दशैंका लागि चीनबाट कपडा नआउने, सामान अलपत्र परेपछि आन्दोलनको तयारीमा व्यापारी

काठमाडौं । कोरोनाको संक्रमण सुरु हुनभन्दा ४ महिना अघिदेखि केरुङमा सामान अलपत्र परेर बसेको छ । विभिन्न किसिमका करिब ११ सय कन्टेनर केरुङमा अलपत्र परेका छन् । सामान ल्याउन सबै निकायमा धाउँदा पनि व्यापारीको समस्या सामाधान नभएपछि व्यापारीहरु आन्दोलनको तयारीमा जुटेका छन् ।

अरु वर्षमा दशैं आउनुभन्दा १/२ महिना अगाडी नै चीनबाट सामान ल्याउने तयारी हुन्थ्यो । तर यस वर्ष पहिलेको सामान नै केरुङमा अलपत्र परेका कारण व्यापारीहरु समस्यामा परेका हुन् ।

केरुङबाट सामान ल्याउन उद्योगमन्त्री, आपूर्ति सचिव र भन्सार कार्यालय लगायतका ठाउँमा गएको तर सामान ल्याउन कुनै चासो नदेखाइएको कारण आन्दोलको तयारी गर्नुपरेकाे व्यापारीले बताएका छन् । राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यापारीहरुले घरखेत नै राखेर ऋण लिकालेको र सामान केरुङमा अलपत्र परेको कारणले समस्या झेल्दै आएको बताए ।

‘व्यापारीको कुरा कसैले पनि सुनेनन् । हामीले मन्त्रीलगायत धेरै ठाउँमा गएर कुरा राख्यौँ तर हाम्रो कुरा सुनेर कसैले पनि सामान ल्याउन सहयोग गरेनन्’, अध्यक्ष कटुवालले भने, ‘व्यापारीहरु सडकमा पुग्ने अवस्था आएको छ । उनीहरु समस्यामा डुब्दै जाँदा समेत सम्बन्धित निकायले कुनै चासाे नदेखाएका कारण अब आन्दोलको तयारी गरिएकाे हाे । आन्दोलको नेत्रित्व कसले लिने भन्नेबारे छलफल भइरहेको छ ।’

नेपाली बजारमा पुरानै सामान भएकाले दशैंमा सामान अभाव र मूल्य वृद्धि नहुने पनि कटुवालले जानकारी दिए ।

यो वर्षको दशैंमा चीनबाट सामान आउन नसक्दा बजारमा भने केही कमी हुने केही व्यापारीहरुको तर्क छ । केही व्यापारीहरुले दशैंका लागि सामान चीनबाट भारत हुँदै नेपाल आइरहेको बताए ।

११ महिना अगाडी चीनबाट नेपाल आउने क्रममा जाडो मौसममा हिउँ परेका कारण सामान आउन सकेन । त्यसको केही समयपछि चीनमा कोरोना महामारी सुरू भयाे र सबै नाका बन्द गरियाे । करिब ७ महिनापछि खुलेको बजारमा खासै सामान बिक्री नभएको व्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया