सत्याग्रहीलाई अपहरण शैलीमा नियन्त्रणमा लिनु निर्लज्जता: डा. कोइराला

काठमाडौं । सत्याग्रहमा बसेका डा. गोविन्द केसी माथि प्रहरी प्रशासनले अभद्र व्यवहार गरेको प्रति कांग्रेस नेता डा. शेखर कोइरालाले आपत्ति जनाएका छन् ।

जुम्लामा एक सातादेखि अनसनरत डा. केसीको स्वास्थ्यमा खराबी भएपछि आजै नेपालगञ्जबाट जहाजमार्फत काठमाडौं ल्याइएका डा. केसी शिक्षण अस्पताल जान चाहन्थे तर, प्रहरी प्रशासनले बाटाबाटै नियन्त्रणमा लिएर ट्रमा सेन्टर ल्याएको छ ।

डा. केसी त्रिभुवन विमानस्थलमा उत्रदै गर्दा शिक्षण अस्पतालले उनलाई लिन एम्बुलेन्स पठाएको थियो तर, प्रहरीले विमानस्थलबाटै शिक्षण अस्पताल जाने एम्बुलेस्सलाई ट्रमा सेन्टर जवरजस्ती लगेका थिए ।

डा. केसीले आफु शिक्षण अस्पताल नै जाने भन्दाभन्दै प्रहरीले जवरजस्ती ट्रमा सेन्टर ल्याएको प्रति कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले सत्याग्रहमा बसेको व्यक्तिलाई अपहरण शैलीमा नियन्त्रणमा लिनु आपत्तिजनक र निन्दनिय कार्य भएको बताएका छन् ।

डा. कोइरालाले नागरिकले शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न पाउने संवैधानिक हक माथीको राज्यको यस्तो निर्लज्जता र बर्बरता काम तुरुन्तै बन्द गर्न भनेका छन् ।

ट्रमा सेन्टरमा डा. गाेविन्द केसी ।

डा. केसीको रक्तचाप कम, रगतमा चिनीको मात्रा पनि कम देखिएको छ । उनमा मांसपेशीहरू बाउँडिने समस्या छ । मुटुको धड्कन पनि अनियमित रहेको बताइएको छ । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

यसैगरी गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन सुरू गर्न माग गरेका छन् । यसका अलावा प्रदेश नम्बर दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन, भनेका छन् ।

कोरोना संक्रमणको विषयमा डा. केसीले मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने भनेका छन् । कोभिड तथा अन्य रोगका सबै बिरामीहरूका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने डा. केसीको माग छ । भने, २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने पनि माग छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरू सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न डा. केसीले माग गरेका छन् ।

अछामको बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गर्न र राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद, वाइडबडी, सेक्युरिटी प्रेस खरिद, दरबारमार्गको जग्गा, ओम्नी समूहको औषधि खरीदलगायत सबै ठूला भ्रष्टाचारका दोषीलाई छानबिन गरी कानुनबमोजिम कारबाही गर्न केसीले माग गरेका छन् ।

भने, बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारूढ दलका नेतामाथि छानबिन र कारबाही चलाउन माग गरेका छन् ।

प्रतिक्रिया