डा. केसी आज काठमाडौं आउँदै, यतै अनशन बस्ने ! यस्ता छन् माग

काठमाडौं । जुम्लामा अनशन सुरू गरेका डा. गाेविन्द केसी आज (मंगलबार) काठमाडाैं फर्कँदै छन् । मंगलबार ११:२५ को उडानमार्फत् उनी काठमाडौं आउन लागेका हुन् । डा.केसी हिजाे नै नेपालगञ्ज आइसकेका छन् ।

डा. केसीकाे याे १९ औं पटककाे अनशन हाे । उनले अनशन सुरू गरेकाे ९ दिन पुगिसकेकाे छ । काठमाडाैं फर्किएपनि अनशन जारी राख्ने उनले बताएका छन् । काठमाडाैंमा कुन ठाउँमा अनशन सुरू गर्ने भन्नेबारे निश्चित भने भइसकेकाे छैन ।

दुई वर्ष अघि जुम्लामा सत्याग्रह बसेका डा. केसीलाई काठमाडौँ ल्याउने क्रममा झडप हुँदा अस्पतालमा तोडफोडसमेत भएको थियो । उक्त घटना नदोहोरियोस् भनी आफू काठमाडौँ फर्किन लागेको सोमबार डा. केसीले साेमबार जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

साेमबार जारी विज्ञप्तिमा भनिएकाे छ, ‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतङ्क फैलाउँदै हिंसा र तोडफोड गर्‍यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरू पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौँसम्म यात्रा गरेर उहीँबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौँ ।’

डा. केसीले पछिल्लो पटक भदौ २९ गतेदेखि १९ औँ सत्याग्रह सुरु गरेका थिए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेर जुम्लाको चन्दननाथ ६ रानी चौरमा रहेको वाविरा मन्दिरमा सत्याग्रह सुरु गरेका हुन् ।

त्यस्तै २०७५ साउन १० को सहमति कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्रमा बरिष्ठता मिचेर भएको नियुक्ति सच्याउनुपर्ने लगायतका मागहरू रहेका छन् ।

प्रतिक्रिया