कोरोनाको कारण ६ महिना बन्द भएको आन्तरिक उडान शुरु, अनुगमन गर्दै मन्त्री

काठमाडौं । कारोनाको कारण बन्द भएको आन्तरिक उडान आजबाट शुरु भएको छ । महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको लकडाउन, सटडाउन र निषेधाज्ञा गरी ६ महिनापछि आन्तरिक उडान आजबाट शुरु भएको हो ।

आजबाट शुरु भएको आन्तरिक उडानको अवस्था कस्तो छ भनेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नै अनुगमनमा निस्केका छन् ।

मन्त्री भट्टराईले आज आन्तरिक उडान खुलेकै दिन यात्रुलाई कस्तो सजकता अपनाइएको छ, तापक्रम मापनको व्यवस्था कस्तो छ, यात्रुको भीडभाड कस्तो छ, स्वास्थ्यको मापदण्ड पूरा भएको छ की छैन भनेर त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । आन्तरिक उडानका वायुसेवा कम्पनीले सुरक्षित उडानका लागि कसरी काम गरिरहेका छन् भनेर मन्त्रीले अनुगमन गरेका हुन् ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलमा सुरक्षित हवाइ उडानका लागि सबैखाले स्वास्थ्यको मापदण्ड पूरा गरी आन्तरिक उडान शुरु भएको बताए । आज बिहानदेखि सबै वायुसेवा प्रदायक कम्पनीले स्वास्थ्य प्रोटोकल अपनाएर सुरक्षित हवाइ यात्राको प्रक्रिया पूरा गरेको केसीले बताए ।

सरकारले सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान गर्ने गरी आन्तरिक उडान सञ्चालनमा ल्याएको हो । एक सातापछि क्रमसः उडान संख्या थपिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । वायु सेवा प्रदायक कम्पनीले पनि पहिलो साता २५ प्रतिशत उडान हुने र क्रमसः यात्रुको माग र बजारको आवश्यकतालाई मध्यनजर गर्दै उडान संख्या बढाइने बताएका छन् ।

सिट क्षमाता बराबार यात्रु बोक्ने भएकोले एअरलाइन्सहरुले हवाइ भाडा वृद्धि गर्न पाउने छैनन् । उनीहरूले सामान्य अवस्थाको भाडादरमै उडान भरेका छन् ।

निषेधाज्ञा खुलेसँगै पर्यटन क्षेत्रका होटल, रेस्टुराँलगायत व्यवसाय पनि स्वास्थ्य सावधानी अपनाएर सञ्चाल भएका छन् ।

आन्तरिक उडान शुरु भएसँगै विमानस्थलमा चहलपहल बढेको छ । कोरोनाको कारणले सीमित संख्यामा चार्टर्ड र कार्गो उडान मात्र भएको आन्तरिक उडानमा नियमित उडान सेवा शुरु भएपछि आम सर्वसाधरणलाई गन्तव्य पुग्न सहज भएको छ ।

वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै आवश्यक प्रक्रिया पुर्याएर सेवा सञ्चालनमा ल्याएको छ ।

अहिले दैनिक ५० वटासम्म मात्रै उडान सञ्चालन गर्न सकिने छ । सामान्य अवस्थामा आन्तरिकतर्फ जहाजको आगमन र प्रस्थान दुवै गरी दैनिक ३  सयभन्दा बढी उडान हुने गरेको थियो ।

प्रतिक्रिया