राम्रा काम गर्न तपाईंलाई कसले रोक्यो प्रधानमन्त्री ज्यू !

सम्माननीय प्रधानमन्त्रीज्यू,

नेपालको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले नपाएको सहजता र अनुकुलताको प्रधानमन्त्री तपाईंले पाउनुभएको छ । घरभित्र सहजता, प्रचण्ड बहुमत प्रदेश र स्थानीय निकाय तपाईंको मुट्ठीमा अनि सभ्य र मौन प्रतिपक्षी ।

राम्रा काम गर्न तपाईंलाई कसले रोक्यो ?

भ्रष्टाचार गर्नेलाई पटकपटक उहि पद दिन मिल्ने तर जनताको मन जित्न सफल उज्यालोका प्रतिक कुलमान घिसिङलाई काम गर्न अझै बाँकी छ भन्दा भन्दै पुनः पदको निरन्तरता दिन नमिल्ने किन ?

यदि कानुन कै कुरा तेर्स्याउने हो भने हत्या हिंसा, बलात्कार र भ्रष्टाचारका दर्जनौं जघन्य अपराध गर्ने अपराधीलाई बचाउन र संरक्षणको निम्ति चाहिँ तपाईंलाई कानुनको स्मरण भएन ?

राम्रा काम गर्नेलाई कानुन पल्टाउने, नराम्रा काम गर्नेलाई कानुन नचाहिने हो भने, जनताको वलिदानले ल्याएको संविधानको ध्वज्जी नउडाउनु होस् प्रधानमन्त्री ज्यु ।

तपाईंका यस्ता एकलौटी निर्णयले देशको लागि केही गरौं भन्ने आफ्नै तपाईंका कार्यकर्तालाई सम्म लज्जास्पद भइसक्यो प्रधानमन्त्री ज्यु !

तपाईं जनताको लागि राजनीति होइन जनतासँग राजनीति गर्दै हुनुहुन्छ। यदि जनताको नेता अनि जनताको सेवक हो र मालिक होइन भन्ने लाग्छ भने स्मरण रहोस् । ३ करोड जनताको मर्म र भावनाको कदर किन गरिरहनु भएको छैन ?

जताततै सडक तातेको छ, आन्दोलन र सामाजिक संजालमा कुलमान घिसिङको पुनः पदबहालिको चर्चा र माग जनताले गरिरहँदा यी जनताका अभिव्यक्ति हरुको सम्बोधन गर्न किन सकिराख्नु भएको छैन ?

तपाईंको कार्यशैलीलाई जनताले श्रीपेच बिनाको राजा भनेर सम्बोधन गर्न थालिसकेका छन्।

मुलुकमा आपतबिपत, बिग्रह, प्राकृतिक प्रकोप, बाढिपहिरो, बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको कहर र जनताको पिडा दुःख लाई समाधानको पाटो नभएर सरकारको नेतृत्वको नेताको निम्ति कमाउने धन्दा र आम्दानीको श्रोत बन्दै जानुले नेतृत्व नै चुकेको अनुभुति जनताले गरिरहेका छन प्रधानमन्त्री ज्यु !

जनता भनेका जनार्दन हुन । यी राज्यका गहना हुन, अनि सम्पत्ति हुन । हेक्का रहोस्, तपाईको यो पद, पावर र पैसा यिनै जनताले दुइतिहाइको मत दिएर जुटाईदिएका हुन ।

गरिब र सर्वहाराको नेतृत्व गरी भाषण गर्दै जनतालाई दोहन गर्ने शासन पद्दतिले गर्दा तपाईं नेपालको लिडर होइन आफू र आफन्तको संरक्षण गर्ने डिलर भएको अनुभुत जनताले गर्न थालिसकेका छन् । यदि सत्ता र स्वार्थमा लिप्त नै हुनु थियो, आफू र आफन्तको मात्रै नेतृत्व गर्नु थियो भने सर्वहाराको नेतृत्व गर्ने भन्दै निर्धा जनताको टाउको काट्दै किन हिँड्नु भयो ? जनताको प्रश्न छ ।

कसैले हल्लाउन नसक्ने दुइतिहाइको कम्युनिस्ट सरकारको नेतृत्व गर्दा पनि तपाईले जनतालाई समुचित प्रतिफलको स्वाद दिन सक्नु भएन । तपाईंको नक्कली राष्ट्रवाद जनताले राम्ररी चाखिसके।

देशको बागडोर समाल्ने नेतृत्वको हुकुमी शासकले प्रहरी र प्रशासनको आड र बल लिएर लगाम बिनाको घोडा जस्तो बहकिदै जनताका भावना र मर्महरुलाई कुन्ठित गर्दै जनताप्रति जाइलाग्ने काम पनि भइरहेको छ । नीति, नियम र विधानलाई मुठ्ठीमा राखेर सत्ताका शासक एकातिर, जनता एकातिर भएको अनुभुत नागरिक गरेका छन् ।

यस्तै हुँदै जाने हो भने जनता जनार्दन हुन आगामी दिनमा यस्को क्षतिपूर्ति र ॠण पक्कै पनि असुल्ने छन प्रधानमन्त्री ज्यू, हेक्का होस्, आगामी दिनहरुमा फेरि पनि वृद्धभत्ता हामीले खुवाएको हो भन्दै जनताका घर आँगनमा जाँदा नपत्याउलान् बेलैमा बुद्धि फुरोस् ।

प्रतिक्रिया