वीपी प्रतिष्ठानमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा सुनसरी र झापाका एक एक जनाको निधन भएको हो ।

प्रतिष्ठानका अनुसार उनीहरु ७२ र ४९ वर्षका दुई महिला रहेका छन् । सुनसरी इनरुवा ४ की ४९ वर्षिय महिला र मेचीनगर ८ झापाकी ७२ वर्षिय महिलाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

सुनसरीकी महिला प्रतिष्ठानको मेडिसिन वार्डमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या भइ डायलाइसिस समेत भइरहेको थियो । उनमा असोज १ गते कोरोना पिसिआर टेष्ट गर्दा कोभिड पोजेटिभ देखिएको थियो ।

त्यसपछि प्रतिष्ठानकै कोभिड अस्पतालमा रिफर गरेर उपचार गरीएकोमा उनको आज विहान २ बजे निधन भएको प्रतिष्ठानले जनाएको छ ।

आजै प्रतिष्ठानमा मृत्यु भएकी ७२ वर्षिय महिला कन्काई असपताल झापाबाट रिफर गरिएकी थिइन् । उनलाई श्वासप्रश्वासमा कठिन, छाती दुख्ने, शरीरमा कमजोरी र न्यूमोनियाको लक्षण देखिएर धरान रिफर गरिएको थियो ।

उनमा पहिलेदेखि भएको अन्य रोग र दीर्घ रोग जानकारी नभएको प्रतिष्ठानले जनाएको छ । उनी हिजो प्रतिष्ठान आएकीमा सोहि राति ९ः२० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

दुवै शवको व्यवस्थापन नियमानुसार भइरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा अहिलेसम्म कोरोना उपचारको क्रममा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रतिक्रिया