो ।

यसरी गरियो कीर्तिमानी शेर्पाको अन्त्येष्टि
कीर्तिमानी आरोही आङरिता शेर्पा ‘हिम चितुवा’को राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आज बौद्धस्थित शेर्पा गुम्बामा स्वर्गीय आङरिताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् । शेर्पाले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहणको विश्वरेकर्ड राखेका थिए ।

आज शेयर बजार करेक्सन, ९.३७ अंकले बढ्यो
आज सेयरबजार ९.३७ अंकले वृद्धि भएको छ । हिजो २२.९१ अंकले घटेको शेयर बजार आज भने करेक्सन हुँदै ९.३७ अंकले बढेको छ । ०.६१ प्रतिशतले बढ्दा नेप्से परिसूचक १५५५.५२ अंकमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज १९४ कम्पनीका ५८ लाख ६२ हजार ६ सय १७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ७८ लाख २१ हजार ७ सय ७ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । आज होटल्स समूह मात्रै राताम्मे भएको छ, भने बाँकी समूहमा हरियाली छाएको छ ।

नेपाल क्रिकेट सङ्घको बोर्ड बैठकले के–के निर्णय ग¥यो ?
नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ । यस्तै क्यानले राष्ट्रिय क्रिकेटरको तलब बढाउँदै सन् २०२० का लागि नयाँ ग्रेड निर्धारण गरेको छ । नयाँ ग्रेड निर्धारण गरिए अनुसार पुरुषतर्फ ए बी र सी ग्रेडको लागि क्रमशः ५०, ४० र ३० हजार तलब निर्धारण गरिएको छ । त्यसैगरी महिला क्रिकेटरको लागि ए, बी र सी ग्रेडमा क्रमशः १५, १२ र १० हजार तलब निर्धारण गरिएको छ । क्यानले तोकेको तलब रकम खेलाडीहरुले जनवरी २०२० देखि नै पाउने छन् ।

महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो
भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । महाराष्ट्रको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले ३९ जनाको मृत्यु भएको जानकारी दिएको छ । महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो । त्यसमा रहेकामध्ये कम्तीमा पनि ३९ जनाको ज्यान गएको र अरु २५ जनाको उद्धार गरिएको थियो । तीन तल्ले सो भवन सोमबार बिहान ४ः४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । त्यहाँ बस्ने नागरिकको संख्या धेरै रहेकाले धेरैको ज्यान गएको उक्त एनडिआरएफका अधिकारीहरुले बताएका छन् । भवन भित्र च्यापिएर रहेका अन्य व्यक्तिको उद्धार कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका हुन् ।

प्रतिक्रिया